s

स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्छौँः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास गर्न रोजगारीको अवसर स्वदेशमै सिर्जना गर्नुपर्ने बताएका छन्। राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा श्रम गर्न रुचाउने जनता भएको बताउँदै आकर्षक रोजगारीको सिर्जना गर्नुपर्ने बताए।

‘श्रम गर्न रुचाउने जनता भएको देश हो हाम्रो। वैदेशिक रोजगारीमा पनि इमान्दारिताको कारण नेपाली कामदारहरु छनोटमा पर्छन्’, उनले भने, ‘रोजगारी मात्रै होइन, आकर्षक रोजगारीको सिर्जना गर्नुपर्छ।’प्रधानमन्त्री ओलीले बेरोजगार उत्पादन गर्ने शिक्षालाई परिमार्जन गर्नु पर्ने बताए। उनले शैक्षिक प्रमाणपत्र समस्या बन्न नहुने बताए।दुई तिहाइको जनसङ्ख्या परम्परागत कृषिमा अल्झिएको बताउँदै उनले कृषि आधुनिकीकरणमा जोड दिए। सानो सानो खेतीबाट अन्तर्राष्ट्रिय बजारमा उत्पादन पुर्याउन नसकिने बताउँदै उनले ठूलो स्केलमा उत्पादन गर्नु आवश्यक रहेको बताए।

‘सानो सानो टुक्रा जमिन छ। सानो स्केलमा उत्पादन छ’, ओलीले भने, ‘ अलिकति करेला, घिरौला, अदुवा रोप्यो, बिक्रि गर्न सक्दैनौँ’ यसलाई परिमार्जन गरेर ठूलो स्केलमा आधुनिक कृषि फर्म सुरु गर्नुपर्छ।’स्थानीय तहले कुनै सिप सिकाउनुभन्दाअघि रोजगार अभावको क्षेत्र, सम्भावित व्यवसायिक क्षेत्र तथा त्यसका लागि आवश्यक जनशक्ति पहिचान गर्न आवश्यकता रहेको उनले औँलाए। श्रम बजार हेरेर सिप प्रदान गर्न नसकिए सिप काम नलाग्ने उनले बताए। प्रधानमन्त्री ओलीले आफूले सरकार छोड्दा बेरोजगारीको समस्या धेरै हदसम्म हल गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गरे।

Published on: 30 June 2019 | Setopati

Back to list

;