s

सोमबार नै नेपाल ल्याइने भनिएका ३४ नेपाली किन काबुलमै अड्किए ?

 पर्शुराम काफ्ले

 

काबुलमा अलपत्र ३४ नेपालीलाई उद्धार गरी स्वदेश ल्याउने विषयमा सरकार उदासीन देखिएको छ, दिल्लीस्थित नेपाली दूतावासले विगतमा जस्तै अहिले पनि काबुलमा अड्किएका नेपालीको उद्धारका लागि पहल गरिरहेको प्रतिक्रिया दिइरहेको छ

तालिवानले काबुल नियन्त्रणमा लिएको ४० दिनसम्म पनि त्यहाँ रहेका ३४ नेपालीको उद्धार हुन सकेको छैन । काबुलस्थित युएन कार्यालयको सुरक्षाप्रदायक कम्पनीले त्यहाँ सुरक्षामा खटिएका ८५ नेपाली र १७ भारतीयसँगै उनीहरूलाई पनि नेपाल फर्काउने बताउँदै आएको छ । तर, पटक–पटक उद्धारको मिति तोकेर पनि रद्द हुँदै आएको छ ।

काबुलस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरक्षाप्रदायक कम्पनी आइडिजीले सुरुमा २ असोजमा उद्धारको मिति तोकेको थियो, तर स्थगित गरेर गत सोमबारको मिति तोक्यो । इरानको महान एयरलाइन्सबाट तेहरान भएर उनीहरूलाई काठमाडौं ल्याउने तय भएको थियो । तर, उक्त मितिमा पनि उद्धार भएन । उडानको अर्को मिति निश्चित छैन । 

रामप्रसाद सुवेदी, उपनियोग प्रमुख, नयाँदिल्लीस्थित नेपाली राजदूतावास

केही प्राविधिक कारणवश उहाँहरू आउन ढिलाइ भयो, हामी सम्बन्धित सबै पक्षसँग समन्वय गरिरहेका छौँ र ३४ नेपालीको शीघ्र स्वदेश फिर्ताका लागि प्रयासरत छौँ । विभिन्न मोडालिटीमा ल्याउने विषयमा छलफल भइसकेको र चाँडै नै टुंगिन्छ ।

३४ मध्ये २९ जनाको भिसाको म्याद सकिएको र विलम्ब शुल्क मिनाहा गर्ने प्रक्रिया नटुंगिएकाले उद्धारमा ढिलाइ भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । त्यस्तै, दुईजनाको भिसा र पासपोर्ट दुवै भए पनि तीनजनाको कुनै डकुमेन्ट नभएको उनले बताए । ती तीनजनालाई काबुलबाट एकतर्फी नेपाल आउन दिल्लीस्थित राजदूतावासले ट्राभल डकुमेन्ट बनाएर पठाइसकेको छ ।

‘तीनजनाको ट्राभल अनुमतिपत्र पठाइसकिएको थियो, २९ जनाको ओभर स्टे (विलम्ब) शुल्कबारे निर्णय हुन बाँकी थियो, आइडिजीले नै यसबारे व्यवस्थापन भइसकेको भन्ने जानकारी दिएको छ,’ परराष्ट्रका ती अधिकारीले भने ।

उनीहरूमध्ये कोही डेढ वर्षअघि त कोही चार महिनाअघि रोजगारीका लागि दलालमार्फत काबुल पुगेका थिए । नेपालमा दलाललाई सात लाख बुझाएर गएका उनीहरूले काबुल पुगेपछि रोजगारी पाउने नाममा थप चारदेखि आठलाखसम्म अफगान दलाललाई बुझाएका थिए । तर, रोजगारी नपाएर बिचल्लीमा परेका उनीहरूको काबुल तालिवानको नियन्त्रणमा आएपछि झन् बिजोग भयो । अहिले युएनको क्याम्पमा सुरक्षित भए पनि रित्तो हातसमेत घर फर्किन नपाउँदा तनावमा रहेको उनीहरूले बताउने गरेका छन् । दिल्लीस्थित नेपाली राजदूतावासले भने उद्धारकै प्रयासमा रहेको जनाएको छ ।

‘केही प्राविधिक कारणवश उहाँहरू आउन ढिलाइ भयो, हामी सम्बन्धित सबै पक्षसँग समन्वय गरिरहेका छौँ र ३४ नेपालीको शीघ्र स्वदेश फिर्ताका लागि प्रयासरत छौँ,’ नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले भने, ‘विभिन्न मोडालिटीमा ल्याउने विषयमा छलफल भइसकेको र चाँडै नै टुंगिन्छ ।’

उनीहरू सबैलाई अब नयाँदिल्ली ल्याउने तयारी भएको छ । भारतीय विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघ, अफगान अधिकारी र काबुल विमानस्थलको व्यवस्थापन हेरेको कतारसँग समन्वय गरिरहेको छ । परराष्ट्र स्रोतका अनुसार अफगानिस्तानको काम एयरलाइन्सले दिल्लीमा उडान भर्न अनुमति मागेको छ । आइडिजीमार्फत अनुमति माग भएकोमा भारतीय पक्षले अनुमति दिने जवाफ दिइसकेको छ । यसका लागि समन्वय नेपाली राजदूतावासले गरेको छ । ‘नेपाली मूलका १७ जना भारतीय सुरक्षाकर्मी पनि दसैँ बिदामा आउनुपर्ने हुनाले भारतले पनि स्वाभाविक रूपमा चासो दिएको छ,’ परराष्ट्रका अधिकारीले भने, ‘भारतीयलाई दिल्लीसम्म ल्याउँदा हाम्रा मानिस पनि कम्तीमा दिल्लीसम्म आइपुग्छन् । दिल्ली आइसकेपछि उनीहरूलाई नेपाल ल्याउन कुनै कठिनाइ हुँदैन ।’

उद्धार भएर आउन लागेका ३४ जनामध्ये २२ नेपाली सेनाबाट र १२ भारतीय सेनाबाट सेवानिवृत्त भएकाहरू छन् । उनीहरू सुरुमा युएईको अबुधाबी हुँदै आउने तयारी थियो । तर, अबुधाबीमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने भएकाले इरान हुँदै चार्टर उडान भर्न लागिएको थियो । आइडिजीले नै ३४ जनाको पिसिआर परीक्षण गराएको थियो भने सबैको निगेटिभ रिपोर्ट आएको थियो ।

Published on: 26 September 2021 | Nayapatrika

Link

Back to list

;