s

सुरक्षागार्डसहित अन्य क्षेत्रमा नेपाली लैजान सिसेल्स इच्छुक

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सिसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयमा आइतबार भएको भेटमा उनीहरुबीच नेपाल र सिसेल्सको द्विपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भएको छ।

वैदेशिक रोजगारका लागि नेपाली कामदारहरु लैजान गणतन्त्र सेसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिए।

नेपाली कामदारहरु सिसेल्समा वैदेशिक रोजगारका लागि पठाउन नेपाल सकारात्मक रहेको मन्त्री श्रेष्ठले बताए।

द्विपक्षीय श्रम समझदारी (एमओयू) का लागि तयारी अघि बढाइनेसमेत उनले बताए। 

 

सिसेल्स हेर्ने नेपाली राजदुतावास (प्रिटोरिया) दक्षिण अफ्रिकाको राय बमोजिम जेल सुरक्षा, प्रहरी सेवा र निजी क्षेत्रमा हुने रोजगारीलाई समेटेर समझदारी अघि बढाउनुपर्ने मन्त्री श्रेष्ठको भनाई छ।

नेपालबाट वार्षिक कति कामदार लैजाने, कस्तो खालको सीप तालिम आवश्यक पर्दछ, न्यूनतम योग्यता र भाषागत क्षमताका साथै न्यूनतम पारिश्रमिक लगायत सेवा सुविधाहरुबारे छलफल गरी एमओयू गर्न सकिने बताए।

कामदार छनोट, रोजगारी र स्वदेश फिर्ती लगायत विषयमा दुवै देशका उच्च पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरी टुंगो लगाउन उपयुक्त हुने उनको भनाई छ।

राजदूत पिल्लेले सिसेल्स सरकार सुरक्षागार्ड बाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदारहरु लैजान इच्छुक रहेको बताए।

 उनले सिसेल्स नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुनुसक्ने उल्लेख गरे।

 सिसेल्स जान श्रमिकले कुनै शुल्क तिर्नुनपर्ने उनले बताए।

राजदूत पिल्लेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई सिसेल्स भ्रमणको निम्तोसमेत दिएका छन्। नेपाल र सिसेल्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ३४ बर्ष भएको छ।

Published on: 27 December 2021 | Setopati

Link

Back to list

;