s

सुदूरपश्चिममा ९३ प्रतिशत सङ्क्रमित भारतबाट फर्किएका, दुई सातासम्म क्वारेन्टाइनमा बस्दा पनि परीक्षण छैन

सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण देखिएकामध्ये ९३ प्रतिशत नागरिक भारतबाट फर्किएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म सुदूरपश्चिममा दुई सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ  ।

निर्देशनालयका तथ्यांक सहायक धर्मानन्द गिरीका अनुसार सङ्क्रमितमध्ये दुई सय ३४ जना भारतबाट फर्किएकाहरू हुन् । सङ्क्रमितमध्ये दुईजनाको मृत्यु भएको छ भने २६ जना निको भएर घर फर्किएको निर्देशनालयले जनाएको छ ।  धनगढीका एक संक्रमित दुबईबाट फर्किएका हुन् । उनी पनि उपचारपछि घर फर्किएका छन् । 

‘अहिले तीन सुरक्षाकर्मी, चार स्वास्थ्यकर्मी र दुईजना सवारीचालकमा समेत सङ्क्रमण देखिएको छ,’ गिरीले भने, ‘सङ्क्रमितमध्ये ९२.८५ प्रतिशत भारतबाट फर्किएकाहरू छन् ।’

संक्रमण पुष्टि हुनेहरूमा पेसालगायत कामका कारण अन्य जिल्लाबाट सुदूरपश्चिममा रहेका पनि । ‘डडेल्धुराका एक कर्मचारी, कैलालीका वडाध्यक्ष, बाँके, काठमाडौँ, वीरगन्ज र इटहरीबाट आएका एक–एकजनामा समेत सङ्क्रमण देखिएको छ,’ उनले भने, ‘सङ्क्रमितहरूको उपचार भइरहेको छ ।’

भारतबाट आएर कोरोना सङ्क्रमण पुष्टि हुनेमा अधिकांश क्वारेन्टाइनमा बस्नेहरू नै छन् । ८८ स्थानीय तहमा सञ्चालनमा रहेका क्वारेन्टाइनमा नौ हजार नाै सय ४७ महिला र ४९ हजार चार सय ८५ पुरुष गरी ५९ हजार  चार सय ३२ जना छन् । शनिबारसम्म सुदूरपश्चिम प्रदेशको कैलालीमा ८३, कञ्चनपुरमा ५४, डडेल्धुरा ३९, बाजुरा २०, अछाम १५, बझाङमा १४, दार्चुलामा १२, डोटीमा नौ र बैतडीमा ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।  

त्यस्तै, तोकिएको समयसम्म क्वारेन्टाइनमा बसेर सुदूरपश्चिमबाट २२ हजार ७८ जना घर फर्किएका छन् । गत चैतमा भारतबाट सुदूरपश्चिमका नाका हुँदै एक लाख ४३ हजार नागरिक स्वदेश फर्किएका थिए । जेठमा एक लाख १० हजारभन्दा बढी फर्किएको स्थानीय प्रशासनको भनाइ छ ।

कञ्चनपुरको गड्डाचौकी नाकाबाट जेठमा २८ हजारभन्दा बढी नागरिक स्वदेश फर्किएकामध्ये अधिकांश सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक रहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । ‘भारतबाट आउनेहरूको सीमामा लगत संकलन गर्नाका साथै सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पुऱ्याउने विषयमा हामीले समन्वय गरिरहेका छौँ,’ कञ्चनपुरका सहायक प्रजिअ गोकर्णप्रसाद उपाध्यायले भने, ‘भारतबाट आउनेको सङ्ख्या घटिरहेको छ ।’

त्यस्तै, कैलालीको त्रिनगर भन्सारबाट जेठमा ८५ हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका छन् । यहाँबाट भित्रिनेहरू भारतको विभिन्न स्थानबाट मजदुरी गरेर फर्किनेहरू बढी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । प्रदेशका पहाडी जिल्ला दार्चुला र बैतडीको सीमा क्षेत्रबाट पनि भित्रिने क्रम चलिरहेको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म परीक्षणको दायरा पनि साँघुरो नै छ । पिसिआर विधिबाट आठ हजार ६ सय ७८ जनाको कोरोना परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा बसिरहेकाहरूले १४ दिन पूरा गरिसक्दा पनि सङ्क्रमण जाँच नहुँदा आक्रोश पोखिरहेका छन् ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित कृष्ण उच्चमाविको क्वारेन्टाइनमा रहेका लक्ष्मण चौधरीले समयमा जाँच नभएको बताए । ‘लालबालासहित परिवारकै १६ जना भारतको गुजरातबाट आएर यहाँ क्वारेन्टाइनमा बसिरहेका छौँ,’ उनले भने, ‘यहाँ अरू व्यवस्थापन त परै जाओस्, लामखुट्टेले टोकेर हैरान बनाएको छ । यसैले अर्को रोग लाग्ला भन्ने डर छ ।’ नगरपालिकाभित्र आरडिटी पोजेटिभ देखिएका सबैलाई यहाँ ल्याएर राखिरहेकाले खाना, पानी सबै एउटैमा हुँदा सङ्क्रमणको जोखिम झन् बढेको उनले बताए ।

क्वारेन्टाइनबाट कोरोना परीक्षण नगरी घर पठाइएका ११ जनामा कञ्चनपुरको लालझाडी गाउँपालिकामा सङ्क्रमण देखिएको थियो । लालझाडी गाउँपालिका अध्यक्ष मदनसेन बडायकले परीक्षणका लागि किट अभाव रहेको बताए । उनले गाउँपालिकामा एकजना स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिए ।

Published on: 14 June 2020 | Nayapatrika

Link

Back to list

;