s

सुरक्षित र आकर्षित मलेसिया

गत वर्ष २०७५ जेठ २ गतेदेखि नेपाली श्रमिकाका लागि बन्द मलेसियाको रोजगारी खुला भएपछि नेपालीले श्रमिकबीच आशाका किरण देखिएका छन् । त्यसमाथि शून्य लागतमै त्यहाँको रोजगारीमा जान पाइने भएकाले मलेसियामा नेपाली श्रमिकको आकर्षण बढेको छ । नेपाल र मलेसिया सरकारबीच यसै हप्ता भएको समझदारी अनुसार शून्य लागतमा रोजगारीको ढोका खुलेको मात्र छैन नेपाली श्रमिकले थप सुविधा पाउने भएका छन्  । सहमतिअनुसार नेपाली श्रमिक जाने प्रक्रियादेखि त्यहाँ पुगेर काम नगर्दासम्म लाग्ने र्खच रोजगारदाताले व्यर्होने छन् । मलेसिया जाने नेपाली श्रमिकले नेपाल आउँदाजाँदा हुने दोहोरो हवाई खर्च रोजगारदाता कम्पनीले व्यहोर्नु पर्ने व्यवस्था र कार्यस्थलमा हुने दुर्घटना विमा, स्वास्थ्य विमा, लेवी तिर्न नपर्नेजस्ता व्यवस्थासहितको समझदारीले नेपाली श्रमिक लाभान्वित हुने भएका छन् ।

तत्कालका लागि यसअघि मलेसिया जाने श्रमिकका लागि स्वास्थ्य परीक्षण गर्दै आएका संस्थाबाट गराइने छ र आउँदो नोभेम्बरबाट भने नेपालीले नै छनोट गरेका स्वास्थ्य संस्थाबाट परीक्षण गराएर मात्रै पठाउने गरी सहमति भएकाले स्वास्थ्य परीक्षणको झन्झटबाट पनि नेपाली श्रमिकलाई राहत मिल्ने छ । सहमतिसँगै मलेसिया जाने श्रमिकका लागि कार्यविधिको तयारीसहित अन्य गृहकार्य भइरहेकाले सम्भवतः असोजको पहिलो हप्ताबाट शून्य लागतमा नेपाली मलेसिया पुग्नेछन् । मलेसिया जाँदा स्वास्थ्य परीक्षणलगायत अन्य प्रक्रियामा लाग्ने खर्च रोजगारदाता कम्पनीले तिर्ने, हरेक महिना ७ तारिखमा बैङ्कमार्फत तलब भुक्तानी गराइसक्नुपर्ने ,विमानस्थल पुगेको छ घण्टाभित्र कम्पनीले श्रमिकलाई गन्तव्यमा लैजानुपर्ने र महिला श्रमिकको हकमा थप संरक्षण, सुरक्षा र रेखदेख गर्नुपर्ने लगायतको दर्जनौं सुविधा प्राप्त हुनेगरी भएको समझदारीबाट नेपाली श्रमिकाले अधिकतम फाइदा लिन सक्ने अपेक्षा गर्न सकिन्छ ।

नेपाली युवालाई स्वदेशभित्रै रोजगारीका अवसर उपलब्ध गराएर उनीहरूको ताकत ग्रार्हस्थ उत्पादन बढाउन सदुपयोग गर्नसके देशको दीर्घकालीन विकासमा टेवा पुग्ने छ । अर्थतन्त्रमा वैदेशिक रोजगारी रोजा विकल्प होइन तथापि यो सत्य नबुझेर नेपालले आफ्ना युवालाई वैदेशिक रोजगारीमा आकर्षत गरेको होइन । यस समझदारीले एकातिर जहाँ गइन्छ त्यहाँ सुरक्षित र मर्यादित रोजगारी पाउनु पर्छ भन्ने नेपाली अडानको पुनःर्पुष्टि गरेको छ भने अर्कोतिर वैदेशिक रोजगारी विदेशी मुद्रा आर्जनको राम्रो विकल्प पनि त हो नै । वैदेशिक रोजगारीबाट भित्रिएको विप्रेषणले पनि नेपाली अर्थतन्त्रमा दिएको विशेष योगदान यहाँ बिर्सन सकिदैन । ठूलो सङ्ख्यामा नेपाली श्रमिक रहने मलेसियाको श्रम असुरक्षित हुँदै गएपछि नेपालले मर्यादित रोजगारीका लागि जुन प्रकारको अडान र पथप्रदर्शन गर्यो त्यसका सकारात्मक परिणाम अबका दिनमा देखिने छन् । यसैगरी, विश्वमा इमान्दार र कर्तव्यनिष्ठ भनेर चिनिने नेपाली श्रमिकलाई महत्वका साथ मलेसियाले आर्थिक तथा सामाजिक सुरक्षासहित रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेर असल भाइचारा देखाएको छ । नेपालीले श्रम बेचेर सम्पन्नता खोज्दै गर्दा विश्व अर्थतन्त्रमा उदियमान मलेसियाको समृद्धिमा नेपालीको योगदान पनि सुनौला अक्षरले लेखिने छ । साझेदारीपछि नेपाली श्रमिकाका लागि सुरक्षा र सम्मानजनक रोजगारी दिने मलेसियाको संस्कृतिमा नेपाली श्रमिकको अन्तरक्रिया थप बढ्नेछ । नेपालीले त्यहाँका नियम कानुन, सामाजिक मूल्य मान्यता र परम्परालाई सम्मान गर्दै असल श्रमिक चरित्रका साथ काम गर्न सक्दा आगामी पुस्ताका लागि पनि विश्व श्रम बजार सुरक्षित हुनसक्छ । मसेसियाको रबड घारीमा वीरताका साथ विश्वयुद्ध लडेका अग्रजपुस्ताको वीरतालाई निरन्तरता दिन नेपाली श्रमिकले विश्वभर दूतको काम गर्न सक्छन् । आज नेपाली श्रमिकले विश्वमा जुन इज्जत पाउँछन् त्यसका लागि अग्रजले दिएका विशिष्ट योगदानलाई हामीले उच्च सम्मान गर्दै आफ्ना आनीबानी प्रदर्शन गर्नुपर्छ ।

समझदारीपछि पनि केही कार्यविधि तथा प्रक्रियामा दुवै देशका प्राविधिक समिति र उच्च संयन्त्रले काम गर्नुपर्ने देखिएको छ । यस्तो आवश्यकता समझदारी पत्रमा उल्लेख गरिएको पनि छ । खासगरी स्वास्थ्य परीक्षणमा केही नेपाली कम्पनीले विश्वास गुमाएको गुनासो छ । अबका दिन स्वास्थ्य परीक्षण, सीप परीक्षणको ल्याकतजस्ता पक्षमा नेपालले दिने प्रमाणपत्रको आधिकारिकतामा कुनै खुनखोट नआउनेतर्फ प्रतिबद्ध हुनैपर्छ । यसैगरी श्रमिकहरूले त्यहाँका नियम कानुन तथा भाषामा आफूलाई जानकार बनाएर सहज श्रमको वातावरण बनाउन सक्नुपर्छ ।

Published on: 17 September 2019 | Gorkhapatra

Back to list

;