s

सोमबार रातिसम्ममा २९८ नेपालीले युक्रेन छाडे

होम कार्की 

काठमाडौँ — द्वन्द्वग्रस्त युक्रेनबाट सोमबार रातिसम्ममा २९८ नेपाली सुरक्षित रुपमा बाहिरिन सफल भएका छन् । यस्तै रुसको हमालबाट त्रसित खार्किभ सहरमा फसेका तीन नेपाली पनि त्यहाँबाट निस्किएर सुरक्षित स्थानतर्फ लागेको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।

युक्रेन मामिला हेर्दै आएका नेपाली राजदूत रामकाजी खड्काका अनुसार सोमबार रातिसम्म २९८ नेपालीले युक्रेन छाडिसकेका छन् । जसमध्ये २ सय ३२ जना पोल्यान्ड, ३९ जना स्लोभाकिया, २३ जना रोमानिया र ४ जना हंगेरी पुगेका छन् । 

जर्मनको राजधानी बर्लिनस्थित नेपाली दूतावासका अनुसार मेडिकल अध्ययन गर्न पुगेका नेपालीले खार्किभ छोड्न सफल भएका छन् । उनीहरु रेल चढेर सुरक्षित स्थानतर्फ गइरहेका जनाइएको छ ।

‘खार्किभबाट चार जना नेपाली विद्यार्थीहरु सर्म्पकमा आउनुभएको थियो । तीन जना विद्यार्थीहरुले खार्किभ छोड्नुभयो । उहाँहरु सुरक्षित स्थानतर्फ गइसक्नुभएको छ,’ उनले भने, ‘एक नेपाली युवतीले भने छोड्नु भएको छैन । उहाँ भारतीय विद्यार्थीहरुसँगै सुरक्षित हुनुहुन्छ ।’ उनलाई भारतीय विद्यार्थीसँगै उद्धारको तयारी भइरहेको पनि राजदूत खड्काले बताए ।

रूसले फागुन १२ गते युक्रेनमाथि आक्रमण गरेदेखि उनीहरु खार्किभ छोड्न सकिरहेका थिएनन् । मंगलबार बिहान खार्किभमा एक भारतीय विद्यार्थी मारिएको भारतले जनाएको छ । 

हालसम्म दूतावाससँग भने २ सय ५८ जनामात्रै सर्म्पकमा पुगेका छन् । दूतावासको सर्म्पकमा भएकामध्ये अझै ४० जना नेपालीहरु युक्रेनको सीमामा रोकिएका छन् । ‘सीमामा रोकिएकाहरुलाई प्रवेश दिनको लागि व्यक्तिगतरुपमै पत्र पठाइरहेका छौं,’ राजदूत खड्काले भने, ‘त्यो पत्र देखाएर उनीहरुलाई युक्रेनको सीमा छोड्न सहज हुन्छ ।’

Published on: 2 March 2022 | Kantipur

Link

Back to list

;