s

सुटुक्क अमेरिका उडे ग्रिनकार्डधारी सचिव

सुजित महत
 
अमेरिकाको ग्रिनकार्ड (स्थायी बसोबास प्रमाणपत्र) धारी भनिएका राजस्व सचिव नवराज भण्डारी शुक्रबार सुटुक्क अमेरिका उडे। 
 
उड्ने दिनसम्म पनि उनले अर्थ मन्त्रालयमा कसैलाई जागिर छाड्ने सुइँको दिएका थिएनन्। विधेयक समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनको मस्यौदामा आइतबार भएको छलफलमा उनले मन्त्रालयको प्रतिनिधित्व गर्नैपर्ने थियो र उनले आफ्नो उपस्थिति 'कन्फर्म' पनि गरेका थिए।
 
आइतबारैको राजस्व समीक्षा बैठकमा पनि उनले 'हुन्छु' भनेका थिए। निर्धारित कार्यक्रममा अनुपस्थित भएपछि उनको सोधीखोजी सुरु भयो। आइप्याड, ल्यापटपलगायतका जिन्सी सामान स्टोरमा बुझाएको थाहा पाएपछि मन्त्रालयमा उनी अमेरिका हिँडेको लख काटियो। 
 
मुख्य सचिव सोमलाल सुवेदीले उनले राजीनामा गरेको पुष्टि गरिदिएपछि सहकर्मीको अनुमान सही ठहरियो।राजस्व समूहबाट सरकारी सेवा प्रवेश गरेका भण्डारीले आन्तरिक राजस्व विभागको उपमहानिर्देशक र भन्सार विभागको महानिर्देशकको जिम्मेवारी समालिसकेका थिए।
 
पत्नीलगायत परिवारका बाँकी सदस्य अमेरिका बसाइँ सरेपछि उनी अमेरिका आतेजाते गर्न थालेका थिए। उनले पनि ग्रिनकार्ड लिएको हल्ला फैलिएको थियो। भन्सार विभागको महानिर्देशकबाट अध्ययन बिदामा दुई वर्ष परिवारस“ग बिताएका उनी सचिव हुने बेला भएपछि फर्केका थिए।
 
अर्थमन्त्री रामशरण महतसँग निकटताका कारण उनले अर्थमा वित्तीय व्यवस्थापन महाशाखाको जिम्मेवारी पाएका थिए। अर्थमन्त्रीकै बलमा पुसमा उनी सचिवमा बढुवा हुन पाएका हुन्। 
 
सचिव बढुवा हुने बेला सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायतलाई ग्रिनकार्ड लिएको छैन भन्ने विश्वास दिलाएका कारण पनि उनी सुटुक्क हिँडेको अनुमान गरिएको छ।
 
जागिरमा रोक लगाउने कानुन पारित नभए पनि त्यतिबेला मन्त्री पण्डित ग्रिनकार्ड र पीआरधारीलाई बढुवा र महत्‍वपूर्ण जिम्मेवारीमा पुग्न नदिन लागिपरेका थिए। पुसमा सचिव भएका भण्डारीले ग्रिनकार्ड परित्याग गरेको भए पूरा अवधि (पाँच वर्ष) सचिव खान पाउँथे।
 
‘के के पोथापोथी (कागजपत्र) बोकेर आएका उनले टाउकोमा हात राखेर ग्रिनकार्ड लिएको छैन भनेपछि बढुवामा बाधक बन्दिनँ भनेको थिएँ,' मन्त्री पण्डितले आइतबार अन्नपूर्णसँग भने, 'यति उच्च अधिकृतले यस्तो झूटो कसम खान्छन् भनेर शंका गरिनँ।' तैपनि यस्तो झूट बोल्नेहरू पुच्छर लुकाएर भाग्न बाध्य हुनुले आफ्नो अभियान सफल भएको पुष्टि भएको उनले बताए।
'के के कागजपत्र बोकेर आएका उनले टाउकोमा हात राखेर ग्रिनकार्ड लिएको छैन भनेपछि बढुवामा बाधक बन्दिनँ भनेको थिएँ' -लालबाबु पण्डित,मन्त्री,सामान्य प्रशासन गरिबी निवारण तथा सहकारी सचिव श्रीधर गौतमको राजीनामालाई सुरुमा मुख्य सचिव नबनाएको असन्तुष्टिका रूपमा एकथरीले अनुमान लगाएका थिए। सोमलाल सुवेदीभन्दा अगाडि नै सचिव भएका उनी पनि मुख्य सचिवको दौडमा रहेको ठानिएको थियो। 
 
प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतका अनुसार जागिर नौ महिना बाँकी छँदै उनले राजीनामा गर्नुको कारण असन्तुष्टि नभई अमेरिकाको ग्रिनकार्ड हुनु हो। ‘ग्रिनकार्डधारीका रूपमा उनी एक्सपोज भइसकेका थिए,' स्रोतले भन्यो, ‘तैपनि नौ महिनामा अवकाश पाएपछि मुख्य सचिव खान पाउँला भनेर एकथरी उनलाई मुख्य सचिव बनाउन लागिपरे।'
 
ग्रिनकार्डधारीका रूपमा चर्चामा रहे पनि पुसमा न्यायसेवाबाट सचिव बन्न सफल सूचना आयोगका सचिव लक्ष्मण मैनालीले ग्रिनकार्ड त्यागेको सूचना सामान्य प्रशासन मन्त्रालयमा दिएका छन्। केदारबहादुर अधिकारीको वरिष्ठता, शंकर कोइरालाको स्वच्छ छवि र कुशल कार्यसम्पादन लत्याएर सचिव बढुवा गरिएको थियो।
 
विदेशमा स्थायी बसोबास गर्ने अनुमति ग्रिनकार्ड र पीआरधारी कर्मचारीमा कडिकडाउ गर्ने निजामती सेवा ऐनको संशोधन पारित भएपछि मन्त्री पण्डितले निर्धारित समयमा राजीनामा वा ग्रिनकार्ड वा पीआर नत्याग्नेलाई एअरपोर्टबाट हत्कडी लगाएर ल्याउने घोषणा गरेपछि राजीनामा दिने क्रम बढेको छ। 
 
सामान्य प्रशासन सचिव राजन खनालका अनुसार कार्यरत अड्डामै राजीनामा दिनुपर्ने भएकाले कतिले दिए भन्ने यकिन भइसकेको छैन। राजीनामा वा ग्रिनकार्ड र पीआर परित्याग गर्ने ६० दिनको समय गुज्रिएपछि एकमुष्ठ विवरण लिइने उनले जनाए । ‘निर्धारित समयमा दुवै कुरा नगरी जागिर खाए अनुसन्धान गरी कारबाही हुन्छ,' उनले भने।
 
व्यक्तिगत काममा भारत जानु छ भनी हिँडेका भैरहवा भन्सारका प्रमुख लावण्य ढकाल पनि क्यानडा पुगेको अर्थ मन्त्रालयमा चर्चा छ। विभागमा निर्देशक छँदा लामो समय क्यानडा र अमेरिकामा बिताएर एक वर्षअघि फर्केका उनको परिवार उतै छ। अर्थमन्त्री महतले उनलाई भैरहवा भन्सार प्रमुख बनाएका हुन्।
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालका मुख्य भन्सार अधिकृत योगेन्द्र ओझाले पनि राजीनामा दिइसकेका छन्। अर्थका उपसचिव जीवन बाँस्कोटाले अमेरिकाबाटै राजीनामा पठाएका छन्। तातोपानी भन्सारका अधिकृत केदार कोइराला र भैरहवा भन्सारका अधिकृत शेरबहादुर क्षेत्री, राजस्व अनुसन्धान विभागको मध्यमाञ्चल एकाइ पथलैयाका नायब सुब्बा दीपबहादुर अधिकारीले राजीनामा गरिसकेका छन्।
 
'ग्रिनकार्ड र पीआर लिएर परिवारलाई उतै बसोबास गराए पनि यता जागिर खाने, जसरी पनि कमाइ हुने ठाउँमा पुग्ने र घूस खाएको पैसा हुन्डी गरेर विदेश पुर्‍याउने खतरानाक प्रवृत्ति पो देखियो,' प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने। अर्थमा ग्रिनकार्ड र पीआरधारीका रूपमा थप केहीको नाम लिइन्छ। लोकसेवाकै एक सदस्य पनि ग्रिनकार्डधारी भएको अनुमान त्यहाँका कर्मचारीले गरेका छन्।
 
Published on: 10 August 2015 | Annapurna Post
 

Back to list

;