s

सुरक्षा नभए कामदार पठाउँदैनौं : व्यवसायी

वैदेशिक रोजगार व्यवसायीले सरकारले शान्तिसुरक्षाको प्रत्याभूति नगरे कामदार नपठाउने चेतावनी दिएका छन्  । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित घरमा विस्फोटको घटनापछि आइतबार भेला भएका व्यवसायीले शुक्रबारभित्र सरकारबाट शान्तिसुरक्षाको प्रत्याभूति हुनुपर्ने बताएका छन्  ।
 
व्यवसायीले अध्यक्ष गुरुङमाथिको आक्रमणलाई समग्र व्यवसायीमाथिको आत्रमण भनेका छन् । विस्फोटको विरोधमा उनीहरूले आइतबार आफ्ना कार्यालयको कामसमेत रोकेका थिए ।‘दोषीलाई कारबाही हुँदैन भने व्यवसाय बन्द गर्छौं,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्तानाले कान्तिपुरसँग भने, ‘सुरक्षित ढंगले व्यवसाय गर्ने वातावरण बनेन । अनेक धम्की र लान्छना लगाउँदै जाँदा व्यवसायी विचलित हुँदै जाने अवस्था छ ।’
 
भेलाले सरकारसँग छलफल गर्नका लागि संघका पूर्वअध्यक्ष दिलप्रसाद पोखरेलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा भान्ताना, महासचिव नरेश गेलाल, पूर्वअध्यक्ष विमल ढकाल, पूर्वसल्लाहकार चित्रगुप्ता साँवा र सरोज पोखरेल छन् । कार्यदलले आइतबारै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई भेटी दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने र शान्तिसुरक्षाको आभास हुने गरी काम गर्नुपर्ने बताएका थिए । मन्त्री विष्टले व्यवसायीलाई सरकारबाट सुरक्षाको प्रत्याभूति हुने भन्दै धैर्य गर्न अनुरोध गरेका छन् ।
 
‘शान्तिसुरक्षा दिलाउन र उचित क्षतिपूर्ति दिलाउन पहल गर्नेछु,’ विष्टको भनाइ उद्धृत गर्दै भान्तानाले भने, ‘दोषी पत्ता लगाउन सुरक्षा निकायबाट अनुसन्धान भइरहेको छ ।’ गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग भेटेपछि कामदार पठाउने/नपठाउने निर्णय गरिने भान्तानाले बताए । ‘सरकारको धारणा बुझेपछि आइतबार पुनः व्यवसायीको भेला बोलाउँछौं, सुरक्षा पाउनेमा आश्वस्त नभए हामी काम बन्द गर्छौं,’ उनले भने ।
 
नेक्रवित्रम चन्द नेतृत्वको नेकपा भ्रातृ संगठन युवा संगठन नेपालले विस्फोटको जिम्मा लिएको थियो । विस्फोटबाट करिब पौने दुई करोड रुपैयाँ बराबरको क्षति भएको गुरुङले दाबी गरेका छन् । यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) ले विस्फोटको घटनाको निन्दा गर्दै शान्तिसुरक्षा र अमनचयनको प्रत्याभूति दिलाउन सरकारसँग माग राखेको छ ।
 
महासंघले व्यक्तिगत सम्पत्तिलाई लक्षित गरी गराइएका यस्ता निन्दनीय कार्य सभ्य समाजका लागि सह्य हुन नसक्ने बताएको छ । ‘राजनीतिक स्थिरता कायम भई मुलुकभित्र आर्थिक विकासको वातावरण बनिरहेको अवस्थामा पुनः यस्ता घटना हुन थालेपछि निजी क्षेत्र चिन्तित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता घटनाले मुलुकलाई कता लैजान्छ भन्नेमा गम्भीर भएर सोच्न सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत गराउँछ,’ विज्ञप्तिमा भनिएको छ ।एनबीआईले नेपाल सरकारलाई शान्तिसुरक्षा दिलाउन, पीडितलाई उचित क्षतिपूर्ति दिलाउन र दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।
 
Published on: 11 March 2019 । Kantipur

Back to list

;