s

सुदूरपश्चिम प्रदेशमा विदेशबाट डेढ लाख भित्रिए, दुई हजार मात्र क्वारेन्टाइनमा

तेजराज भट्ट

 

सुदूरपश्चिम प्रदेशका सबैजसो स्थानीय तहले विदेशबाट फर्केकालाई राख्न क्वारेन्टाइन निर्माण गरेका छन् । तर, क्वारेन्टाइनमा बस्नेको संख्या न्यून छ । 

भारत र अन्य देशबाट फर्केकाहरू घरमै बसिरहेका छन् । जसले गर्दा ग्रामीण क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेको स्वास्थ्यकर्मीले बताएका छन् । 

कोरोना संक्रमण फैलन नदिन सरकारले देशभर लकडाउन घोषणा गर्नुअघि करिब तीन साताको अवधिमा भारतबाट मात्र सुदूरपश्चिम प्रदेशमा डेढ लाख व्यक्ति भित्रिएको तथ्यांक छ । 

सीमानाकाहरूमा रहेका हेल्थ डेस्कहरूको तथ्यांकअनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, खक्रौलालगायतका नाकामा तीन साताको अवधिमा डेढ लाखको स्वास्थ्य परीक्षण गरिएको छ । 

लकडाउनकै समयमा पनि भारतबाट नेपाल भित्रिने क्रम रोकिएको भने छैन । तीमध्ये अधिकांश सुदूरपश्चिमका छन् । 

सरकारले विदेशबाट फर्कनेहरूबाट कोरोना संक्रमण भित्रिन सक्ने भएकाले उनीहरूलाई क्वारेन्टाइनमा राख्ने जनाएको थियो । 

तर, सुदूरपश्चिममा भित्रिएका डेढ लाखमध्ये एक हजार नाै सय ९७ जना मात्र क्वारेन्टाइनमा बसिरहेका प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यीमध्ये ४५ बालबालिका र एक सय ६६ महिला छन् । क्वारेन्टाइनमा राखिएकाको व्यवस्थापन स्थानीय तहहरूले नै गरिरहेका सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । 

लकडाउनका वेला फर्किएकाहरूलाई मात्र क्वारेन्टाइनमा राखिएको हो । 

‘अगाडि फर्केका सबैजसो घर गए, पछि फर्केकालाई मात्र स्थानीय तहहरूले क्वारेन्टाइनमा राखेका छन्,’ महाशाखा प्रमुख कार्कीले भने । 

ज्वरो मात्र नापिएका आधारमा हजारौँ भित्रिँदा उनीहरूसँगै कोरोनाको संक्रमण पनि भित्रिएको हुन सक्ने स्वास्थ्यकर्मीहरूको अनुमान छ । 

स्थानीय तहले बनाएका क्वारेन्टाइनमा पनि भारतबाट फर्केकाहरू बस्न मान्दैनन् । क्वारेन्टाइनमा राखिएको विरोधमा बैतडीको पुरचौडी नगरपालिका– ५ मा केही दिनअघि स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो । 

पहाडी क्षेत्र पर्ने कैलालीको चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकाले भारतबाट दुई सय ५६ जना फर्किएकोमा सातजना मात्रै क्वारेन्टाइनमा बसिरहेको जानकारी दिए । फर्केकाहरू क्वारेन्टाइनमा बस्न नचाहने गरेको उनले बताए । 

‘सरकारले सुरुमै भारतबाट फर्केका सबैलाई क्वारेन्टाइनमा राख्न भनेको भए सजिलो हुन्थ्यो, फर्केका सबै घरपरिवारमा घुलमिल भइसकेकाले अब राख्नुको पनि औचित्य छैन,’ अध्यक्ष रोकाले भने । 

प्रदेशका सबै स्थानीय तहमा गरी तीन हजार चार सय २६ बेडका क्वारेन्टाइन बनाइएका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।

Published on: 2 April 2020 | Nayapatrika

Link

Back to list

;