s

सुदूरपश्चिमका नाकाबाट शुक्रबार ७७६ नेपाली भित्रिए, १७८ भारतीय बाहिरिए

चाँदनी आचार्य

लम्की, असार ५ गते । सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट शुक्रबार ७७६ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १७८ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाली जेठ २ गतेयता दैनिक नेपाल भित्रिने क्रम जारी रहेको छ । उनीहरू लामो लकडाउनले खानबस्न समस्या भएपछि खुला भएका नाकाबाट नेपाल भित्रिएका हुन् । असार लागेसँगै नेपाली आउने क्रम न्यून हुँदैगएको छ ।

सुदूरपश्चिम प्रहरी कार्यालय, दिपायलका अनुसार शुक्रबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट ३४३ नेपाली नागरिक भित्रिएका छन् भने ४२ जना भारतीय नागरिक बाहिरिएका छन् । बिहीबारको तुलनामा उक्त नाकाबाट एक सयभन्दा बढी नेपाली भित्रिएका हुन् । त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट ४३३ नेपाली नागरिक भित्रिएका छन् भने १३६ भारतीय नागरिक बाहिरिएका छन् । शुक्रबारको तुलनामा उक्त नाकाबाट दुई सय कम नेपाली भित्रिएका छन् ।

योसँंगै सुदूरपश्चिम प्रदेशमा लकडाउनका समयमा जेठ २ गतेदेखि खुला गरिएका मुख्य नाकाबाट भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख सत्र हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या सत्र हजार बढी पुगेको छ ।

नेपाल भित्रिएका उनीहरूलाई विभिन्न जिल्लामाका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको छ । कतिपय स्थानीय तहले भारतबाट आउनेको सङ्ख्या कम भएसँगै होम क्वारेन्टाइनमा बस्ने गरी नगरपालिकाको क्वारेन्टाइन खाली गर्दैछन् । घोडाघोडी नगरपालिकाले अब आउने नेपालीलाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको जनाएको छ ।

साथै शुक्रबार नै घोडाघोडी नगरपालिकाले क्वारेन्टाइनमा बसेका ७० जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएकोमा २० जनाको कोरोना पोजिटिभ पुष्टि भएको छ । नगरप्रमुख ममताप्रसाद चौधरीले कुनै समस्या नदेखिएका उनीहरू यसअघि नै घर गइसकेको जानकारी दिनुभयो ।

Published on: 19 June 2020 | Gorkhapatra

Link

Back to list

;