s

श्रम स्वीकृति लिन रातिदेखि नै लाम

वैदेशिक रोजगार विभागले एकपटक विदेश गएर फर्केका कामदार फेरि उतै जाँदा पुनः श्रम स्वीकृति लिन पासपोर्टसहित आफैं उपस्थित हुनुपर्ने नियम कडाइका साथ लागू गरेपछि सोको लागि रातिदेखि नै लाम लाग्नुपर्ने अवस्था आएको छ।

रित पुर्‍याएर काम गर्न समय लाग्ने हुँदा कतिपय कामदार दिनभर लाम बसेर पनि बेलुका खालि हात फर्किरहेका छन्। बिहान सबेरै पुग्दा पनि काम गराउन नभ्याएपछि रातिदेखि नै लाम बस्ने क्रम सुरु भएको भुक्तभोगीले बताए। अचेल विभाग परिसरमा सेवाग्राहीको बाक्लो भिड देखिन्छ।

म्यानपावर व्यवसायी र विचौलियासँग टेबुलमुनिबाट पैसा लिएर प्रक्रियानै पूरा नगरी श्रम स्वीकृति दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका केही कर्मचारीलाई छानबिनको निम्ति पक्राउ गरेपछि विभागले पुनः श्रम स्वीकृति लिन पासपोर्टसहित कामदार उपस्थित हुनुपर्ने नियममा कडाइ गरेको हो। विभागमा यसका लागि पर्याप्त कर्मचारी नहुँदा सेवाग्राही मारमा परेका हुन्।

विभागको पछिल्लो कदमले कामदार ठगिने सम्भावना, 'अन्डरटेबल' लेनदेन र 'विचौलिया व्यवसाय' भने रोकिएको बताइन्छ। म्यानपावर व्यवसायी र एजेन्टले विभागका कर्मचारीसमेतको मिलेमतोमा तयार पारेको सेटिङमार्फत काम गर्दा भिडभाडको समस्या थिएन। एकैजनाले सयौं कामदारको पासपोर्ट लगेर श्रम स्वीकृति निकाल्थे। त्यसो गर्दा कामदारले विचौलियालाई निश्चित पैसा दिनुपर्थ्यो। कामदारले दिएको पैसा विभागका कर्मचारीसम्म पुग्थ्यो।

विदेशमा काम गरेर फर्केका कामदार फेरि विदेश जाँदा पुनः श्रम स्वीकृति लिनुपर्ने नियम छ। अहिले विभागमा दसैं बिदामा आएर फर्कने कामदारको संख्या बढी छ। विभागका महानिर्देशक विनोद केसीले विगतमा कामदार उपस्थित नहुँदा पनि काम हुने तर अहिले अनिवार्य उपस्थित हुनुपर्ने भएपछि भिड बढेको बताए। 'अहिले हामीले सम्बन्धित कामदार अनिवार्य उपस्थित हुनुपर्ने नियम कडाइका साथ लागू गरेका छौं। यसले पारदर्शिता पनि बढेको छ,' उनले भने, 'कामदारले एजेन्टलाई अनावश्यक कमिसन दिनु नपर्ने भएको छ।'

अहिले दैनिक १३ सय हाराहारीले पुनः श्रम स्वीकृति लिइरहेको विभागले जनाएको छ। नयाँ कामदार ६०/७० जना मात्रै हुने र पुनः जानेको भिड बढिरहेको महानिर्देशक केसीले जानकारी दिए।

बिहानै विभाग पुगेर लाम लाग्दा पनि काम नबनेपछि वरपरका होटलमा बास बसेर रातिदेखि नै लाम लागेको पुनः श्रम स्वीकित लिन आएका कामदारले बताए। मलेसिया जान म्याग्दी अर्थुंगेबाट आएका सुनिल सापकोटाले भिडका कारण दुई दिनसम्म श्रम स्वीकृति लिन नसकेपछि नजिकैको होटलमा बास बसेर रातिनै लाम लागेको बताए। 'दुई दिनसम्म श्रम स्वीकृति पाइएन, राति यतै होटलमा बसेर झिसमिसेमै लाइन बसेको,' बुधबार विभाग परिसरमा भेटिएका उनले नागरिकसँग भने।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि विभागले व्यवसायी, एजेन्ट र कर्मचारीको सेटिङ भत्काउन कामदार आफैं आउनुपर्ने नियममा लागू गरेको हो। महानिर्देशक केसी कामदारलाई दुःख दिने र ठग्ने नियतले व्यवसायी र एजेन्टले गर्ने कामलाई अहिले सरल र सहज बनाएको दाबी गर्छन्। उनका अनुसार भिडभाडको समस्या हटाउन हरेक देशका लागि छुट्टाछुट्टै काउन्टर बनाउने तयारी हुँदैछ। यसले कामदार र विभाग दुवैलाई सजिलो हुनेछ।

Published on: 31 October 2013 | Nagarik

Back to list

;