s

सुरक्षित उद्धारको पहल (सम्पादकीय)

अफगानिस्तानमा अहिले स्वदेशी तथा विदेशी नागरिकको सुरक्षा चुनौती थपिएको छ । तालिबानी समूहले कब्जा गरेपछि विदेशी कूटनीतिक तथा नागरिक अफगानिस्तान छोड्ने हतारमा छन् । द्वन्द्वग्रस्त अफगानिस्तानमा रहेका नेपाली उद्धारको पर्खाइमा छन् । सरकारले त्यहाँ रहेका नेपालीको उद्धारको प्रयास थालेको छ ।

२० वर्षदेखि अमेरिका समर्थित अफगानी सरकारविरुद्ध युद्ध गर्दै आएका तालिबान समूहले सत्ता कब्जा गरेका छन् । राष्ट्रपति असरफ घानीलगायत उच्च अधिकारीले राजधानी छोडेसँगै सत्ता तालिबान समूहका हातमा पुगेको छ । सरकारी सुरक्षाकर्मी तालिबानी समूहको घेरामा छन् । राजधानीसहित पूरै मुलुकमा तालिबान लडाकु तैनाथ छन् । अमेरिकी दूतावास काबुल अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा स्थानान्तरण भएको छ । काबुलमा रहेका छ हजार अमेरिकी सेना विमानस्थलको सुरक्षार्थ खटिएका छन् । सोमबार विमानस्थलमा अनियन्त्रित भीड नियन्त्रण गर्ने क्रममा अमेरिकी सेनाले गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सुरक्षा अवस्था कमजोर बनेपछि विदेशी कूटनीतिज्ञसहित विदेशी नागरिक आफ्नो मुलुक फर्काउन थालिएको छ ।

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले प्रयास थालिसकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल उद्धार थाल्ने निर्णयसमेत गरेको छ । सरकारले अफगानिस्तानमा विकसित पछिल्लो अवस्थाका कारण त्यहाँ रहेका नेपालीको अवस्था पत्ता लगाउन परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । भारतस्थित नेपाली दूताबासले अफगानिस्तानमा रहेका नेपालीका लागि सुरक्षा सतर्कता अपनाउन सूचना जारी गरेको छ । काबुलमा हालसम्म कुनै ठूलो भिडन्त नभएको र तालिबानी समूहले युद्ध सकिएको घोषणा गर्नुका साथै आमनागरिकको सुरक्षा गर्ने र काबुल बाहिर जान चाहनेलाई नरोक्ने जनाएको छ । विदेशी निकाय र मुलुकले विदेशी नागरिकलाई सुरक्षित रूपमा बाहिर जान दिन तालिबानी समूहसँग अपिलसमेत गरेका छन् । तर त्यहाँ रहेका विदेशी नागरिकको सुरक्षाबारे चिन्ता कम भएको छैन ।

अफगानिस्तानमा तालिबानको कब्जा भएसँगै त्यहाँ रहेका नेपालीको सुरक्षाको चासो र चिन्ता बढेको छ । तर त्यहाँ कति नेपाली छन् भन्ने यकिन जानकारी कुनै निकायसँग छैन । श्रम स्वीकृति लिएर औपचारिक रूपमा त्यहाँ गएर बसेका नेपाली एक हजार पाँच सयको हाराहारीमा रहेको अनुमान छ । अनौपचारिक रूपमा कार्यरत नेपालीसमेत हेर्दा १५ हजारसम्म हुनसक्ने अनुमान गरिएको छ । पहिलेदेखि नै सुरक्षा अवस्था राम्रो नरहेका कारण रोजगारीका लागि खुला नगरिएकोमा पछि अन्तर्राष्ट्रिय जगत्को आग्रहमा खुला गरिएको हो । अफगानिस्तानमा विदेशी सहायता परियोजना तथा विदेशी नियोगमा आकर्षक तलब सुविधाका कारण दक्ष कामदार पनि जाने गरेका छन् । धेरै सङ्ख्यामा सुरक्षा गार्ड, सेनाको सहयोगी, निर्माण, सफाइ कामदारका रूपमा नेपाली कामदार छन् । यीमध्ये केही निकायले आफ्नो संस्थामा कार्यरत नेपालीको उद्धार गर्ने काम थालेको छ भने ठूलो सङ्ख्यामा नेपाली अलपत्र परेका छन् । तिनलाई सरकारको सहयोग आवश्यक छ ।

रोजगारीका लागि अफगानिस्तान पुगेका नेपाली नागरिक त्यहाँको द्वन्द्वबाट असहज स्थितिमा रहनुपरेकाले तत्कालै स्वदेश ल्याउनुपर्ने आवश्यकता छ । औपचारिक वा अनौपचारिक जुन रूपमा पुगेका भए पनि पहिलो आवश्यकता अफगानिस्तानमा रहेका नेपालीको सुरक्षित उद्धार हो । अफगानिस्तानमा नेपाली दूतावास नरहेको अवस्थामा यो कार्य जटिल बनेको छ । पहिलो कुरा त्यहाँ रहने नेपालीको विवरण सङ्कलन हुनुपर्छ । भारत, पाकिस्तानलगायत विदेशी मुलुक र त्यहाँ कार्यरत निकायसँग समन्वय गरेर नेपालीको उद्धार गर्न सहज हुनसक्छ । ती मुलुकले आफ्ना नागरिक उद्धार गर्दा नेपालीलाई पनि उद्धार गर्न आग्रह गर्नुपर्छ । नेपाली नागरिकलाई रोजगारी दिने अन्तर्राष्ट्रिय निकाय, संस्थालाई नै उद्धार गर्न आग्रह गर्न सकिन्छ । यसका लागि शिघ्र उच्चस्तरीय कूटनीतिक प्रयासको आवश्यकता छ । यसका लागि परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, भारत र पाकिस्तानलगायतका मुलुकका रहेका नेपाली दूतावासले सक्रियता देखाउनुपर्छ ।

Published on: 17 August 2021 | Gorkhapatra

Link

Back to list

;