s

स्वदेश फर्किनै सकस

विष्णु घिमिरे

 

साउदी अरेबिया : साउदी अरेबियामा कोभिड–१९ संक्रमण दैनिक रूपमा बढ्दो छ। कोरोना प्रभावसँगै अलपत्र परेर चार्टर उडानबाट स्वदेश फिर्ता हुने नेपालीको संख्या धेरै छ। हालसम्म तीन हजार तीन सय ६८ जना चार्टर उडानबाट स्वदेश फिर्ता भएका छन्।

रियादस्थित नेपाली दूतावास र जेद्दास्थित वाणिज्य दूतावासले स्वदेश फर्किने १० हजार १ सय ८० जनाको नामावली सार्वजनिक गरेको छ। यसैगरी अनलाइन तथा टेलिफोन सम्पर्क गरी २८ हजारभन्दा बढी नेपालीले फारम भरेका छन्। कोरोना संक्रमणबाट क्षति पुगेपछिको असरलाई मध्यनजर गर्दै साउदी सरकारले पूर्णरूपमा लकडाउन हटाए पनि संक्रमित हुनेको संख्या दैनिक ३५ सयभन्दा बढी छ। हालसम्म २ लाख २३ हजार ३ सय २७ संक्रमित छन् भने १ लाख ६१ हजार ९६ जना निको भएका छन्। २१ सयले ज्यान गुमाएका छन्।

साउदी सरकारले म्याद सकिएका भिसामा तीन महिनाको म्याद थपेको छ। यसले बिदामा बसेका कामदारलाई राहत पुगेको छ। साउदीमा कार्यरत नेपालीलाई समस्या बढ्दै गएपछि सहयोगी हात पनि बढ्दै छन्। सीटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा २५ जना नेपालीलाई एक महिनाका लागि खाद्यान्न सहयोग गरेको छ। यसैगरी रोजगारीकैे क्रममा दुवै आँखा नदेख्ने समस्यामा परेकी रोल्पाकी सीता परियारलाई उपचारका लागि २० हजार नेपाली रुपैयाँ सहयोग जुटेको छ। टेलिमनी साउदी अरेबियाका रेमिट्यान्स मेनेजर जितेन्द्र थपलियाको सहकार्यमा सहयोग उनलाई गरिएको हो। साउदीमा रहेका नेपालीलाई आपत्विपतमा सहयोग गर्ने, एकीकृत गर्ने, आफ्नो जिल्लामा आवश्यक सहयोग गर्ने उद्देश्यले गैरराजनीतिक संस्था बनाउन मदन ओडारीको संयोजकत्वमा ‘झापाली समाज साउदी अरेबिया’ नामक संस्थासमेत गठन भएको छ।

कोरोनाको मात्र नभई अन्य कारणले पनि साउदीका नेपालीलाई समस्या बढ्दै गएको छ। स–साना कम्पनी बन्द भएर रोजगार गुम्ने खतरा छ भने कम्पनीका सेवासुविधाबाट समेत नेपाली बञ्चित हुन थालेका छन्। समस्यामा परेका नेपालीको उद्धार हुन सकेको छैन। कानुनी रूपमा कार्यरत करिब तीन लाख १५ हजार नेपालीलाई सहयोग गर्न साउदीस्थित नेपाली दूतावास र वाणिज्य दूतावासका ३० जना कर्मचारी जुटेका छन्।

स्वदेश फर्किने तयारीमा रहे पनि हवाई टिकट साबिकभन्दा महँगो हुनु, कोरोना परीक्षण समस्या, उडान समय व्यवस्थापनजस्ता समस्याले नेपाली निराश छन्। आइतबारपछि चार्टर उडान बन्द हुने भएपछि यहाँ रहेका नेपालीले थप समस्या व्यहोर्नु पर्ने चर्चा सुरु भएको छ।

Published on: 12 July 2020 | Annapurna Post

Link

Back to list

;