s

स्वदेशी कामदार अभाव

वीरेन्द्र केसी

जिल्लाबाट कामको खोजीमा विदेसिने युवाको लर्काे छ । यहाँ निर्माणाधीन साना तथा ठूला आयोजनाले भने कामदारको अभावमा समयमा काम सम्पन्न गर्न सकेका छैनन् । सरकारी भवन, स्कुल, मोटरबाटो, खानेपानी योजनासहित विकास निर्माणको क्षेत्रका काम समयमा सम्पन्न भएका छैनन् । निजी फर्म तथा संघसंस्थाले कामदार नपाउँदा व्यावसाय फस्टाएको छैन । ‘युवाको वैदेशिक रोजगारी मोहका कारण कामदार भारतबाट ल्याउनुपरेको छ,’ निर्माण व्यवसायी संघका अध्यक्ष ऋषिराम अधिकारीले भने, ‘चाहिएजति कामदार पाउन मुस्किल छ । समयमा योजनाको ठेक्का पूरा गर्न धौधौ परेको छ ।’ आफ्नै गाउँमा विकास योजनाका काम हुँदै छन् । सम्झौताअनुसार काम सम्पन्न गर्न कामदार चाहिएका छन् । स्थानीय युवाले यहाँ काम गर्न नरुचाएको उनले बताए । निर्माणाधीन आयोजनाका लागि आवश्यकभन्दा आधा मात्र कामदार जेनतेन व्यवस्थापन गर्न सकेको अधिकारीको भनाइ छ । धेरैजसो भारतीय अनि केही रोल्पा, रुकुम र सल्यानका छन् । ‘कामदार अभावकै कारण समयमा काम सम्पन्न गर्न सकस छ,’ उनले भने । निर्मााण संघमा ६८ कम्पनी आबद्ध छन् । सबैजसोले काम पाएका छन् । केही जिल्ला बाहिरका कन्ट्रक्सनले पनि काम गर्दै छन् ।

भवन निर्माण र सडक पिचको काम गर्ने दक्ष मिस्त्री भारतीय छन् । ‘स्थानीय युवा भारत वा खाडी मुलुकमा जान तयार छन् तर यहाँ काम गर्न मान्दैनन्,’ संघका उपाध्यक्ष कविराम खनालले भने, ‘भारतीय र जिल्लाबाहिरका कामदार बिदामा गएपछि समयमा नआउने गर्दा समयमा काम सम्पन्न गर्न समस्या भएको छ ।’ सम्झौताको समयभित्र आयोजना सम्पन्न नहुँदा म्याद थप्नुपर्ने बाध्यता रहेको उनले बताए । हिमाल, पहाड र तराई एकैदिन घुम्न सकिने सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकको काम सात कम्पनीले ठेक्कामा गरिरहेका छन् । सडकमा ग्राभेल, नाली तथा पिच गर्ने काम भइरहेको छ । कामदार अभावले समयमा काम सकिँदैन । पोखरा–अर्घाखाँची–सुर्खेत सडकमा पनि द्रुत गतिमा काम भएको छैन ।
 
स्वदेशमा श्रमको सम्मान नहुनु, कम ज्याला र निरन्तर काम नपाइनाले युवा बिदेसिन रुचाउँछन् । पछिल्लो तथ्यांकअनुसार खाडी मुलुकमा ३० देखि ३५ लाख नेपालीले कठोर श्रम गरिरहेका छन् । ‘स्वदेशमा श्रमिकलाई सम्मान गर्ने परिवेश छैन,’ कतारबाट फर्किएका सन्धिखर्कका श्याम थापाले भने, ‘निरन्तर काम पाइँदैन अनि कामको मूल्यांकन पनि छैन ।’ युवालाई यहीँ काममा लगाउन सरकारले रोजगारी नीति ल्याउनुपर्ने उनले बताए । यूएन्डआर शर्मा कन्ट्रक्सन प्रालिका सञ्चालक श्रीहरि गौतमले रूपन्देही, अर्घाखाँची र कपिलवस्तुमा सडक निर्माण, सिँचाइ र तटबन्धको ठेक्का लिएका छन् । ‘सम्झौताअनुसार काम सक्न धेरै गाह्रो छ, आवश्यकमध्ये आधा कामदार पाइन्छन्,’ उनले भने, ‘हाल ३५ मध्ये १५ जना भारतीय मिस्त्री छन् । आफ्नै ठाउँमा काम गर्न लाज मान्नेहरू भारत वा अन्य मुलुकमा गएर जुनसुकै काम गर्न तयार हुन्छन् ।’
 
Published on: 30 January 2018 | Kantipur

Back to list

;