s

स्वदेशमै राम्रो ज्यालाको अवसर, विदेश जाने क्रम रोकिएन

सीता शर्मा 

देशका युवामा वैदेशिक रोजगारीमा जाने  क्रमको तीव्रतासँगै आन्तरिक  निर्माण कार्यका लागि मजदुरको चरम अभाव बढ्दैगएको  छ । भूकम्पछि नेपालमै निर्माणको काम प्रशस्तै भइरहेको अवस्थामा पनि दैनिकजसो ठूलो सङ्ख्यामा ऊर्जाशील युवा विदेशिने गरेकाले निर्माण क्षेत्रमा मजदुरको अभाव भएको हो ।  

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनले अहिले देशमा दक्ष, अर्धदक्ष र अदक्ष सबै खालका मजदुरको चरम अभाव भएकोे बताउनुभयो । उहाँका अनुसार हाल नेपालमा निर्माण क्षेत्रमा मात्रै १२ लाखको हारहारीमा दक्ष, अर्धदक्ष र अदक्ष मजदुरले प्रत्यक्ष रोजगारी पाएका छन् । जसमा झण्डै ४० प्रतिशत भारतीय मजदूर रहेका छन् । अध्यक्ष गौचनले नेपाली मजदूर वैदेशिक रोजगारका क्रममा विदेशिएपछि भारतबाट कामदार ल्याएर काम लगाउनुपर्ने बाध्यता रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, नेपालमा पनि मजदुरको कमाइ नराम्रो छैन, यहाँ पाइने तलबभन्दा कममा नेपाली श्रमिक विदेश जान्छन् तर हाम्रो समस्या के हो भने विदेशमा सम्झौताअनुसार दुई-तीन वर्षसम्म काम पाउँछन् भने यहाँको काम मौसमी जस्तो हुन्छ त्यसैले पनि स्थायित्वका लागि विदेशिन्छन् ।

चालू आर्थिक वर्षका लागि सरकारले निर्माण क्षेत्रमा मात्र चार खर्बभन्दा बढी बजेट छुट्याएको छ तर नेपाली मजदुर नभएकाले विदेशी मजदुरकै भर पर्नुपर्ने अवस्था सिर्जना भएको अध्यक्ष गौचनले गुनासो गर्नुभयो । नेपाल सरकारले कामदारका लागि ‘कामको ग्यारेन्टी’ गर्नुपर्ने र अदक्ष कामदारका लागि तालिमको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।   

यस्ता विषयमा ध्यान दिएर नेपालमै कामदारलाई प्रोत्साहनमूलक कार्यक्रम चलाएमा आन्तरिक मजदुरको अभाव नहुने अध्यक्ष गौचनको भनाइ छ । भूकम्पपछिको पुनर्निर्माणका कारण अहिलेको समयमा कामदारको अभाव जटिल बन्दैगएको  भन्दै गौचनले भन्नुभयो, अभावकै कारण विदेशी तथा स्वदेशी कामदारलाई सरकारले तोकभन्दा धेरै पारिश्रमिक दिएर खटाउनुपर्ने बाध्यता छ ।  

कामदारका लागि ग्रामीण र सहरी क्षेत्रमा छुट्टाछुट्टै ज्यालादर कार्यान्वयन हुने गरेको छ । महासङ्घका अनुसार हाल निर्माण क्षेत्रमा काम गर्नेले दैनिक ६०० देखि एक हजार २०० रुपियाँसम्म ज्याला पाउँछन। अदक्षले ६००, अर्धदक्षले ८००-९०० र दक्षले एक हजारदेखि एक हजार २०० रुपियाँसम्म दैनिक ज्याला पाउँछन् ।  

यता सरकारले भने दक्ष कामदारका लागि दैनिक ६०० र अदक्ष कामदारका लागि दैनिक ४०० रुपियाँ तोकिदिएको छ तर निर्माण व्यवसायीले भने सरकारले तोकेको त्यो पारिश्रमिकमा काम लगाउन नसकिने बताउँछन् । यी कामदारको ज्याला बर्सेनि बढ्दैगएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ । सो तथ्याङ्कअनुसार निर्माण मजदुर, कृषि मजदुर र औद्योगिक मजदुरको ज्यालादर सूचकाङ्क वार्षिक क्रमशः १३.८, १३.५ र १२.२ प्रतिशतले वृद्धि भएको छ ।  

निर्माण व्यवसायी बद्रीकुमार क्षेत्रीले नेपालमै निर्माण क्षेत्रमा कामदारका लागि राम्रा अवसर पनि रहेको बताउनुभयो ।  युवा विदेशिएपछि नेपालमा अदक्ष कामदारको अभाव त छँदैछ, अझ विभिन्न ठूला उपकरण चलाउने दक्ष कामदारको त खडेरी नै परेको छ, सीप जानेका विदेशिएका छन् र यहाँ निकै कम मात्रै दक्ष कामदार कार्यरत  छन्, निर्माण व्यवसायी क्षेत्रीले भन्नुभयो । नेपालमा काम नपाउने, काम पाए पनि पारिश्रमिक थोरै हुने, काम र पारिश्रमिक राम्रै भइहाले पनि सधैँ नपाइने जस्ता विविध कारणले आफूहरू विदेशिनु परेको वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेर हालै फर्किनुभएका रामेश्वर भण्डारीले गुनासो गर्नुभयो ।  

सरकारले अदक्षलाई तालिम दिने र कामको ग्यारेन्टी हुने गरी वातावरण बनाएमा आफूहरूलाई विदेश गएर पसिना बगाउने रहर नभएको पनि उहाँको भनाइ छ ।   त्यसो त स्वदेशमै निर्माण क्षेत्रमा कामदारको अभाव खड्किरहँदा वैदेशिक रोजगारमा जानेको सङ्ख्या पनि क्रमशः घटेको देखिन्छ । 

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७१-७२ मा पाँच लाख १२ हजार ८८७ जना कामका लागि विदेशिएका थिए ।  त्यस्तै आव २०७२-७३ मा केही घटेर चार लाख १८ हजार ७१३ जना बाहिरिएका थिए ।  यो वर्षको अन्तिम ११ महिनासम्म झण्डै तीन लाख विदेशिएका छन् । विभागको पछिल्लो तथ्याङ्क हेर्दा दैनिक करिब एक हजार जनाले अन्तिम श्रम स्वीकृति लिने गरेको देखिन्छ ।  

Published on: 18 July 2017 | Gorkhapatra

Back to list

;