s

स्थिर सरकार नहुँदा रोजगारी सिर्जनामा चुनौतीहरू थपिँदै गएका छन् : सांसद सेजुवाल

काठमाडौँ — कांग्रेस सांसद कान्तिका सेजुवालले स्थिर सरकार नहुँदा मुलुकमा चुनौतीहरू थपिँदै गएको बताएकी छिन् । बिहीबार कान्तिपुर मिडियाले काठमाडौंमा आयोजना गरेको 'कान्तिपुर इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट' सम्मेलनको पहिलो सत्र 'आन्तरिक रोजगारी दशक, सफल पार्न सकस' मा बोल्दै सांसद सेजुवालले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटको तादम्यता नमिल्दा पनि चुनौती थपिएको बताएकी हुन् ।

चालु आर्थिक वर्षको बजेटमा 'पढ्दै कमाउँदै' भन्ने नारा राखिएको भए पनि पैसा नहुँदा कार्यान्वयनमा समस्या भएको उनको भनाइ छ । 'यसबारे अर्थमन्त्री प्रकाशशरण महतलाई भन्यौं,' सांसद सेजुवालले भनिन्, 'तर अझै पनि बजेट आएको छैन, यस्तो अवस्थामा 'पढ्दै कमाउँदै' कार्यक्रम कार्यान्वयन हुन सक्दैन ।'

अनुगमन र नियमन राम्रोसँग नहुँदा पनि सरकारले सञ्चालन गर्ने रोजगारसम्बन्धी कार्यक्रम प्रभावकारी हुन नसकेका उनको भनाइ छ । 'आधिकारिक रूपमा महिलाहरूलाई वैदेशिक रोजगारमा पठाउन सकियो भने उहाँहरू सुरक्षित हुनुहुन्छ,' उनले भनिन्, 'सुरक्षित तवबरले काम गर्न पाउनु हुनेछ, सरकार र सम्बन्धित निकायले पनि ग्यारेन्टी लिन्छ,तर यसमा पनि चुनौती छ, यसलाई समाधान गर्न आवश्यक छ ।'

ज्याला र सामाजिक सुरक्षा भत्तामा सुधार गर्न आवश्यक रहेको पनि उनले बताइन् । प्रधानमन्त्री र मेयर रोजगार कार्यक्रमलाई प्रभावकारी रूपमा लग्न सुधार गर्न आवश्यक रहेको पनि उनको भनाइ छ । पछिल्लो समय लघु उद्यमीहरू बढिरहेको त्यसमा महिलाको पहुँच पनि सहज हुँदै गएको उनले बताइन् ।

Published on: 9 February 2024 | Kantipur

Link

Back to list

;