s

स्थानीय तहबाटै अनलाइन श्रम स्वीकृति

गणेश विशु

वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन अब स्थानीय तहबाटै हुने भएको छ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, र भरपर्दो तथा सहज बनाउन सरकारले स्थानीय तहबाट अनलाइन आवेदन भर्ने व्यवस्था मिलाएको हो।

चैत १६ गतेको प्रधानमन्त्री तथा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनका लागि स्थानीय तहलाई परिपत्रसमेत गरिएको छ। बैदेशिक रोजगारीमा जानेहरूले व्यवसायीकहाँ पुगेर चर्काे मूल्यमा अनलाइन फाराम भर्न बाध्य थिए।

उक्त निर्णय कार्यान्वयनपछि सम्बन्धित स्थानीय तहमा गएर निःशुल्करूपमा अनलाइन फाराम भर्न सकिने छ। वैदेशिक रोजगार ऐन २०६४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्था अनुसार बैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनु पर्ने व्यवस्था छ। नागरिकले झन्झटिलो र खर्चिलो ढंगले व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन दिने गरेका थिए।

व्यक्तिगत श्रम स्वीकृति आवेदनका लागि नेपाली नागरिकता प्रमाणपत्र, राहदानी (पासपोर्ट), पासपोर्ट साइजको एकप्रति फोटो, बैंक खाता चेकको प्रतिलिपी, आफू जान लागेको कम्पनीको विवरण, भिसाको प्रतिलिपी संलग्न गर्नुपर्नेछ।

यससँगै रोजगार दातासँग भएको करार सम्झौता, स्वघोषणा फाराम, दूतावासले लेखेको चिठ्ठी, आफू जान लागेको देशअनुसारको

त्यस्तै स्वास्थ्य परीक्षण (निरोगिताको प्रमाण् पत्र), कल्याणकारी कोषमा रकम जम्मा गरेको हुनुपर्ने, बिमा रकम जम्मा गरेको हुनुपर्ने, इमेल ठेगाना, सम्पर्क नम्बर र परिवारको सम्पर्क नम्बर भएको हुनुपर्ने नेपालगन्ज उपमहानगरपालिकाकी रोजगार संयोजक मञ्जु ज्ञवालीले जनाइन्।

सम्बन्धित स्थानीय तहको रोजगार सेवा केन्द्रमा गएर व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन भर्न सकिनेको भनाइ छ।

‘अनलाइन आवेदन गरी श्रमिकले श्रम स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था भए पनि अधिकांश नेपाली श्रमिकले अनलाइन आवेदन अन्य अनधिकृत व्यक्ति वा सेवाप्रदायक संस्थामार्फत गर्दा श्रमिकको सम्पूर्ण विवरण प्रविष्ट नहुने, सोबापत धेरै रकम तिर्न बाध्य हुनुपर्ने र विभिन्न बाहाना बनाइ श्रमिकलाई दुःख हैरानी दिने कार्य हुन सक्ने अवस्था छ,’ उनले भनिन्, ‘त्यसलाई दृष्टिगत गर्दै वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित एवम् भरपर्दो बनाई स्थानीय तहसम्म पहुँच अभिवृद्धि गर्न वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारको व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिको अनलाइन आवेदन भर्न सहयोग गर्ने कार्यक्रम गरिएको हो।’

अहिले तत्कालका लागि स्थानीय तहअन्तर्गतका रोजगार सेवा केन्द्रले अनलाइन आवेदन भर्न सहयोग गर्नेछन्। यस कार्यक्रमले वैदेशिक रोजगारीमा जानेहरू ठगिनबाट बच्ने अपेक्षा गरिएको छ। ‘वैदेशिक रोजगारीमा जाँदा अनेकन झन्झटिला प्रक्रिया छन्,’ कोहलपुरका नागरिक समाजका अगुवा विनोद थापाले भने, ‘वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन भर्नु पनि एउटा हो।’

Published on: 25 April 2023 | Nagarik

Link

Back to list

;