s

सुनौली सीमामा अलपत्र तनहुँवासीको उद्धार

भारतका विभिन्न ठाउँमा रोजगारीका लागि पुगेका तनहुँवासी सुनौली सीमामा अलपत्र परेपछि उद्धार थालिएको छ। कोभिड–१९ को जोखिमपछि जिल्ला फर्कन लागेका तनहुँवासी सुनौली सीमामा अलपत्र परेपछि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयको पहलमा उनीहरुको उद्धार शुरु गरिएको हो।

सुनौली सीमामा आइपुगेका देवघाट गाउँपालिकाका तुलबहादुर गुरुङले त्यहाँ रहेका तनहुँवासीको तथ्याङ्क उपलब्ध गराएपछि उनीहरुलाई उद्धारको पहल गरिएको सामाजिक अभियानकर्मी खड्क आलेमगरले जानकारी दिए। भारतीय प्रहरीले नेपालीलाई सीमासम्म ल्याएर छाडिदिएको गुरुङलाई उद्धृत गर्दै मगरले बताए। भारतीय पक्षले नेपालीलाई सीमा कटाएर अलपत्र पारेर छाडिदिएको त्यहाँ रहेका तनहुँवासीले भन्नुभएको छ, त्यहाँ रहेका तनहुँवासीको तथ्याङ्क सङ्कलन गरेर प्रशासन कार्यालयमार्फत उद्धार शुरु भइसकेको छ, उनले भने।

सीमामा अलपत्र परेका तनहुँवासीलाई उद्धार गर्नका लागि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेसँग समन्वय गरेको आलेले बताए। आलेका अनुसार त्यहाँ रहेकामध्ये २५ जनालाई शुक्रबार नै उद्धार गरेर जिल्ला फर्काइएको छ। उद्धार गरिएकामध्ये देवघाट गाउँपालिकाका दुई, ऋषिङ गाउँपालिकाका छ, भीमाद नगरपालिकाका १०, म्याग्दे गाउँपालिकाका तीन, घिरिङ गाउँपालिकाका तीन र व्यास नगरपालिकाका एक रहेका छन्।

साथै सोही ठाउँमा रहेका जिल्लाका विभिन्न ५० तनहुँवासीमध्ये ३० लाई उद्धार गर्नका लागि प्रशासन कार्यालयबाट पास उपलब्ध भइसकेको छ। बाँकी २० जनालाई पनि उद्धारका लागि पास बनाउने प्रक्रिया शुरु भएको छ। तीमध्ये घिरिङ गाउँपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, भीमाद नगरपालिका, देवघाट गाउँपालिकालगायतका ठाउँका छन्। उद्धार गरिएकाहरु भारतको विभिन्न शहरमा रोजगारीका लागि गएका हुन्। तनहुँका अन्य पनि भारतबाट फर्कन सक्ने भएकाले उनीहरुलाई राख्नका लागि स्थानीय तहले क्वारेन्टिन बनाएका छन्। उद्धार गरेर ल्याइएकालाई सम्बन्धित स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा राखिनेछ।  

जिल्लाका १० स्थानीय तहमा हालसम्म १९४ श्ययाको क्वारेन्टिन निर्माण गरिएको छ भने ५०० श्ययाको क्वारेन्टिन बनाउने तयारी स्थानीय तहले गरिसकेका छन्। त्यस्तै पाँच स्थानमा ४२ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ। भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकाहरुको पिसीआर परीक्षणलाई पनि तीव्रता दिइएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। हालसम्म ८२ को स्वाब परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ।

Published on: 24 May 2020 | Nagarik

Link

Back to list

;