s

स्वदेश फर्किएका युवा सरकारी योजनाबाट उत्साहित

सविता शर्मा
 
बैदेशिक रोजगारीबाट फर्किएका कतिपय युवा पुनः नफर्कने गरी स्वदेशमै सङ्गठित हुन थालेका छन् । युवालाई स्वदेशमै रोक्ने प्रयासस्वरुप सरकारले वैदेशिक रोजगारीबाट फर्केकालाई लक्ष्यित गरी ल्याएको कार्यक्रमसँगै युवा स्वदेशमै सङ्गठित हुन थालेका हुन् । 
 
चालू आर्थिक वर्षको बजेटमा बैदेशिक रोजगारबाट फर्किएकालाई व्यवसाय सञ्चालनका लागि १० लाख रुपियाँसम्मको कर्जा दिने व्यवस्था गरिएको थियो । बजेटमा भएको त्यस व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ मा वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई समेटिएको छ । 
 
विदेशबाट फर्केका युवालाई उनीहरूको ज्ञान तथा सीपसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा लिई बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने व्यवस्था मिलाइएको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट सञ्चालन हुन लागेको यो कार्यक्रममा आवेदन दिनेको सङ्ख्या साढे सात हजार पुगिसकेको छ । 
 
त्यसैगरी बोर्डबाटै वैदेशिक रोजगारीका क्रममा विभिन्न सीप सिकेर प्रमाणपत्र नभएका युवाको सीप परीक्षण गरी प्रमाण पत्र दिने कार्यक्रम पनि सुरु गरिएको छ । सरकारले वैदेशिक रोजगारीको क्रममा विभिन्न सीप आर्जन गरी स्वदेश फर्केका युवाको सीप परीक्षणको व्यवस्था मिलाएको हो । पहिलोपटक सुरुभएको यस कार्यक्रमले वैदेशिक रोजगारीमा सिकेको सीप परीक्षणमा उत्तीर्ण हुनेलाई सम्बन्धित सीपको प्रमाणपत्रसमेत दिनेछ । यस कार्यक्रममा यस वर्ष एक हजार युवाको सीप परीक्षण गर्न लागिएको हो । 
 
सङ्गठन विस्तारको क्रममा देश दौडाहामा रहेको जानकारी दिँदै रिटर्नी माइग्रेन्ट नेपालका महासचिव लक्ष्मीप्रसाद आचार्यले भन्नुभयो,“साङ्गठनिक अभियानमा बाहिर दौडिरहेका छौं, सञ्जाल विस्तार गर्ने क्रम चलिरहेको छ । धेरै साथीहरू सङ्गठित हुनका लागि आतुर हुनुभएको छ । हामी फोन धान्नसमेत सकिरहेका छैनौं ।” 
 
बैदेशिक रोजगारीबाट फर्किसकेका मात्र नभएर फर्कन चाहनेहरू पनि निकै उत्साही भइरहेको चर्चा गर्दै महासचिव आचार्यले भन्नुभयो,“सरकारले सहजरुपमा बाटो खोलिदिनु निकै सकारात्मक र महत्वपूर्ण पक्ष हो, धेरै साथीहरुले के गर्नुपर्छ हामी तुरुन्तै फर्कन चाहन्छौं भनिरहनुभएको छ, १० हजारभन्दा बढी युवा हाम्रो सम्पर्कमा आउनुभएको छ, सबैजना एमदमै उत्साही हुनुहुन्छ ।” 
 
वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकबाट स्वदेश फर्किएका नेपालीहरुलाईएकीकृत गरी उनीहरूको समस्या र सम्भावनालाई राज्यको नीति, कार्यक्रम र योजनासंँगै जोड्ने उद्देश्यका साथ रिटर्नी माइग्रेन्ट नेपाल संस्था स्थापना भएको हो । यसले वैदेशिक रोजगारीबाट फर्किएकाहरूको केन्द्रमा राष्ट्रिय भेला र प्रदेशमा पनि भेलाहरु आयोजना गरिरहेको छ भने जिल्लामा जिल्ला संयोजकहरू तोक्ने काम गरिरहेको महासचिव आचार्यले जानकारी दिनुभयो । 
 
स्वदेश फर्केकाको सीप, अनुभव र पुँजीलाई राज्यको समृद्धि प्राप्ति र स्वयं व्यक्तिको आर्थिक विकासमा टेवा पुर्याउन संस्थामार्फत्सङ्गठित भइरहेको रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले जानकारी दिनुभयो । संस्थामार्फत् प्रदेश–३ मा शीत भण्डार निर्माण र एग्रो टुरिजममा आवश्यक सहकार्य गर्नका लागि छलफल र प्रक्रिया अगाडि बढाउन पहल गरिएको जानकारी दिँदैअध्यक्ष उत्तम अधिकारीलेसङ्घीय, प्रदेश सरकारहरूलगायत स्थानीय तहसँग मिलेर काम गर्ने वातावरण बनाउन पनि पहल भइरहेको बताउनुभयो । 
 
बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको विशेष पहलमा बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई पुनःस्थापना कार्यक्रम ल्याइनुपर्ने सम्बन्धमा पनि पहल सुरु भएको जानकारी दिँदै अध्यक्ष अधिकारीले भन्नुभयो,“विदेशबाट फर्किएका तर आफ्नै पूँजी लगानी गर्न नसकेर भौतारिएका श्रमिकलाई सीप र क्षमताअनुसारको रोजगारीको व्यवस्था गर्नहामीले छलफल र परामर्श गरिरहेका छौं ।” महासचिव आचार्यले भन्नुभयो,“घर÷घडेरीलगायत भौतिक सुविधाका लागि मात्र भइरहेको पुँजीलाई लगानी र उत्पादनमा जोड्न खोजिरहेका छौं । पुँजीलाई एकीकृत गरेर लगानी गर्ने सोचमा छौं ।”
 
Published on: 8 January 2019 । Gorkhapatra

Back to list

;