s

श्रमिक र व्यापारीलाई राहत दिन देउवाको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले श्रमिकका लागि तत्काल राहत घोषणा गर्न सरकारसँग माग गरेका छन् । दिनभर काम गरेर साँझ खाने वर्गलाई लकडाउनले सबैभन्दा बढी असर पुर्‍याएको उल्लेख गर्दै उनले शुक्रबार विज्ञप्तिमार्फत राहतका लागि आग्रह गरेका हुन । राहत सरकारले तोकेको न्यूनतम ज्यालादरभन्दा कम हुन नहुनेमा देउवाले जोड दिएका छन् ।

न्यून आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा तथा राजधानीलगायत सहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई राहत पुग्ने गरी योजना र कार्यक्रम ल्याउन पनि देउवाले माग गरेका छन् । पाँचबु‘दे विज्ञप्तिमा देउवाले लकडाउनलाई इमानदारीसाथ पालना गर्न समेत आह्वान गरेका छन ।

लकडाउनले खुद्रा व्यापारीदेखि ठूला व्यवसायीसम्मलाई असर पुर्‍याएको जनाउँदै उनले २० लाख रुपैयाँसम्म ऋण लिएका साना व्यवसायीलाई तीन महिनाको ब्याज मिनाहा गर्न र त्यसपछि निश्चित अवधिका लागि ब्याजदर घटाउन आग्रह गरेका छन् । ठूला व्यवसायीका लागि ऋणको ब्याजदर घटाउन र हालको किस्ता बुझाउने अवधि तीन महिनापछि सार्ने प्रबन्ध मिलाउन पनि अपिल गरेका छन् ।

देउवाले विज्ञप्तिमा पत्रकारलाई समेत राहत दिन माग गरेका छन् । ‘साप्ताहिकपछि दैनिक पत्रपत्रिका बन्द हुने स्थितिमा पुगेका छन् । सबै खाले सञ्चारमाध्यम र त्यसमा कार्यरत श्रमजीवी पत्रकारलाई राहत योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउ‘छु,’ उनले विज्ञप्तिमा भनेका छन् ।

कांग्रेस सभापति देउवाले स्वास्थ्यकर्मीले अझै पर्याप्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) नपाउनुलाई लज्जास्पद भनी टिप्पणी गरेका छन् । उनले पर्याप्त पीपीई, परीक्षण किट, आइसोलेसन वार्ड र भेन्टिलेटर तत्काल प्रबन्ध गर्न सरकारलाई आग्रह गरेका छन् ।

Published on: 27 March 2020 | Kantipur

Link

Back to list

;