s

सोमबारदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली

सरकारले आउँदो सोमबारदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) सञ्चालनमा ल्याउने भएको छ । वैदेशिक रोजगारको क्षेत्रमा रहेको ठगीलाई नियन्त्रण गर्न तथा सरोकारवाला निकायबीच अनलाइनमार्फत नै सूचना आदान–प्रदान गर्ने उद्देश्यका साथ नयाँ प्रणाली विकास गरिएको वैदेशिक रोजगार विभागका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठले बताए ।

वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीलाई व्यवस्थित गर्ने कार्यमा प्रधानमन्त्रीका सल्लाहकार असगर अलीको प्राविधिक टिमले समेत सघाइरहेको छ । आन्तरिक परीक्षणका क्रममा रहेको उक्त प्रणालीमा राहदानी विभाग, अध्यागमन विभाग, विदेशस्थित कूटनीतिक नियोग, कन्सुलर सेवा विभाग र वैदेशिक रोजगार विभागको सर्भरलाई अन्तरआबद्ध (इन्ट्रिगेट) गरिएको छ ।

मागपत्र दूतावासबाटै केन्द्रीय सर्भरमा

सरकारले केही महिनाअघि रोजगार गन्तव्य मुलुकबाट कामदारको मागपत्र ल्याउँदा स्वयं रोजगारदाताले सम्बन्धित मुलुकमा रहेको कूटनीतिक नियोगमार्फत प्रमाणीकरण गर्नुपर्ने व्यवस्था लागू गरिसकेको छ । सूचना व्यवस्थापन प्रणालीअन्तर्गत नियोगहरूले प्रमाणीकरण गरेका मागपत्र अनलाइनबाट सोझै केन्द्रीय सर्भरमा आउने व्यवस्था मिलाइएको इन्जिनियर श्रेष्ठले बताए ।

यसअघि मागपत्र प्रमाणीकरणको उचित व्यवस्था नहुँदा म्यानपावरले झुटो विवरण तयार पारी कामदार ठग्दै आएका थिए । अब भने मागपत्र प्रमाणीकरण तथा अनलाइन प्रणालीले कामदार ठगिने सम्भावना न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । म्यानपावरले विभागको सूचना व्यवस्थापन प्रणालीको माध्यमबाट प्रमाणित मागपत्रकै आधारमा कामदार भर्ना प्रक्रिया सुरु गर्न सक्नेछन् ।

श्रम स्वीकृति पूर्ण अनलाइनमा

श्रम स्वीकृतिका लागि अनलाइन प्रणाली सुरु गरिएको भए पनि अहिले कागजपत्र वैदेशिक रोजगार विभागको श्रम कार्यालयमा बुझाउनुपर्ने झन्झटिलो व्यवस्था छ । तर, अब राहदानी विभागमा रहेको कामदारको पासपोर्ट नम्बर र जन्म मितिलगायतको विस्तृत विवरणमा कार्यालयको सोझै पहुँच हुनेछ । यसबाट गैरकानुनी तरिकाले वैदेशिक रोजगारीमा पठाउने प्रवृत्ति नियन्त्रण हुने वैदेशिक रोजगार विभागको दाबी छ ।

सम्बन्धित मुलुकबाटै पुनः श्रम स्वीकृति

रोजगार सूचना व्यवस्थापन प्रणालीको सुरुवातलगत्तै सरकारले सम्बन्धित गन्तव्य मुलुकबाट पुनः श्रम स्वीकृतिको व्यवस्था गर्ने तयारी थालेको छ । यसबाट वैदेशिक रोजगारीलाई निरन्तरता दिन चाहने कामदारले स्वदेश नै आउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

अनलाइनबाटै विदेशको रोजगार खोज्न सकिने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारको क्षेत्रमा आवश्यक जानकारी अनलाइनबाटै दिने ‘फरेन जब सर्च’ को व्यवस्था गर्दै छ । प्राविधिक तयारी पूरा भइसकेको पोर्टल सञ्चालनमा आउन केही समय लाग्ने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

विभिन्न मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगले प्रमाणीकरण गरेका मागपत्र वैदेशिक रोजगार विभागले पुष्टि गरेसँगै सोझै ‘जब पोर्टल’मा बस्नेछ । सोही आधारमा कामदारले आफूले चाहेको काम, मागपत्र ल्याउने म्यानपावरको विवरण र सञ्चालकको सम्पूर्ण जानकारी पाउन सक्छन् । जसले गर्दा कामदारले सोझै अनलाइन आवेदन तथा सम्बन्धित म्यानपावरसँग सम्पर्क गर्न सकिने र एजेन्टबाट ठगिने समस्याको अन्त्य हुने विभागका कम्प्युटर इन्जिनियर राजु श्रेष्ठको दाबी छ ।

Published On: 7 September 2018 | Naya patrika

Back to list

;