s

स्वदेश फर्कन ज्यानको बाजी

मनोज बडु 

दार्चुला — भारतबाट फर्किंदै गरेका नेपाली लकडाउनका कारण सीमा नाका बन्द भएपछि ज्यान जोखिममा राखेर महाकाली पार गर्न थालेका छन् । सोमबारदेखि शुक्रबारसम्म पौडेर र ट्युबको सहारामा ७० जना महाकाली तरेर स्वदेश प्रवेश गरिसकेका छन् । 

रोजगारी खोज्दै भारतका विभिन्न ठाउँमा ज्याला मजदुरी गर्दै आइरहेका सयौं नेपाली सीमापारि धार्चुला आसपासमा बिचल्लीमा छन्। कोभिड–१९ को सम्भावित संक्रमणका कारण जिल्लाको प्रमुख नाका सदरमुकामको झोलुंगे पुल भएर प्रवेश निषेध गरिएको छ। जसका कारण अलपत्र परेकामध्ये कही महाकालीको भेलमा पौडेर स्वदेश फर्किरहेका हुन्। नदीमा पौडिएर घर आउनु बाध्यता भएको उनीहरूको भनाइ छ। 

ब्यास गाउँपालिका ३ का भूपेन्द्रसिंह धामीले भारतमा भन्दा आफ्नै देशको क्वारेन्टाइनमा बस्न महाकाली तरेर आएको बताए। ‘भारतमा नेपालीलाई शिविर भेडाको बथानलाई जस्तै एकै ठाउँमा राखिएको छ। एक पटक खाना पाइन्छ। धेरै चाहिनेको पेट भरिँदैन,’ उनले भने, ‘भारतमा दुःख काट्नुभन्दा स्वदेशमै गएर १४ दिन क्वारेन्टाइनमा बस्नु राम्रो ठानेर महाकाली तरेर आएँ।’ 

केहीले भने खर्च सकिएपछि जोखिम मोल्नुपरेको बताए। जिल्ला प्रहरी कार्यालयका अनुसार लकडाउनपछि १७ जना महाकालीमा पौडेर, १६ जना ट्युबबाट र ३७ जना साँघुरो महाकालीमा हाम फालेर स्वदेश आएका छन्। यी सबैलाई नियन्त्रणमा लिई सम्बन्धित जिल्लाका स्थानीय तहमा पठाइएको छ। जोखिम मोलेर महाकाली तरेर स्वदेश भित्रिनेहरूमा दार्चुला, बैतडी, बझाङ र डडेल्धुरा जिल्लाका छन्। 

भारतको पिथौरागढ प्रशासनले जवाहरसिंह स्टेडियम, बलुवाकोट महाविद्यालय, जीआईसी जौलजीवी र कान्जी हाउसमा नेपालीलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ।

भारतको धार्चुला र जौलजिवी क्षेत्रमा करिब एक हजार नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ। त्यहाँ दार्चुला, बैतडी, बझाङ, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, जाजरकोट, बाँके र बर्दिया जिल्लाका मानिस छन्। 

शिविरबाट भाग्दै नेपालीले सीमा पार गरिरहेका छन्। उनीहरु समुहमा नभई अलगअलग भएर पौडिँदै नेपाल आउने गरेका छन्। ‘पौडिन सक्नेहरु महाकाली तरिरहेका छन्। नसक्नेहरू भारतका क्वारेन्टाइनमा कोचिँदै रात कटाइरहेका छन्,’ बलुवाकोटको जेआईसी कलेजको क्वारेन्टाइनमा रहेका बैतडी पुर्चौडीका उत्तम बोहराले भने। दिनहुँजसो महाकाली तरेर मासिन दार्चुला गए पनि विभिन्न ठाउँबाट मानिस शिविरमा थपिँदै गएको उनले बताए। 

सबै शिविरका हल, कोठा र ग्यालरीमा ठेलमठेल हुने गरी सुताउने गरिएको छ। 

यसले संक्रमणको जोखिम उच्च रहेको बलुवाकोट शिविरमै रहेका पुर्चौडीका देवबहादुर ऐरले बताए। ‘कोरोना भाइरसको संक्रमण फैलिन नदिन सामाजिक दूरी राख्नुपर्छ तर हामीलाई भेडाजस्तै कोचेर राखिएको छ,’ उनले भने, ‘समयमा खान पाइँदैन, खाजा पाइँदैन। चिसो भुइँमै सत्नुपर्छ।’ लुकीछुपी बजार जाँदासमेत कुटाइ खाइने गरेको उनले बताए।

Published on: 3 April 2020 | Kantipur

Link

Back to list

;