s

सुखद भविष्य खोज्दै कुवेत पुगेकी जो दुई पटक बेचिइन्

लिला श्रेष्ठ

काठमाडौँ — ललिता (नाम परिवर्तन) १४ वर्षकै उमेरमा विवाह गरिन् । १५ वर्षको उमेरमा जुम्ल्याहा छोरीहरूलाई जन्म नै दिइन् । ज्यामी काम गरेर चार सन्तानलाई हुर्काइन् । मुटु रोगबाट पीडित श्रीमान्को उपचारका लागि ललिताले अरूको घरमा भाँडा माझ्नेदेखि दिनहुँ माटो, ढुंगा, गिट्टी, सिमेन्टको बोरा बोकिन् । ७ लाख रुपैयाँ ऋण गरेर श्रीमान्को सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा मुटुको भल्भ फेरियो ।

‘मुटुको भल्भ फेरेको दुई महिनापछि श्रीमान्को मृत्यु भयो, छोराछोरीको सम्पूर्ण जिम्मेवारी आमाको काँधमा थोपरियो,’ उनले भनिन्, ‘ज्यामी काम गरेर छोराछोरीलाई पालनपोषण गरिरहेको थिएँ, देवर/जेठाजुले घर गरेर खान दिएनन् । आफ्नो श्रीमान् भएको भए यस्तो दुःख पाउने थिइनँ होला, साह्रै दुःख पाएँ ।’

दुःखजिलो चलेकै थियो । परिचित एक महिलाले दुबईको एक रेस्टुरेन्टका लागि अफर आएको बताइन् । ‘म पनि तीन वर्ष काम गरेरै आएको हो, तपाईं पनि जानुस् भन्नुभयो,’ उनले भनिन्, ‘उहाँले भिजिट भिसामा दुबई पुर्‍याइदिने व्यक्तिको परिचय गराइदिनुभयो । आफ्नो एक पैसा पनि खर्च नहुने, भाषा जान्न नपर्ने बताएपछि लोभिएँ ।’

उदयपुरका रवि थापा मगर भन्ने लालबहादुर मगर र इलामका ४१ वर्षीय डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामीले ललितालाई भेटे । दुबई नभई कुवेतको ‘रोयल रेस्टुरेन्टमा वेट्रेस’ को काममा मासिक पारिश्रमिक १ सय २० कुवेती दिनार तलब हुने गरी लगाइदिने र उक्त रेस्टुरेन्टमा राम्रो काम गरेमा पोर्चुगल र अमेरिकामा रहेको रेस्टुरेन्टमा समेत पठाइदिन्छु भन्ने प्रलोभन देखाए । सामान्य लेखपढसमेत नजानेकी ललिता सिंगो परिवारको सपना बोकेर केही वर्ष विदेशी भूमिमा पसिना पोख्न राजी भइन् ।

ललितालाई रवि थापा मगर, डम्बरबहादुर दर्लामीले राहदानी बनाइदिने, काठमाडौंमा बस्नेसमेतको व्यवस्था गरिदिए । गत वैशाखमा भिजिट भिसामा दुबई हुँदै कुवेतसमेत पुर्‍याए । कुवेत पुगेपछि मात्र ललिताले बुझिन् आफूलाई उनीहरूले घरायसी कामका लागि १३ सय कुवेती दिनारमा बेचेका रहेछन् । ‘तीन महिना एक परिवारको सेवा गरें, पारिश्रमिक दिएनन्,’ उनले भनिन्, ‘पारिश्रमिकको कुरा गर्दा साहुले तिमीलाई काम गर्नकै लागि खरिद गरेको हो । तिमीले काम गरेबापतको पारिश्रमिक उनीहरूले पहिल्यै लिइसके भन्ने जवाफ फर्कायो । दैनिक १८ घण्टासम्म काम गरेर पारिश्रमिक नपाउँदा साह्रै दुःखी भएँ ।’

सित्तैमा काम गर्न नसक्ने भनेपछि ती साहुले ललितालाई घरबाट निकालिदियो र कुवेत पुर्‍याउने रवि थापा मगर र डम्बरबहादुर दर्लामीको सम्पर्कमा अर्को घरमा बेचिएको उनी बताउँछिन् । ‘दलालका उता पनि सम्पर्क व्यक्ति यता पनि सम्पर्क व्यक्ति हुँदारहेछन्, जसले बढी रकम दियो, त्यहीं बेचिदिँदो रैछ,’ उनले भनिन्, ‘एक घरबाट अर्को घरमा बेचिदियो ।’ अघिल्लो घरमा बिहान–साँझ दुई छाकमात्र भए पनि खान पाएकी ललितालाई दोस्रो घरकी साहुनीले दैनिक २० घण्टासम्म काममा लगाएर पेट भरुन्जेल खानासमेत नदिएको उनी बताउँछिन् । ‘पाँच जना बच्चा हेर्ने, घर सरसफाइ गर्ने काम थियो,’ उनी स्मरण गर्छिन्, ‘एक घरमा काम गराउने भनेर ३ वटा घरमा काम लगायो ।’ यति धेरै काम गर्न सक्दिनँ, पर्याप्त सुत्न/खाना खान नपाई काम गर्दा कमजोर भएको र टाउको दुख्यो भन्दा गाली, बेइज्जत गर्ने गरेको उनले बताइन् ।

दैनिक २० घण्टाभन्दा बढी काममा लगाएपछि शरीर कमजोर भएको र टाउको दुखेको बताउँदा यातना दिएको उनी बताउँछिन् । ‘कामको प्रेसरले टाउको दुख्यो, औषधि किनेर ल्याइदिनुस् भन्दा अस्पताल हिँड भन्यो,’ उनले भनिन्, ‘अस्पताल पुर्‍याएर जबर्जस्ती अनावश्यक सुई लगाएर यातना दियो ।’ अस्पताल पुर्‍याएपछि जबर्जस्ती ह्वीलचियरमा राख्यो । ‘मैले मलाई टाउको मात्र दुखेको हो । केही भएको छैन भन्दा जबर्जस्ती बेडमा सुताएर साहुनीले भनेअनुरूप अस्पतालको कर्मचारी (नर्स) हरूले जथाभावी शरीरमा सुई घोपिदिए,’ उनले भनिन्, ‘हिँड्नै दिएन । ह्वीलचियरमा राख्यो । ह्वीलचियरबाट निकालेर सेतो कपडा ओढाएर ट्रलीमा राखेर गुडायो ।’ हिँड्न सक्छु, टाउको मात्र दुखेको केही भएको छैन भन्दा पनि जबर्जस्ती बेडमा राखेर शरीरभरि सुई लगाइदिएको उनले रुँदै सुनाइन् ।

‘त्यो सुईले लट्ठिएर निदाएछु, निदाएपछि कति सुई लगाए मलाई थाहा छैन,’ उनले भनिन्, ‘बल्लबल्ल ब्युँझिएँ, हात, खुट्टा, ढाड, पेटमा जताततै सुईले घोपेको थियो, चिच्याएँ/कराएँ, मेरो आवाज कसैले सुनेन ।’

उक्त अस्पतालमा सरसफाइ गर्ने नेपाली दिदीबहिनीहरूले तिम्रो साहुनी राम्रो नियतको होइन । तिमी त्यहाँबाट भाग्नु नत्र तिमीलाई मार्छन् भनेपछि ट्याक्सीमा दूतावासको शरणमा पुगेको उनले बताइन् । ‘अस्पतालमा झाडुपोछा लगाउने नेपाली महिलाले भाग्न सल्लाह गरिन् र हातमा घोचेको सुई नै बोकेर दूतावास पुगें,’ उनले भनिन्, ‘५ दिनसम्म सुई शरीरमै घोपेकै थियो । शरीरभरि सुई (क्यानुला) राखेरै बसाल्यो । दूतावासमै आश्रय लिएर बसेका दिदीबहिनीले सुई निकालिदिनुभयो ।’

मानव बेचबिखन अनुसन्धान ब्युरोले ३५ वर्षीया पीडित महिलालाई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेहरूमा उदयपुर उदयपुरगढी गाउँपालिका–२ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ४४ वर्षीय रवि थापा मगर भन्ने लालबहादुर मगर र इलाम फाकफोकथुम गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–९ बस्ने ४१ वर्षीय डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामी रहेका छन् ।

ती पीडित महिलालाई श्रम शोषण गरेको उजुरीका आधारमा ब्युरोले कुवेतस्थित नेपाली दूतावाससँगको समन्वयमा पीडितलाई कुवेतबाट माघ ४ गते उद्धार गरी नेपाल ल्याएको हो । टाउको दुखेर अस्पताल पुर्‍याएकी पीडित महिलालाई अनावश्यक सुई लगाएपछि उनको कम्मरमुनिको भाग नचल्ने भएको छ । उनी टुसुक्क बस्न र हिँड्न सक्दिनन् । ‘म स्वस्थ रूपमा गएको थिएँ, स्वास्थ्य समस्या थिएन,’ उनले भनिन्, ‘अनावश्यक सुईका कारण कुँजो बनाइदिए ।’ कुवेतबाट फर्किएपछि कास्की पोखरा महानगर–१५ हरियालीमार्गस्थित माइत घरमा आश्रय लिएर बसेकी छन् । ‘मुढो भएर लडिरहेको अवस्था छ, आमाबुबाको आर्थिक अवस्था साह्रै न्यून छ,’ उनले भनिन्, ‘वृद्धवृद्धा आमाबुबा दुवै बिरामी हुनुहुन्छ । छोराछोरी घरमा छन् ।’

पक्राउ परेका दुईको सम्पर्कमा रहेका कुवेतमा बस्ने प्रतिवादीले पीडित युवतीको मोबाइल नियन्त्रणमा लिई फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोग गरी विभिन्न व्यक्तिसँग अश्लील कुराकानी गर्ने र सो कुराकानी गरेको रेकर्ड पीडितको आफन्तलाई पठाइदिने धम्की दिने गरेकोसमेत प्रारम्भिक अनुसन्धानमा खुलेको ब्युरोका प्रहरी अनुसन्धान अधिकृतले बताए ।

ती पीडित युवतीलाई विभिन्न धाकधम्की दिई कुवेतमा आफू राजीखुसी आएको हुँ बेचबिखनमा परेको छैन भन्ने भिडियो बनाई नेपाल गएपश्चात् कोही कसैलाई उजुरी गर्दिन भन्ने व्यहोराको कागजसमेत गराएको अनुसन्धानमा खुलेको उनले जानकारी दिए । घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको समेत जनाइएको छ । पीडितको उद्धारपछि माघ १० मा मात्र पीडितले ब्युरोमा जाहेरी दिएकी थिइन् ।

Published on: 14 February 2023 | Kantipur

Link

Back to list

;