s

स्वदेशमै रोजगार दिन ‘हरित रोजगार कार्यक्रम’ लागू हुने

नेपाली युवालाई विदेशिनबाट रोकी स्वदेशमै उद्यमी बनाउने उद्देश्यले ‘हरित रोजगार कार्यक्रम लागू’ हुने भएको छ। दलित उपभोक्ता समूह, प्राकृतिक स्रोतका लागि दलित अधिकार मञ्च (डानार) र सहयात्रा फाउण्डेशन नेपाललगायतका ७ संस्थाको सहकार्यमा उक्त कार्यक्रम लागु हुन लागेको हो।

आयोजक संस्थाहरुका अनुसार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ बाट सुरु भई नेपालको ७ वटै प्रदेशका सामुदायिक वनहरुमा यो कार्यक्रम पुग्नेछ। योजनाको सुरुवाती चरणमा अछाम, कालिकोट, नवलपरासी, तनहुँ र काठमाडौँको बुढानिकण्ठमा लागू हुनेछ। कार्यक्रममा बोल्दै डानारका संस्थापक अध्यक्ष सुनिलकुमार परियारले योजनाबाट एक ब्यक्तिले प्रति महिना कम्तिमा पाँच हजार रुपैयाँ कमाउन सक्ने गरि कार्यक्रमको अवधारणा बनाइएको बताए। उनले सामुदायिक बनको खाली जग्गालाई सदुपयोग गरी रोजगार बढाउने संगठनको उद्देश्य रहेको बताए।

बुढानिलकण्ठ क्षेत्रमा भएका क्लब, बैंकिङ्ग क्षेत्र, फाईनान्स, धनाढ्य ब्यापारी, उपभोक्ता समूह, महिला समूह आदीलाई परिचालन गर्दै एक घरको कम्तिमा दुई जनालाई रोजगारी उपलब्ध गराउने आफुहरुको लक्ष्य रहेको उनको भनाई छ। जसमा एक महिला र एक पुरुष रहने उनले खुलाए । आफ्नै घरमा बसेर महिनाको ५ हजार तलब पाउने सुनिश्चित गर्नु चानचुने कुरा होइन। हरित रोजगार सम्मेलन गरी लगानीकर्ता, दातृ निकायलाई हरित रोजगारीका क्षेत्रमा लगानी गर्न उत्प्रेरित गर्नु आफुहरुको उद्देश्य रहेको उनको भनाई छ। कार्यक्रममा बोल्दै कुशल सरोकारले वन, कृषिका लागि गाई फार्म, फूलखेती फार्म, माछापालनको फार्महरु निर्माण गरी रोजगारी दिने बारेमा सम्मेलनमा छलफल गरिने र खाली जग्गामा हरित रोजगारीका सम्भावनाहरुको खोजी गरी उपयोग गरिने बताए।

‘प्रत्येक वर्ष दशैं र तिहारमा करोडौ रुपैयाँ बराबरको सयपत्रि तथा मखमली फूलहरु भारतबाट भित्रिन्छ’ उनले भने ‘त्यो पैसालाई स्वदेशमै रोक्न र स्थानीयलाई पुर्ण रोजगार बनाउन कार्यक्रमले सघाउ पुग्छ।’ खाली सामुदायिक वनमो बाँस, निगालो, अमृसो तथा अन्य खेती गर्न सकिने बताउँदै उनले अदुवा, केरा, फुल आदि लगाउन चाहेमा पनि प्रक्रिया सहज गरिने बताए। कार्यक्रममा बोल्दै युएनका प्रतितिधि तथा वनविज्ञ शम्भु चर्माकारले यस्ता कार्यक्रमबाट खाली भएका जमिनहरु उपयोग हुने र सर्वसाधारणलाई समेत लाभ मिल्ने बताए।

Published on: 3 June 2019 | Setopati

Back to list

;