s

स्थानीय तहले दियो महिलालाई रोजगारी

रूपा गहतराज

‘अर्काको देशमा काम गर्न जान परेन, परिवारसँगै बस्न पाएका छौं, बेलैमा सिकेको सीप काम लाग्यो’

नेपालगन्ज — खजुरा गाउँपालिका–४ डी गाउँकी २८ वर्षीया रविना सुनार एक वर्षअघि रोजगारीका लागि श्रीमान्सँगै भारत पुगेकी थिइन् । कोरोना महामारीले काम गुमेपछि उनी स्वदेश फर्किनुपर्‍यो । उनी खाली भने हात बसेकी छैनन् ।

प्लास्टिकमुक्त पालिका बनाउने गाउँपालिकाको कार्यक्रमअन्तर्गत वातावरणमैत्री झोला सिलाउन उनी व्यस्त छिन् । ‘अर्काको देशमा काम गर्न जान परेन, परिवारसँगै बस्न पाएका छौं,’ उनले भनिन्, ‘बेलैमा सिकेको सीप काम लाग्यो ।’

खजुरा–३ धौलागिरिकी बुद्धमाया खत्रीको दैनिकी अचेल व्यस्त छ । पहिले उनको दिनचर्या घरधन्दामै सीमित थियो । ‘खाली समय गाउँघरमा कुरा गरेर बित्थ्यो,’ उनले भनिन्, ‘गाउँपालिकाको कार्यक्रमले गर्दा अहिले दुई–चार पैसा आफैं कमाउने भएँ ।’ सुनार र खत्री मात्र होइन, खजुराका ३० जना महिलाले यसरी नै गाउँमा रोजगारी पाएका छन् । खजुरा गाउँपालिका–३ आदर्शनगरकी लक्ष्मीकुमारी सुनार दैनिक २ देखि ३ सय कपडाका पिस कटिङ गर्छिन् । अरूलाई पनि काम गर्न सिकाउँछिन् । खजुरा–३ को वडा कार्यालय भवनमा उनीहरू दिनभरि कपडा कटिङ गर्ने अनि सिलाइ मेसिनबाट झोला सिलाउने गर्छन् । उनीहरूले कच्चा कपडा कटिङ गरेको प्रतिपिस ३ रुपैयाँ र एउटा झोला सिलाएको ७ रुपैयाँ पाउँछन् । गाउँपालिकाले नै झोलाको बजारीकरण गर्छ ।

गाउँपालिकाले एकल, विदेशबाट फर्केका र सीप भएर पनि अवसर नपाएका विपन्न महिलालाई रोजगारीको अवसर दिएको हो । उनीहरूलाई वडाले छनोट गरी सिफारिस गरेको थियो । खजुराभित्रका पिछडिएका, दलित, जनजाति, अपांगता र आर्थिक स्रोत न्यून भएका महिलाका लागि रोजगारीको व्यवस्था गर्ने र पालिकालाई प्लास्टिक झोलामुक्त गाउँपालिका बनाउने उद्देश्यका साथ वातावरणमैत्री झोला उद्योग स्थापना गरेको खजुराकी उपाध्यक्ष एकमाया विकले बताइन् । ‘यो कार्यक्रमलाई पालिकाले पाइलट प्रोजेक्टका रूपमा अघि सारेको छ,’ उनले भनिन्, ‘चालु आर्थिक वर्षमा यसमा काम गर्ने महिलाको संख्या ६० पुर्‍याउने लक्ष्य छ ।’

कार्यक्रमका लागि पालिकाले २० लाख बजेट विनियोजन गरेको थियो । ३० जना महिलाले रोजगारी पाइरहेका छन् । सबैलाई पुग्ने गरी ३० वटा सिलाइ मेसिन र कपडा पालिकाले नै व्यवस्था गरेको छ । बजारीकरणका लागि भाटभटेनीलगायत नेपालगन्ज र खजुराका विभिन्न ठाउँमा झोलाको नमुनासमेत पठाइसकिएको उपाध्यक्ष विकले सुनाइन् । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा पहिलो पटक यो कार्यक्रम खजुरामा सञ्चालन भएको थियो । ‘पालिकाले सीमान्त महिलालाई रोजगारी दिएर उनीहरूको आयआर्जनमा मात्र सहयोग गरेको छैन,’ गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले भने, ‘महिलालाई पनि विकास कार्यमा साझेदार बनाउन पहल थालिएको छ ।’

Published on: 2 February 2021 | Kantipur

Link

Back to list

;