s

सुरक्षित बसौं, उद्धार गर्छाैं

इजरायलमा हमास समूहको आक्रमणबाट हाम्रा १० जना होनाहार युवा/विद्यार्थीले ज्यान गुमाउनुपरेकोमा सरकार अत्यन्त दुःखी छ। आक्रमण भएका संवेदनशील क्षेत्रबाट नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा सार्ने काम भएको छ।

परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली दूतावास, एनआरएनए र अप्ठ्यारोमा परेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्क गर्दै आवश्यक पहल गरिरहेको छ। अप्ठ्यारोमा परेका विद्यार्थी र युवाहरूले स्वदेश फर्काइदिन आग्रह गरेका छन्।

सरकारले त्यसका लागि आवश्यक पहल गरिरहेको छ। तर, त्यहाँ जान हाम्रा एयरलाइन्सले हवाई रुट पाएका छैनन्। सरकारले सोमबारदेखि नै उद्धारका लागि नेपाली एयरलाइन्स पठाउने पहल गरेको हो। हवाई रुटका लागि सरकारले कूटनीतिक रूपमा त्यहाँको सरकारसँग पहल र संवाद गरिरहेको छ। हवाई रुट पाउनेबित्तिकै उद्धारको काम सुरु हुन्छ। घटना भएकै दिनदेखि सरकार इजरायलमा रहनुभएका नेपालीहरूसँग सम्पर्कमा छ।

हमास समूहको आक्रमणपछि इजरायलको अवस्था संवेदनशील छ। मृत्यु हुने र घाइतेको संख्या बढिरहेका खबर आइरहेका छन्। यस्तो अवस्थालाई राजनीतीकरण नगरिदिनु हुन् स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा नेपाल सरकारका तर्फबाट विनम्रतापूर्वक आग्रह गर्छु। अर्कोतिर, इजरायलमा रहनुभएका सम्पूर्ण नेपालीलाई नआत्तिइकन बस्न आग्रह गर्छु। र, सरकार तपाईंहरूको साथमा छ भन्ने विश्वास पनि दिलाउन चाहन्छु। राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत र पार्टीगत रूपमा इजरायलको भ्रमण नगर्न पनि सबै नेपालीमा सरकारको आग्रह छ।

घटनापछि इजरायलस्थित नेपाली दूतावास चौबीसै घण्टा सक्रिय बनेको छ। मन्त्रालयले नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिनुका साथै निकायगत समन्वय पनि गरिरहेको छ। इजरायलमा रहेका नेपालीलाई सजगता अपनाउन र राजदूतावाससँग सम्पर्कमा रहन पनि आग्रह गर्छु।

Published on: 12 October 2023 | Annapurna Post

Link

Back to list

;