s

सुदूरपश्चिम प्रदेश : फर्केकाहरु भन्छन्, ‘रोजगारीको चिन्ता’

शिवराज भट्ट/  महादेव अवस्थी

 

धनगढी/महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१० का नारद राना १७ वर्ष देखि कामका लागि भारत जाँदै आएका थिए। नेपालमा रोजगारी नपाउने भएपछि उनी विगत १७ वर्ष देखि भारतको गुजरात स्थित होटलमा वेटरको काम गर्दै आएका हुन।

कोरोनाको कहरले अहिले उनी घर फर्किएका छन्। भन्छन्, ‘नेपालमा केही काम नपाएपछि परिवार धान्न भारत पसेको १७ वर्ष भयो, राम्रै गरी परिवारको खर्च आईरहेको थियो, तर अब नेपालमा के गर्ने भन्ने चिन्ता लागिरहेको छ।’ उनले नेपालमै बस्नु परेका के गर्ने भन्ने अन्यौल भएको बताए।

कञ्चनपुरको भीमदत्तनगरपालिका–६ का दिपक भट्ट पनि नेपालमा रोजगारी नपाएपछि चार वर्ष अघि भारकै गुजरात गए। उनले त्यहाँको एक कम्पनीमा सेक्युरिटी गार्डको काम गरिरहेका थिए। तर भारतमा त्यो कम्पनीको उत्पादन बन्द भएपछि उनी घर फर्केका छन्।

भन्छन्, ‘कम्पनी बन्द भयो, मालिकले कर्मचारी घटायो, मलाई पनि घर पठाईदियो, अब के गर्ने भन्ने टुंगो छैन।’ उनी, स्वदेशमै रोजगारी पाए भारत नजाने पक्षमा छन्। सोमबार सम्म क्वारेन्टाईनमा बसेसर घर फर्केका उनले, भविष्यमा के रोजगार गर्ने भन्ने कुरा मात्रै मनमा खेलिरहने बताए।

‘नेपालमा ठुला उद्योग धन्दा पनि छैनन, सरकारको यसपालीको बजेट सुनेको त त्यसमा युवाहरुको रोजगारीका कुनै योजना छैनन’ भट्टले भने। उनले कृषि गर्नका लागि पनि समयमा मल, विउ नपाउने भएकाले समस्या हुने बताए। ‘अबको विकल्प कृषि नै हो, उत्पादनतिर काम गर्न सके मात्रै बाच्न सकिन्छ, तर त्यसका लागि पनि सरकारका योजना छैनन, न समयमा मल पाउछ, न विउ नै। प्राविधिक सहयोगको कुरा त परै छ।’

धनगढी उप–महानगरपालिकाको वडा नम्बर १ का हर्क बहादुर चन्द भारतको राजस्थानबाट घर फर्के। कैलालीको गौरीफन्टा नाकाबाट हजारौंको भीड छिचोल्दै आएका उनी १४ दिनको क्वारेन्टाईनको बसाई पछि घर पुगेका छन्।

‘भारतकै नोकरीले घर धानिएको थियो, खाना बस्न तिरेर घर पठाउन पनि रकम बाच्थ्यो, अब के गर्ने भन्ने चिन्ता लागि रहेको छ’ उनले भने ‘नेपालमा रोजगारी नपाएर त भारत गएको, अब झन लाखौ मानिसहरु फर्केका छन्, के काम पाउला ?’

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ कै उमेश सिह ठगुन्ना र उनका भाई पनि भारतबाट फर्केका छन्। भारतको बेंगलोरमा काम गर्ने उनीहरु जागिर छोडेर आएका हुन। ‘कोरोनाको चिन्ता भन्दा अबका दिनमा घर कसरी धान्ने ? काम के गर्ने ? भन्ने चिन्ता लागिरहन्छ’ उमेशले भने। 

सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका बासिन्दाको रोजगारको मुख्य गन्तब्य भारत हो। सरकारी तथ्यांक नभएपनि, गैरसरकारी संस्थाहरुले गरेका विभिन्न अध्ययन अनुसार सुदूरपश्चिमको कुल जनसंख्याको ३० प्रतिसत कामका लागि भारत जान्छ।

२०६८ सालको जनगणना अनुसार सुदूरपश्चिमको जनसंख्या २५ लाख हो। त्यसको ३० प्रतिसत झण्डै साढे सात लाख हुन्छ। अन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको तथ्यांक अनुसार फागुनको २४ गते देखि असारको १ गतेसम्म मात्रै भारतबाट २ लाख ४२ हजार पाँच सय २९ जना सुदूरपश्चिम फर्केका छन्।

भारतबाट फर्केमा मध्ये ८० प्रतिसत भन्दा बढी ३५ वर्ष मुनीका युवाहरु छन्। भारतबाट फर्केका अधिकांस युवाहरु, अब स्वदेशमै सीप अनुसारको काम गर्ने ईच्छा ब्यक्त गर्छन्। तर उनीहरुको सीपको लगत राखेर त्यही अनुसारको सरकारी नीति बन्न सकेको छैन। 

सुदुरपश्चिम विश्वविद्यालयका पुर्व रजिष्टार डाक्टर हेमराज पन्त पहिलो चरणमा भारतबाट आएका युवाहरुको सीप पहिचान गर्नुपर्ने बताउछन्। ‘अहिले लाखौं मानिसहरु क्वारेन्टाईनमा बसेका छन्, स्थानीय तहहरु मार्फत संघीय सरकारले उनीहरुको सीपको पहिचान गर्नुपर्छ।’ ‘सीप पहिचान गरेर, उनीहरुलाई स्वरोजगारमुलक काममा लगाई हाल्नुपर्छ।’ डाक्टर पन्तले प्रदेशमा उद्योगधन्दा र कलकारखाना नभएकाले तलब पाउने जागिर नपाईने भएकाले, युवाहरुलाई स्वरोजगार बनाउने नीति बन्न आवश्यक रहेको बताए। ‘सम्भावना कृषिमै हो, भारतबाट बढी आयात हुने कृषि उपजको तथ्यांकका आधारमा, आयात प्रतिस्थापन हुने गरी कृषि उत्पादनमा लगाउनुपर्छ। सरकारले, विदेशबाट हुने आयातको मुल्य भन्दा नेपाली उत्पादन सस्तो कसरी हुन्छ भन्ने योजना ल्याउनुपर्छ।’ 

डाक्टर पन्त पहाडमा हुने विकास निर्माणमा डोजरमा प्रतिवन्ध लगाउनुपर्ने बताउछन्। ‘गाउँको रोजगारी डोजरले खोसि दिएको छ, त्यसैले गाउँमा डोजर प्रतिबन्धित हुनुपर्छ’ उनले भने। ‘कम्तीमा पनि परिवारको एक सदस्यलाई वर्षमा ४ महिना कम्तीमा पनि काम पाउने योजना बनाईनुपर्छ।’ 

सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक सुरेश भण्डारी पनि सीप पहिचान नै पहिलो प्रार्थमिकता भएको बताउछन्। उनी भन्छन्, ‘अब बेरोजगारहरु बढ्छन्, उनीहरुलाई सीप अनुसारको काममा लगाउन सके देशमा छिट्टै विकास पनि हुन्छ, यदी सरकारले त्यसो गर्न सकेन भने अपराधन बढ्छ, युवाहरुमा मानसिक तनाव सिर्जना हुन्छ।

देशमा रोजगारीका अवसर नभएकै बेला कोरोनाका कारण वैदेशिक रोजगारीमा रहेका युवाहरु स्वदेश फर्किन थालेपछि झन बेरोजगारी बढ्ने उनको तर्क छ। ‘अहिलेको अवस्था हेर्ने हो भने वेरोजगारीको दर ह्वात्तै बढने देखिन्छ। त्यसका लागि संघ प्रदेश र स्थानीय सरकारले कृषि उत्पादन र ब्यवसायमा लाग्नका लागि हौसला दिने कार्यक्रमहरु ल्याउनुपर्छ।’ प्राध्यापक भन्डारीले भने।

स्वदेशमै केही गर्नुपर्छ भनेर ब्यवसायमा लगानी गरेका, कृषि कर्म गरेका युवाहरु नै अहिले निरास छन्। कृषी उपजको बजार छैन, बजारमा भारतीय उपज प्रतिस्पर्धामा छ। नेपाली उत्पादनले बजार नपाएपछि उनीहरु निरास हुने गरेका छन्। 

‘नेपालमै ब्यवसाय गरेको तर भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सकिएन, सरकारले डब्लुटिओको निमय अनुसार आयात बन्द गर्न सक्दैन भन्छ, तर नेपाली किसान मुल्यमा प्रतिस्पर्धा गर्न सक्दैनन’ भीमदत्त नगरपालिकाका ब्यवसायी सुरेश बोकटी भन्छन्। 

कोरोना महामारीका कारण यातायात सेवा, होटल, रेस्‍टुराँ, उद्योग, शिक्षण संस्था, भौतिक निर्माणलगायत अधिकांश व्यवसाय तीन महिना देखी बन्द छन्। जसका कारण यहाँ कार्यरत श्रमीकहरु पनि तीन महिनादेखी वेरोजगार छन्। सबैभन्दा बढी दैनिक ज्यालादारीमा काम गर्ने श्रमीक मारमा परेका छन्। कञ्चनपुरमा मात्रै लकडाउनको अवधीमा १७ हजार चार सय युवाहरु स्वदेश फर्किएका छन्।

सुदूरपश्चिमका कैलालीको लम्की र कञ्चनपुरको दैजिमा औद्योगिक क्षेत्र घोषणा भएको दशक पुग्न थाल्यो। हजारौंले रोजगारी पाउने परिकल्पना गरिएको दोधारा चाँदनीमा रहेको सुख्खा बन्दरगाहको काम पनि त्यती प्रगती पथमा जान सकेको छैन।

आर्थिक विष्लेषक गोकर्ण अवस्थी भन्छन्, ‘सरकारले घोषणा गरेका औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह छिटो सञ्चालन गर्ने बेला यही हो। यसमा हजारौंको रोजगारी सिर्जना हुनसक्छ।’ उनले अहिले क्वारेन्टाईनमै सरकारले, उनीहरुको सीप र पुँजीको अवस्थाको अनुसन्धान गर्न सक्ने बताए। 

‘सरकारले क्वारेन्टाईनबाटै उनीहरुको सीप र पुँजीको अवस्था पत्ता लगाएर नीति बनाए मात्रै बेरोजगारीको समस्या समाधान गर्न सकिन्छ, यसले सरकारलाई आगामी नीति बनाउन पनि सजिलो हुन्छ’ अवस्थीले भने।

उनले सिप र पुजीँको आधारमा तुलनात्मक लाभ हुन सक्ने क्षेत्रको पहिचान गरि उत्पादन मुलक क्षेत्रमा जोड दिनुपर्ने बताए। ‘कृषिमा लाग्नेहरुका लागि सुरुवाती अवस्थामा बिउँविजन र मलखादमा अनुदान दिनुपर्छ, त्यसपछि सहुलियतपूर्ण कर्जा र केन्द्र सरकारले दिने ७ वटा अनुदानहरुलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्छ’ उनले भने।

विष्लेशक अवस्थीले अल्पकालका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडी बढाए पनि केही हदसम्म रोजगारी सिर्जना गर्नसकिने बताए। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आएपनि प्रभावकारी हुन नसकेको जन गुनासो छ। गत वर्ष भीमदत्तनगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा साढे नौ सय जनाले रोजगारी पाएका थिए। उक्त कार्यक्रममा महिलाहरुको सहभागीता थियो। 

बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्द, युवाहरुले जागिर भन्दा पनि अब पहाडमा अर्गानीक कृषिमा लाग्नुपर्ने बताउछन्। ‘पहाडमा बेमौसमी तरकारी खेतीले मात्रै पनि भारतको नोकरीको भन्दा बढी फाईदा हुन्छ’ उनले भने। ‘हिजोका दिनमा हाम्रा बाजेहरुले, जोतेका खेतहरु अहिले बनजंगल बनेका छन्। त्यतीबेला पहाडमा अन्न किन्ने अवस्था थिएन। किनकी सडकको पहुँच थिएन। त्यसैले हाम्रा बाजेहरुले ईजर (पहाडको पाखाहरु) खनेर पनि खेती गरेका थिए।’ चन्दले, अहिले कार्यकर्ता भनेर छान्ने बेला होईन, युवाहरुलाई स्वरोगारका लागि विउपुँजी दिने, उत्पादन लागत घटाउने गरी मल विउ, विरुवा दिनुपर्ने बताए।

Published on: 19 June 2020 | Annapurna Post

Link

Back to list

;