s

श्रीलंकाका जेलमा २६ नेपाली महिला

जनकराज सापकोटा

काठमाडौँ — संगठित मानव तस्करको जालोमा परेर खाडी देश जान भन्दै हिँडेका २६ महिला श्रीलंकाका विभिन्न जेलमा परेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उद्धारको प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले यसअघि नै संगठित मानव तस्करको फन्दामा परेर जेलमा परेका १० महिलालाई उद्धार गरी परिवारसँग भेट गराइसकेको छ ।

मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले कान्तिपुरसँग कुरा गर्दै जेलमा रहेका २६ महिला कहिले छुट्छन् भन्नेबारे कोलम्बोस्थित नेपाली दूतावासले निरन्तर समन्वय गरिरहेको बताए । उनका अनुसार जेलमा रहेकामाथि अध्यागमन नियम उल्लंघनलगायत विषयमा अदालतमा मुद्दा चलिरहेको छ । प्रवक्ता निरौलाले मन्त्रालयअन्तर्गतको मानव बेचबिखन नियन्त्रण राष्ट्रिय समिति मातहतको पुनःस्थापना कोषले जेलमा रहेका नेपाली महिलालाई छुट्नेबित्तिकै नेपाल फिर्ता ल्याउन आवश्यक खर्च व्यहोर्ने निर्णय गरिसकेको बताए । उनका अनुसार एक वर्षयता विभिन्न जेलमा रहेको बुझिए पनि उनीहरू कसरी त्यहाँ पुगे, कसले पुर्‍यायो भन्नेबारे विस्तृत अनुसन्धान हुन बाँकी नै छ ।

स्थलमार्ग हुँदै भारतका विभिन्न सहरबाट अवैध रूपमा खाडीका देश पुर्‍याएर आकर्षक जागिर मिलाइदिने आश्वासनमा श्रीलंका पुर्‍याएर अलपत्र पार्ने मानव बेचबिखनको शैली नयाँ होइन । २०७५ फागुनमा पनि भारतीय प्रहरीले उत्तरपूर्वी राज्य मणिपुरबाट १ सय ४७ महिलासहित १ सय ७९ जनालाई उद्धार गरेको थियो । त्यसअघि मिजोरमबाट २३ महिलालाई उद्धार गरिएको थियो । उद्धार गरिएका सबैलाई आकर्षक रोजगारीको प्रलोभनमा अवैध रूपमा भारत, म्यान्मार, श्रीलंका हुँदै खाडी देश पुर्‍याउन खोजिएको थियो ।

मानव तस्करीको पछिल्ला वर्षको प्रवृत्ति हेर्दा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङमा सोझै श्रीलंकाको कोलम्बो हुँदै खाडी देशमा पुर्‍याउने गरिए पनि विमानस्थलमा कडाइ गरेपछि भारतका उत्तरपूर्वी मणिपुर र मिजोरमलगायत ठाउँबाट म्यान्मार र श्रीलंका पुर्‍याउन सुरु गरिएको थियो ।

भारतस्थित नेपाली दूतावासमा दुई वर्ष बसेर हालैमात्र नेपाल फर्किएका एसएसपी प्रकाश अधिकारीले आफ्नो कार्यकालमा नेपालबाट मानव तस्करीको फन्दामा परेर खाडी हिँडेका तर म्यान्मार र श्रीलंका पुगेर अलपत्र परेका वा भारतमै विभिन्न अप्ठ्यारो झेलिरहेका सयौं महिलासम्बद्ध घटना नियाल्ने मौका पाए । ‘दिल्ली, मुम्बई र चेन्नईका अन्तर्राष्ट्रिय विमानस्थल हुँदै खाडी देश लैजान नेपाली महिलालाई कडाइ गरिएपछि तस्करहरूले स्थलमार्ग प्रयोग गर्न थालेको देखिन्छ,’ उनले भने । एसएसपी अधिकारीका अनुसार मणिपुर, मिजोरमबाट म्यान्मार पुर्‍याउने र त्यहाँबाट हवाईमार्ग हुँदै श्रीलंका पुर्‍याएर अलपत्र पार्ने क्रम पहिल्यैदेखि चलिरहेको देखिन्छ ।

सरकारले २०७३ चैतमा खाडी मुलुकमा नेपाली महिला कामदार पठाउन प्रतिबन्ध लगाएपछि भारतका विभिन्न सहर हुँदै नेपाली महिलालाई अवैध रूपमा खाडी पुर्‍याउन क्रम निरन्तर जारी देखिन्छ । एसएसपी अधिकारीले आफ्नो अनुभवको सार खिचेर सुनाए, ‘घरेलु कामदारका रूपमा नेपाली महिलालाई जान प्रतिबन्ध लगाएपछि निरन्तर अवैध मार्ग हुँदै मानव तस्करी गर्ने संगठित गिरोह सक्रिय देखिन्छ ।’ 

गत ११ गते प्रहरीको मानव बेचबिखन ब्युरोले ३५ वर्षीय रामकुमार चौधरीलाई काठमाडौंबाट पक्राउ गरेको थियो । चौधरीले २०७३ असार ८ गते झापाको धुलाबारीबाट भारतको सिलिगुडी हुँदै १२ महिलालाई श्रीलंकाको अलिआक्स भन्ने ठाउँमा पुर्‍याएका थिए । खाडी देशमा पुर्‍याई आकर्षक तलबको काम दिलाइदिने आशामा हिँडेका महिला श्रीलंका पुगेपछि झन्डै दुई महिनासम्म बन्धक बनेपछि जेनतेन उम्केर नेपाल फर्केका थिए । यसरी फर्केकाले २०७३ साउन २३ मा आफूहरूलाई श्रीलंका पठाउने काममा संलग्न चौधरीसहित चन्द्रप्रकाश राई र सविना शाहविरुद्ध उजुरी दिएका थिए । चन्द्र र सविना उजुरीलगत्तै पक्राउ परे पनि फरार रहेका रामकुमार घटनाको करिब ५ वर्षपछि गत सातामात्रै पक्राउ परेका छन् । 

रामकुमार पक्राउसँग जोडिएको संगठित मानव बेचबिखनको घटनामा भारतको सिलिगुडी हुँदै श्रीलंका रुट कसरी जोडिएको छ भन्ने विगत बुझाउँछ । त्यसो त ब्युरोले गत ४ गते पनि श्रीलंका पुर्‍याएर नेपाली महिला बेचबिखन गरेको आरोपमा महाराजगन्जबाट कमला भेटवाल भन्ने पाकिजा प्याकुरेललाई पक्राउ गरेको थियो । पकिजाले दुबईमा मासिक ३५ हजार तलब हुने काम मिलाइदिने भन्दै २०७६ कात्तिक २७ मा एक महिलालाई भारतको दिल्ली हुँदै मुम्बई पुर्‍याएकी थिइन् । कमलाले मुम्बईस्थित विमानस्थलमा ‘सेटिङ’ मिलाएर ती महिलालाई श्रीलंका पठाएको ब्युरोले जनाएको छ । प्रहरीका अनुसार श्रीलंकाको मिनुवाङगोडा भन्ने ठाउँ पुर्‍याएपछि ती महिलालाई बन्धक बनाइएकै अवस्थामा श्रीलंकाली प्रहरीले पक्राउ गरी अध्यागमन नियम उल्लंघन गरेको कसुरमा निगम्बुस्थित जेलमा थुनेको थियो । परिवारका सदस्यले कोलम्बोस्थित दूतावासमा खबर गरेपछि ती महिलाको गत माघ ११ गते उद्धार भएको थियो । उद्धारपछि पीडितले दिएको उजुरीका आधारमा ब्युरोले कमलालाई पक्राउ गरेको थियो । 

फागुन २ मा पनि ब्युरोले श्रीलंका पुर्‍याई मानव बेचबिखन गरेको आरोपमा पर्वतको कुस्मा नगरपालिका–२ बाट सुवेदी कान्छो भनिने खेमबहादुर सुवेदीलाई पक्राउ गरेको थियो । सुवेदीमाथि एक महिलालाई गत वर्ष कुवेत पुर्‍याइदिने भन्दै नेपालगन्जबाट भारतको चेन्नई पुर्‍याएका थिए । सुवेदीले चेन्नईबाट मलेसिया हुँदै ती महिलालाई श्रीलंकाको तालदुवा भन्ने ठाउँ पुर्‍याएर बन्धक बनाएका थिए । बन्धक बनेकी महिलाका परिवार कोलम्बोस्थित नेपाली दूतावासको सम्पर्कमा पुगेपछि गत मंसिर ३० मा उनको उद्धार भएको थियो । उद्धारलगत्तै पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले सुवेदीलाई पक्राउ गरेको थियो । 

पछिल्लो पटक श्रीलंकाबाट उद्धार गरिएका १० मध्ये चार जनाले मात्रै प्रहरीको मानव बेचबिखन ब्युरोमा उजुरी दिएका छन् । ब्युरोकी एसएसपी दुर्गा सिंहका अनुसार पीडितले खाडी देशमा आकर्षक जागिर पाइने लोभमा २ देखि ५ लाख रुपैयाँसम्म फसाएको बयान दिएका थिए । उनका अनुसार पीडितको बयानलाई हेर्दा काठमाडौं, भारत, श्रीलंका र खाडी देशका एजेन्टहरूले संगठित रूपमै महिलाको ओसारपसार गर्ने र सेटिङ नमिलेपछि बीचैमा अलपत्र पार्ने गरिएको देखिन्छ । उनले भनिन्, ‘अधिकांश पीडित सामान्य पढालेखा र निम्नवर्गीय महिला देखिन्छन् । सोचेजति कमाएर परिवार पाल्ने आसमा उनीहरू संगठित मानव तस्करको फन्दामा परेका देखिन्छन् ।’

Published on: 28 February 2021 | Kantipur

Link

Back to list

;