s

सिरियालीलाई 'अन अराइभल भिसा' नदिने तयारी

शम्भु कट्टेल
 
फ्रान्समा भएको आतंकवादी हमला र सिरियामा जारी गृहयुद्धबाट प्रताडित नागरिकहरू शरणार्थीका रूपमा अन्य मुलुक जाने क्रम बढेपछि सरकारले सिरियाली नागरिकलाई दिँदै आएको आगमन प्रवेशाज्ञा (अन अराइभल भिसा) दिने प्रक्रिया रद्द गर्ने भएको छ। 
 
एक साताअघि फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी हमला र सिरियामा बढेको विश्व आतंकवादी सञ्जाल आईएसले अन्यत्र गतिविधि बढाउन सक्ने सम्भावित सुरक्षा चुनौतीको आकलन गर्दै सरकारले सिरियाली नागरिकलाई दिँदै आएको अन अराइभल भिसा रद्द गर्न लागेको हो।
 
गृह मन्त्रालयले सिरियाली शरणार्थीको भेषमा आतंकवादीसमेत प्रवेश गर्न सक्ने भएकाले त्यसको कडाइ गर्न सिरियालीलाई अन अराइभल भिसा नदिने तयारी गरेको हो।आईएसले सिरिया र इराकलाई आधारइलाका बनाएर आफ्नो प्रभाव फैलाउन खोजिरहेको छ। 
 
सिरियाली नागरिकले युरोपेली मुलुक छिर्न नेपाललाई ट्रान्जिट बनाउन थालेपछि अध्यागमनले सिरियाली नागरिकलाई अन अराइभल भिसा दिन नहुने प्रस्ताव गृह मन्त्रालयलाई पठाएको छ।
 
गृह मन्त्रालयका शान्तिसुरक्षा महाशाखाका प्रमुख लक्ष्मीप्रसाद ढकालको अध्यक्षतामा अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने र सुरक्षा निकायका अधिकारीबीच मंगलबार भएको बैठकले सिरियाली नागरिकलाई दिइँदै आएको अन अराइभल भिसा प्रक्रिया रद्द गर्ने प्रस्ताव पारित गरेको थियो। बैठकले उक्त प्रस्ताव मन्त्रीसमक्ष निर्णयार्थ पेस गर्नेछ।
 
गृह प्रवक्तासमेत रहेका ढकालले कूटनीतिक विषय भएकाले यसबारे परराष्ट्र मन्त्रालयसँग सल्लाह गरेर निर्णय लिने बताए। नेपालमा आईएसको प्रभाव नभए पनि सिरियाली शरणार्थीहरू बढ्न सक्ने र शरणार्थीको भेषमा आतंकवादीसमेत प्रवेश गर्न सक्ने भएकाले सिरियालीहरूको नेपाल प्रवेशमा कडाइ गर्न लागेको गृह स्रोतले बतायो।
 
त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले सिरियाली नागरिकलाई अध्यामगन डेस्कमै आगमन भिसा दिँदै आएको छ।अध्यागमन विभागका महानिर्देशक न्यौपानेले सिरियाली शरणार्थीहरूको नेपाल प्रवेशमा कडाइ गर्नका लागि उनीहरूलाई दिँदै आएको आगमन प्रवेशाज्ञा रद्द गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाइएको बताए।
 
उनले भने, 'सिरियाली शरणार्थी प्रवेश नगरून् र मुलुकको समग्र सुरक्षालाई ध्यानमा राखेर अध्यागमनले यस्तो प्रस्ताव गरेको हो।' विभागले नाइजेरिया, स्वाजिल्यान्ड, लाइबेरिया, प्यालेस्टाइन, घाना, क्यामरुन, अफगानिस्तान, जिम्बावे, सोमालिया, इथियोपिया र इराक गरी ११ मुलुकका नाकरिकालाई आगमन भिसा प्रदान गर्दैन। 
 
तत्कालीन गृहसचिव सूर्यप्रसाद सिलवालको संयोजकत्वमा एक वर्षअघि बसेको सुरक्षा बैठकले इरान, सिरिया, इराकलगायतका नागरिकहरूको नेपाल प्रवेशलाई निगरानीमा राख्ने निर्णय गरेको थियो।
 
पेरिसमा भएको आतंकवादी आक्रमणपछि गृह मन्त्रालयले सुरक्षा संयमता अपनाउँदै सिरियालीहरूको नेपाल प्रवेशमा कडाइ गर्ने लागेको हो। अध्यागमन विभागले विगत दुई वर्षमा नक्कली राहदानीमा नेपाल भित्रिएका २४ जना सिरियालीलाई कारबाही गरेको छ।
 
Published on: 25 November 2015 | Annapurna Post
 

Back to list

;