s

सुखको खोजमा ‘न घर, न घाट’

रोजगारीका लागि औसतमा वर्सेनि ५ लाख नेपाली युवा बिदेसिने गरेका छन्। वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा कडाखाले रोग लागेर बिरामी भएका, कामको सिलसिलामा अंगभंग भएका र मृत्यु हुनेको संख्या बढ्दै गएको छ।

वैदेशिक रोजगारीको खोजीमा मलेसिया पुगेका सर्लाही लालबन्दीका कमलेशकुमार महतो सडक दुर्घटनामा परेर नेपाल फर्किए। परिवारका कान्छा छोरा उनी मातापिताको सुख खोज्दै मलेसिया पुगेका थिए। तर महिना नपुग्दै सडक दुर्घटनामा परेको समाचार उनले पितालाई पठाए। ‘पैसा कमाउन विदेश छिरेको छोरा अपांग भएर आएको छ,’ उनले बिलौना गर्दै भने, ‘एउटा हात छैन। हामी गरिब, हालत खराब छ।’

‘छोरा सडक दुर्घटनामा परेर नेपाल फर्कियो,’ कमलेशका पिताले थपे, ‘उसलाई अस्पताल लैजाँदा भएको जग्गाजमिन बेचेर करिब ३० लाख रूपैयाँ सकियो। अझै कति चाहिने हो थाहा छैन। बुढेसकालकमा बाबुआमाको सहारा भनेकै छोराछोरी हुन्। तर आज जवान छोराको सहारा हामी भएका छौं।’ कमलेशलाई वैदेशिक रोजगार बोर्डले ४ लाख ९० हजार रूपैयाँ दिएको थियो। त्यो रकम छोराको उपचारका निम्ति टालटुल गर्न पनि नपुगेको उनका बुवा बताउँछन्।

रोजगारीका लागि औसतमा वर्सेनि ५ लाख नेपाली युवा बिदेसिने गरेका छन्। वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा कडाखाले रोग लागेर बिरामी भएका, कामको सिलसिलामा अंगभंग भएका र मृत्यु हुनेको संख्या बढ्दै गएको छ।

त्यस्तै, जयकिशोरका जेठा छोरा पनि रोजगारीको खोजीमा साउदी पुगेका थिए। त्यहाँ पुगेलगत्तै ऊ पनि ढाड दुख्ने समस्याले ‘घर न घाटको’ भई बसेको जयकिशोर बताउँछन्। ‘यता कान्छो छोराको अवस्था नाजुक छ। साउदीमा जेठो छोराको पनि काम छैन,’ जयकिशोर भन्छन्, ‘भाग्य पनि कस्तो खोटो। जेठो छोरो साउदी पुगेको केही महिनामै ढाड दुख्ने समस्याले ‘घर आउँछु, घर आउँछु’ भन्दै साउदीबाट दिनदिनै फोन आउँछ। जेठो छोराले साउदीमा काम गर्न नसकेकाले कम्पनीबाटै निकालिदिएको छ। जिन्दगीभर जेठाले पनि काम गर्नै नसक्ने त्यस्तो खाले समस्या आको छ रे? अभागीलाई जहाँ गए पनि ठक्करै ठक्कर।’

पारिवारिक अवस्थालाई भरिपूर्ण बनाउन बिदेसिएका कसैका छोराछोरी, कसैका पति, भाइ तथा बहिनीहरूले विदेशमा अकाल मृत्यु भोग्नुपरेको छ भने कतिपय बिरामी र अंगभंग भई स्वदेश फर्किनुपरेको छ। जयकिशोरको परिवारलाई मात्र यस्तो आँधीहुरी आएको होइन, पश्चिम नवलपरासीका ताराबहादुर बराईको परिवार पनि यो समस्याबाट अछुतो छैन।

ताराबहादुरले १५ वर्ष कुबेतमा बिताए। अहिले उनी क्यान्सरका कारण स्वदेश फर्किएका छन्। कुबेतमा काम गर्दैगर्दा टाउकाको दाहिने भाग कन्चट दुख्ने समस्या आएलगत्तै चेकजाँचका लागि अस्पताल पुगेका बराईलाई क्यान्सर पुष्टि भयो। ‘जिन्दगीमा यस्तो मोड आउने रहेछ भन्ने थाहा थिएन। समयको खेल कतिबेला कसलाई के हुन्छ, कसैलाई थाहा हुँदैन,’ बराई आँखाभरी आँसु पार्दै भन्छन्, ‘विदेशमा कमाएको पैसाले उपचार गर्दैमा ठिक्क भयो। छोरोछोरी पत्नीलाई हेर्नुपर्ने बेलामा उल्टै पत्नीले मेरो स्याहार गरिरहेकी छिन्। क्यान्सरले मेरो देब्रे आँखा पनि गुम्यो। कस्तो रहेछ जिन्दगी?’ बराई अहिले ३७ वर्ष लागेका छन् भने उनका एक छोरा छन्। छोरा र पत्नीलाई सुखले राख्न नपाएकामा उनलाई ठूलो बिस्मात् छ। उनको क्यान्सर अहिले पाँचौं स्टेज पार गरिरहेको छ।

विदेशमा अंगभंग तथा बिरामी भई उक्त व्यक्तिको अवस्था हरेर बोर्डले कल्याणकारी कोषबाट आर्थिक सहायता प्रदान गर्ने गरेको छ। त्यस्तै क्यान्सरका कारण आँखा गुमाएका ताराबहादुर बराईलाई बोर्डको कल्याणकारी कोषबाट ७ लाख रूपैयाँ आर्थिक सहायता गरिएको छ।

पारिवारिक अवस्थालाई भरिपूर्ण बनाउन बिदेसिएका कसैका छोराछोरी, कसैका पति, भाइ तथा बहिनीहरूले विदेशमा अकाल मृत्यु भोग्नुपरेको छ भने कतिपय बिरामी र अंगभंग भई स्वदेश फर्किनुपरेको छ।

कमलेश, ताराबहादुर जस्तै अर्का अर्घाखाँचीका बाबुराम पाण्डेले पनि रोजगारीका लागि दुई दशक युएईमा बिताए। उनी युएईको एयरपोर्टमा फ्लाइटको क्याप्टेन सर्भिसको रूपमा काम गर्थे। करिब ३ वर्षपहिले पाण्डेलाई हल्का सन्चो नभएको अनुभूति भएको थियो। पाण्डेलाई दिनप्रतिदिन रोगले जित्दै गएपछि चेकजाँचका लागि अस्पताल गएर बुझ्दा उनले आफ्ना दुवै मिर्गौला फेल भएको चाल पाए।

‘पुरै चक्कर लागेर दिनदिनै शरीर कालो हुँदै आयो। भर्खर ४० वर्ष लागेको थिएँ। ससाना छोराछोरी र पत्नीलाई सम्झिँदै रोएँ पनि। म सन्चो हुनुको साटो दिनप्रतिदिन गल्दै थिएँ,’ उनले भने, ‘मलाई रोगले नराम्ररी च्याप्यो। नेपाल फर्किएसँगै अस्पताल धाउँदाधाउँदा करिब २० लाख रूपैयाँ सकियो।’

बोर्डको कल्याणकारी कोषबाट ७ लाख आर्थिक सहायता पाएको उनले बताए। ‘त्यो कहाँ चुइयो पत्तै भएन। मिर्गौला प्रत्यारोपण गर्न पत्नीले दिन्छु भनेकी थिइन् तर उनको रक्त समूह मिलेन,’ उनले भने, ‘अहिले हप्ताको दुई दिन ‘डायलाइसिस’ गराइरहेको छु।’

यसरी विदेश जाने रहर भनौं या बाध्यता? बिदेसिएका कामदार कतिबेला खाडलमा पर्ने हो भन्ने कसैलाई थाहा हुँदैन। कमलेश, ताराबहादुर र बाबुराम पाण्डे लगायत अन्य परिवारले पनि विदेशमा विभिन्न दुर्घटना र बिरामी परि स्वदेश फर्किनु परेको छ।

परिवारको आर्थिक अवस्था कमजोर भई विभिन्न तरिकाले बिदेसिएका नेपाली युवाले अकालमा ज्यान घुमाएसँगै बिरामी र अंगभंग भई नेपाल फर्किनुपरेका उदाहरण धेरै छन्। मुख्य गरी मुटुसम्बन्धी रोग, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मिर्गौला रोग, हृदयाघात, क्यान्सर र अन्य विभिन्न कारणले बिरामी र घाइते हुने गरेका छन्। कतिपयले ज्यानै गुमाएका छन्। विशेषगरी खाडी मुलुक गएका नेपालीले बढी सास्ती पाएका छन्।

कामका लागि विदेश पुगेकामध्ये बिरामी तथा अंगभंग हुनेमा सबैभन्दा धेरै मलेसिया र साउदी अरेबियाका रहेका छन्। मलेसिया, साउदी अरेबिया र कतारमा बिरामी तथा अंगभंग र मृत्यु हुने नेपालीको संख्या अन्य देशको तुलनामा धेरै रहेको बोर्डका सूचना अधिकारी राजन पौडेलले जानकारी दिए।

विगत लामो समयदेखि विदेशमा मृत्यु र अंगभंग हुनेको संख्या बढ्दै गएको छ। वैदेशिक रोजगारीमा जानेहरू स्वास्थ्य जाँच गराए पनि त्यहाँ पुगेपछि परिवर्तित वातावरणका कारण बिरामी हुने गरेका छन्। वैदेशिक रोजगारीका क्रममा हृदयाघात भई ज्यान गुमाउनेको संख्या बढी छ। त्यस्तै सडक दुर्घटना र आत्महत्याको तथ्यांक पनि डरलाग्दो छ।

सरकारले मृतक वा अंगभंग हुनेहरूको सहायताका लागि कामदार कल्याणकारी कोष स्थापना गरेको छ। संकलित सोही रकमबाट वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले मृतक, गम्भीर बिरामी र अंगभंग भएकाका लागि सहायता उपलब्ध गराउँदै आएको छ।

त्यस्तै विदेशमा भएका कामदारका परिवारका सदस्यलाई गम्भीर प्रकृतिको रोग लाग्दा औषधि–उपचारका लागि ५० हजार रूपैयाँ दिने गरिएको छ। सरकारले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने कामदारको हकहित संरक्षण गर्न भन्दै श्रममन्त्रीको अध्यक्षतामा २०६४ सालमा बोर्ड स्थापना गरेको थियो। वैदेशिक रोजगारमा जाने कामदारको मृत्यु, अंगभंग, जटिल बिरामी आदि अवस्था हेरेर बोर्डले कोषबाट आर्थिक सहायता प्रदान गर्ने गरेको छ। कामदारको मृत्यु भए ७ लाख रूपैयाँ दिने व्यवस्था गरिएको छ।

परिवारको आर्थिक अवस्था कमजोर भई विभिन्न तरिकाले बिदेसिएका नेपाली युवाले अकालमा ज्यान घुमाएसँगै बिरामी र अंगभंग भई नेपाल फर्किनु परेका उदाहरण धेरै छन्।

सरकारले संस्थागत रूपमा वैदेशिक रोजगारीमा जान १ सय ११ मुलुक खुला गरेको छ भने व्यक्तिगत रूपमा १७८ मुलुक खुला गरेको छ तर अधिकांश युवा खाडी तथा मलेसियामा केन्द्रित भएको देखिन्छ। तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जाने युवामध्ये खाडी र मलेसियामा जानेको संख्या उच्च छ। वैदेशिक रोजगारीका लागि धेरैजसो अदक्ष कामदार विदेश जाने गरेको बोर्डका सूचना अधिकारी पौडेलले बताए।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सबैभन्दा बढी मृत्यु हुनुको कारण कार्यक्षेत्रमा हुनसक्ने जोखिमबारे राम्रो ज्ञान नभएको श्रम तथा आप्रवासन विज्ञ सरु जोशी बताउँछिन्। हरेक नेपाली युवालाई कसरी विदेश जाने भन्ने छ। तर त्यहाँ केकस्ता जोखिम छन् भन्ने ज्ञान नभएको उनले बताइन्। ‘बिदेसिँदै गरेका युवालाई त्यो मुलुकको कुन ‘स्टेट’मा जाँदै छु र के कामका लागि हो भन्ने पनि थाहा हुँदैन। आफू जाने देशको तापक्रमबारे पनि ज्ञान हुँदैन,’ उनले भनिन्, ‘नेपाली कामदार आफू जाने देशमा केकस्ता नियम छन्। त्यो देशको नियम मिचेमा के जरिवाना हुन्छ भन्ने थाहा नहुनाले पनि धेरै नेपाली युवाले ज्यान गुमाउनुका साथै अंगभंग भई स्वदेश फर्किनु परेको छ।’

त्यस्तै नेपालको र विदेशको ट्राफिक नियम पूरै फरक हुन्छ। त्यसको राम्रो ज्ञान हुँदैन। विदेशमा पुगेका युवाले नेपालमा ट्राफिक नियम मिचेझैं विदेशमा पनि त्यस्तै गर्छन्। जसकारण अत्यधिक मात्रामा सडक दुर्घटना हुने गरेको छ।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सबैभन्दा बढी मृत्यु हुनुको कारण कार्यक्षेत्रमा हुनसक्ने जोखिमबारे राम्रो ज्ञान नभएको श्रम तथा आप्रवासन विज्ञ सरु जोशी बताउँछिन्।

आर्थिक वर्ष २०६८/६९ देखि चालु आवको भदौ १७ गतेसम्म रोजगारीका लागि विदेश गएका २ हजार ६ सय ८२ जना अंगभंग भई स्वदेश फर्किएका छन्। यो तथ्यांक वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको मात्रै हो। गैरकानुनी हैसियतमा वैदेशिक रोजगारीमा गएका, श्रम स्वीकृतिको अवधि सकिएर अलपत्र परेका र ज्यान गुमाएका नेपालीको लेखाजोखा छैन। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गएको छ। युवा बिदेसिएसँगै बिरामी तथा अंगभंग भई स्वदेश फर्किनेको संख्या पनि डरलाग्दो छ।

Published on: 6 September 2023 | Nagarik

Link

Back to list

;