s

शून्य लागतमा कामदार लिन कतार सकारात्मक

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हलीबीच भेटवार्ता भएको छ । भेटघाटका क्रममा नेपाल र कतारबीचको श्रम सम्बन्ध, कतारमा नेपाली श्रमिकका लागि रोजगारीका अवसरलगायतका विषयमा विस्तृत छलफल भएको बताइएको छ ।

त्यस क्रममा कतारमा रहेका नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि, कामदारहरूको सामाजिक सुरक्षा, कामदारले पाउने सेवा–सुविधाको सुनिश्चितता तथा व्यवसायजन्य सुरक्षाको विषयमा समेत कुराकानी भएको थियो ।

भेटमा मन्त्री विष्टले कतारमा नेपाली कामदारहरू शून्य लागतमा पठाउने, दुवै सरकारको सरकारी संयन्त्रबाटै कामदारको छनौट र आपूर्तिको व्यवस्था मिलाउने, र नेपाली श्रमिकहरूलाई २४सै घन्टाको बीमा सुविधा उपलब्ध गराउनुुपर्ने कुरामा जोड दिएका थिए । त्यसका लागि नेपालका तर्फबाट एउटा प्राविधिक टोली कतार पठाउने भन्दै उक्त कार्यमा कतार सरकारको आवश्यक सहयोग रहने अपेक्षासमेत व्यक्त गरेका थिए ।

राजदूत अल–हलीले कामदारको शून्य लागतको विषयमा कतार सरकार सकारात्मक रहेको बताएको मन्त्रालयले जनाएको छ । सामाजिक सुरक्षाको विषय उपयुक्त रहेको भन्दै उनले कतारमा घरेलु कामदारको आपूर्तिलाई सहज गराउन सकिने सन्दर्भमा चासो व्यक्त  गरेका थिए ।

Published On: 17 September 2018 | Naya patrika

Back to list

;