s

सूर्य गार्मेन्ट सधैंका लागि बन्द

मजदुर आन्दोलनका कारण तीन महिनादेखि अवरुद्ध सूर्य नेपालको गार्मेन्ट उद्योगको उत्पादन मंगलबारदेखि सधैंका लागि बन्द भएको छ ।
मजदुरको सहमतिपछि मोरङको टंकीसिनबारीस्थित यो उद्योग औपचारिक रूपमा बन्द भएको हो । सहमतिअनुसार करिब ४ सय ५० मजदुरले एकमुष्ट २९ हजार ८ सय रुपैयाँका दरले बुझेका छन् । करिब सात सय मजदुर/कर्मचारी रहेको उद्योगले बाँकीलाई शुक्रबारसम्म रकम वितरण गर्ने जनाएको छ ।

उद्योग सधैंका लागि बन्द गर्ने सहमति भएपछि सबै मजदुरलाई तीन महिनाको बढेको तलब ४ हजार ८ सय र एकमुष्ट थप २५ हजार रुपैयाँ वितरण गरिएको हो । उद्योगका व्यवस्थापक अवधेशकुमार झाका अनुसार दुई पक्षबीच गार्मेन्ट उद्योग भएको स्थानमा त्यस्तै अर्को स्थापना गरिए हालका मजदुरलाई प्राथमिकतामा रोजगारी दिने सहमति भएको छ । त्यस्तै कामदारको सीपसँग मिल्दोजुल्दो उद्योग स्थापना भए पुरानालाई काम दिने र क्षतिपूर्तिबापत एकमुष्ट रकम उपलब्ध गराउने सहमति भएको थियो ।

यो उद्योगका मजदुर युनियनले पारिश्रमिक वृद्धिलगायत माग राखेर चैतमा आन्दोलन गरेको थियो । व्यवस्थापनले 'हाल खाइपाई आएकै पारिश्रमिक पर्याप्त रहेको' जनाउँदै वृद्धि गर्न आनाकानी गरेपछि मजदुर आक्रोशित भएका थिए । उनीहरूले व्यवस्थामाथि दुव्र्यवहार गर्नुका साथै कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए ।

कतिपय मजदुरले व्यवस्थापनका उच्च अधिकारीलाई ज्यानको धम्की समेत दिएका थिए । त्यसपछि चैतयता उद्योगको उत्पादनसमेत प्रभावित भएको थियो । व्यवस्थापनले उद्योग खोलाउन बारम्बार सौहार्दपूर्ण वातावरणको अपिल गरे पनि त्यस अनुसार काम हुन सकेको थिए । मजदुरको अडान कायम रहेपछि व्यवस्थापनले साउन ३० देखि उत्पादन पूर्ण रूपमा बन्द भएको जनाउँदै उद्योग बन्द गरेको थियो । त्यसपछि भने मजदुरले उद्योग खोल्न माग गर्दै विभिन्न आन्दोलनका कार्यक्रम गरेका थिए ।

७० प्रतिशत उत्पादन निर्यात गर्दै आएको बहुराष्ट्रिय कम्पनीले नेपालबाट हात झिक्दा विदेशी लगानीको वातावरण खलबलिने भएकाले पूर्वप्रधानमन्त्री झलनाथ खनालले व्यवस्थापनलाई खोल्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री बाबुराम भट्टराईले पनि मजदुर समस्या सुल्झाउँदै उद्योग खोल्न आह्वान गरेका थिए । तर व्यवस्थापनले उत्पादन बन्दका कारण अर्बौं रुपैयाँका माग रद्द भइसकेकाले पुनः सञ्चालन गर्न नसकिने अडान लिएको थियो । 'हामी कुनै पनि हालतमा उद्योग पुनः सञ्चालन गर्न सक्दैनौं,' उद्योगका कर्पोरेट डाइरेक्टर रवि केसीले भनेका थिए, 'बरु त्यो ठाउँमा अर्को उद्योग खोल्न सक्छौं ।'

गार्मेन्ट उद्योग सदाका लागि बन्द भएपछि मजदुर भने निरास भएका छन् । उनीहरूले त्यही ठाउँमा अर्को उद्योग खोलिए काम पाउने आशामा व्यवस्थापनको अन्तिम कदममा सहमति जनाएका हुन् ।

Published on: 21 September 2011 | Kantipur

Back to list

;