s

एसआरएस कम्पनीलाई कारबाही सिफारिस

साढे ८ लाख रुपैयाँसम्म लिएर सुरक्षा गार्डलाई संयुक्त अरब इमिरेट्स पठाएर अलपत्र पार्ने एसआरएस म्यानपावरलाई कारबाही गर्न त्यहाँस्थित नेपाली दूतावासले वैदेशिक रोजगार विभागलाई सिफारिस गरेको छ । दूतावासले पीडितलाई टिकट उपलब्ध गराउन प्रधानमन्त्री कार्यालय, श्रम मन्त्रालय र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई अनुरोध गरेको छ । 

यूएईको हिमाया सेक्युरिटी सर्भिसमा कामविहीन भएपछि १ सय १७ नेपाली कामदारले आफूहरूमाथि अन्याय भएको भन्दै नेपाली दूतावासमा उजुरी गरेका थिए । त्यसमध्ये ५२ जना सुरक्षा गार्डलाई एसआरएसले पठाएको थियो । बाँकी कामदारलाई दलालले भिजिट भिसामा यूएई लगेका थिए । उनीहरू आठ महिनादेखि कामविहीन भएर बसेका छन् । दूतावासले मानव तस्करीको शैलीमा सेटिङ गरेर यूएई पुर्‍याउन भूमिका खेल्ने एजेन्ट ओमबहादुर थापा र सुमेरा म्यानपावरका देवेन्द्र कार्कीलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाएको छ । यूएईमा रहेको ग्लोबल ट्यालेन्ट रिक्रुटमेन्टका थापाले परफेक्ट म्यानपावरको नामबाट मागपत्र बनाई भिजिट भिसामा ३३ जना कामदारलाई यूएई लगेका थिए । थापा र कार्कीले पीडितसँग लिएको रकम सबै फिर्ता दिने भनेपछि उनीहरूविरुद्ध दूतावासमा उजुरी परेको छैन । 

वैदेशिक रोजगार ऐनअनुसार विदेशमा काम गर्न जानेलाई श्रम स्वीकृतिबिना लगिए मानव तस्करीभित्र पर्छ । ती कामदारले म्यानपावर र एजेन्टलाई ७ लाखदेखि ८ लाख ५० हजार रुपैयाँसम्म बुझाएका छन् । हिमायाले १ सय १७ जनालाई काम दिन नसक्ने भएपछि उनीहरूलाई १२ देखि २४ हजार दिरामसम्म रकम दिएर स्वदेश पठाउने तयारी भइरहेको श्रम सहचारी हीरा यादवले जानकारी दिइन् ।

Published on: 8 March 2017 | Kantipur 

Back to list

;