s

सुनौली नाकाबाट पाँच सय नेपाल भित्रिए, अझै करिब दुई हजार नेपाली सीमानाकामा रोकिए

भारतमा लकडाउनमा केही खुकुलो भएसँगै रोजगारीका लागि गएका नेपाली स्वदेश आउने क्रम तीव्र रूपमा बढेको छ । 

यसैक्रममा बुधबार सुनौली नाकाबाट पाँच सय नेपालीलाई प्रवेश दिइएको छ । 

स्वदेश प्रवेश गर्ने नेपालीले भारतीय क्वारेन्टाइनमा २५ दिन पूरा गरेका छन् । 

स्वदेश भित्रिएकामध्ये सिद्धार्थ नगरपालिकाले स्थापना गरेका क्वारेन्टाइनमा दुई सय ७० र तिलोत्तमा नगरपालिकाका क्वारेन्टाइनमा दुई सय ३३ जनालाई राखिएको छ ।

बेलहिया नाकामा दैनिक सयौँ नेपाली आउने गरेका छन् । 

अझै करिब दुई हजार नेपाली सीमानाकामा रोकिएका छन् । 

स्थानीय तहहरूसँग समन्वय गरेर प्रवासी नेपालीलाई प्रवेश गराइने भएको छ ।

स्थानीय प्रशासनले प्रक्रिया पूरा गरेर बुधबार करिब एक हजार नेपालीलाई स्वदेश ल्याउने तयारी गरेको थियो । तर, क्वारेन्टाइन अभावमा पाँच सयलाई मात्र प्रवेश गराइएको हो । तीन दिनअघि रुपन्देहीका सबै स्थानीय तहका जनप्रतिनिधिसँग भएको छलफलमा स्थानीय तहले स्थापना गरेका क्वारेन्टाइनमा भारतबाट आएका प्रवासी नेपालीलाई ल्याएर राख्ने सहमति भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले सीमानाकाबाट नेपाली ल्याउने प्रक्रिया केही दिन ढिला हुने बताए । ‘सबै तयारी सकिएको थियो, अन्तिममा क्वारेन्टाइन अभाव भयो, थप क्वारेन्टाइन व्यवस्थापन गरेपछि दुई–तीन दिनभित्र ल्याइनेछ,’ उनले भने । 

रुपन्देहीमा बुधबारदेखि सुरक्षामा थप कडाइ गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेका गाउँपालिका र नगरपालिकामा सहज रूपमा आवतजावतमा रोक लगाइएको छ । अन्य दिन विभिन्न काममा हिँड्ने गरिए पनि बुधबार भने पूर्ण रूपमा कडाइ गरिएको थियो ।

दशगजामा रोकिएका ७० भन्दा बढी नेपाली नवलपरासी भित्रिए

नेपाल–भारत सीमा दशगजामा रोकिएकामध्ये ७० जनाभन्दा बढी नेपाली पश्चिम नवलपरासी प्रवेश गरेका छन् । सुस्ता गाउँपालिकाले उनीहरूलाई प्रवेश गराएको हो । बुधबार स्वदेश प्रवेश गरेका ७० भन्दा बढी नेपालीलाई सुस्ता गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ ।

देश छिर्ने आसमा सीमामा बस्दै आएका प्रवासीलाई नेपाली र भारतीय बस्तीका स्थानीयले खाना खुवाउँदै आएका थिए । उनीहरूको अवस्था नाजुक हुँदै गएपछि नेपाल भिœयाइएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । भारतमा छिटपुट रूपले रेल र सरकारी बस चल्न थालेपछि विभिन्न सहरमा रहेका नेपालीहरू घर फर्कन दशगजामा जम्मा भएका थिए । कोरोनाको सुरक्षा सतर्कताअन्तर्गत दुई देशको नाका सिल भएका कारण सयौँ नेपाली दशगजामा अड्किएका हुन् । उनीहरू सुस्ता, गुठी प्रसौनी, गेर्मी, भुजहवालगायत सीमावर्ती क्षेत्रमा बस्दै आएका थिए । 

नवलपुरमा पनि संक्रमणको जोखिम बढ्यो 

पूर्वी नवलपरासीमा भारतबाट २१ जना आएका छन् । बौदीकाली गाउँपालिकाका १५, कावासोती नगरपालिकाका दुई र देवचुली नगरपालिकाका एकजना छन् । त्यसैगरी तनहुँको घिरिङ गाउँपालिकाका तीनजना छन् ।

उनीहरू रुपन्देहीको नाकाबाट लुकेर नेपाल छिरेको बताइएको छ । पूर्वी नवलपरासी प्रवेश गरेका २१ जनालाई क्वारेन्टाइनमा राखिएको र दुई दिनपछि उनीहरूको स्वाब संकलन गरेर कोरोना जाँच गरिने नवलपुरका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए । भारतको बनारसबाट आएका उनीहरूसँगै नवलपुरमा कोरोना संक्रमणको जोखिम बढेको छ ।

Published on: 14 May 2020 | Nayapatrika

Link

Back to list

;