s

सीप सिक्ने मान्छे नपाएर हैरान

रुद्र खड्का

वैदेशिक रोजगारीको क्रममा समस्यामा पर्ने क्रम वृद्धि भइरहेको बेला पीडितलाई सहयोग गर्न खोज्दा चासो राख्नेको संख्या भने निकै कम हुने गरेका छन् । रोजगारीको क्रममा विदेशमा ज्यान गुमाएका, बिरामी परेका तथा अंगभंग भएका व्यक्तिका परिवारलाई सहयोग गर्न खोज्दा न्यून संख्याले मात्र चासो देखाएका छन् । जसले गर्दा पीडित परिवारलाई कसरी सहहयोग पु¥याउने भन्दै सरोकारवाला निकायलाई आश्चर्यचकित बनाएको छ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले रोजगारीको क्रममा विदेशमा ज्यान गुमाएका तथा अंगभंग भएका व्यक्तिका सन्तान वा पत्नीलाई पहिलोपटक निःशुल्क प्राविधिक शिक्षा दिलाउन खोजे पनि निकै कम मात्रले चासो राखेका हुन् । बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु तथा अंगभंग भई बोर्डबाट आर्थिक सहायता लिएका व्यक्तिका आफन्तलाई लक्षित गरी पहिलोपटक एक सय २० जनालाई प्राविधिक शिक्षा दिने तयारी गरेपनि १७ जनाले मात्र दरखास्त दिएको बोर्डका अधिकृत सन्तोष घिमिरेले बताए।
 
‘वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउने र अंगभंग हुनेको संख्या वृद्धि हुँदै गइरहेकाले ठूलो संख्याको निवेदन पर्ने अनुमान गरेका थियौं,’ उनले भने, ‘तर दरखास्त बुझाउने मिति गुज्रिदासम्म १७ जनाले मात्र निवेदन दिए ।’ दरखास्त बुझाउने अवधि गुज्रिदासम्म १७ जनाले मात्र निःशुल्क प्राविधिक शिक्षाका लागि निवेदन दिएपछि पुनः अर्को सूचना जारी गरेको  र जसको अवधि फागुन १६ गतेसम्म राखिएको घिमिरेले जानकारी दिए।
 
बोर्डले पहिलोपटक वैदेशिक रोजगारीको क्रममा निधन र अंगभंग भएका व्यक्तिका परिवारलाई सघाउ पु¥याउने उद्देश्यले आवाससहितको निःशुल्क प्राविधिक शिक्षा दिने निर्णय गरेको हो । बोर्डले तीन वर्षे नर्सिङ, बाली विज्ञान र मेकानिकल ओभरसियर अध्ययन गर्न चाहनेका लागि सूचना जारी गरेको थियो।
 
निर्धारित समयसम्म निवेदन दिनेमा १५ जना नर्सिङ र एक/एक जना बाली विज्ञान र मेकानिकल ओभरसियर अध्ययनका लागि छन् । जबकि बोर्डले तीन वटा विषयमा ४० जनाका दरले एक सय २० जना पीडितका सन्तान या पत्नीलाई आवासहितको निःशुल्क शिक्षा दिने तयारी गरेको छ।
 
तीन वटै विषय अध्ययनका लागि एसएलसी उत्तीर्ण भए हुन्छ । बोर्डले छनोट गरेका विद्यार्थीलाई सिटिइभिटीबाट मान्यताप्राप्त शिक्षण संस्थामा अध्ययन गर्न सकिने व्यवस्था मिलाएको छ । आफ्नै रकम खर्च गरेर अध्ययन गर्ने हो भने आवाससहित करिब ५ लाख रुपैयाँ लाग्ने बताइने ती कोर्ष अध्ययनका लागि निकै कमको चासो हुनुलाई कतिपयले सम्बन्धित व्यक्तिसमक्ष सूचना नपुगेको ठानेका छन्।
 
‘वैदेशिक रोजगारीको क्रममा पीडित भएका धेरैजसो गाउँमा बस्ने र उनीहरूले बोर्डद्वारा जारी गरिएको सूचना थाहा नपाएको ठानेरै निवेदन दिने अवधि पुनः थप गरेका हौं,’ घिमिरेले भने, ‘अब गाउँघर लक्षित सूचना सार्वजनिक गर्नुपर्ने भएको छ ।’ बोर्डका अनुसार वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउने,  अंगभंग र बिरामी पर्नेको संख्या करिब १० हजार हाराहारी पुगेको छ।
 
दुई सयलाई पेशागत तालिम
 
पहिलोपटक एक सय २० जनालाई आवासीयसहित निःशुल्क तीन वर्षे प्राविधिक शिक्षा दिने तयारी गरेको बोर्डले दुई सय जनालाई पनि पेशागत तालिम दिने बताएको छ । प्राविधिक शिक्षाका लागि एसएलसी उत्तीर्ण भएको हुनुपर्ने छ भने पेशागत तालिममा सहभागी हुन सामान्य लेखपढ गर्न सक्ने भए हुन्छ । एक वर्षे पेशागत तालिमका लागि मोटरसाइकल मेकानिक्स, वोल्डर, पलम्बर, कुक र आलमुनियम कार्पेन्टर तोकिएको छ।
 
घिमिरेले पेशागत तालिममा सहभागी हुनेका लागि सूचना जारी हुने क्रममा रहेको बताए  । बोर्डका अधिकारीले प्राविधिक शिक्षा र पेशागत तालिमको माध्यमबाट एकातिर वैदेशिक रोजगारीको क्रममा पीडित भएका सन्तानलाई सीप सिकेर गुजारा चलाउन सहज हुने ठानेका छन् । हाल वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार सीप नसिकेका हुने र जसले गर्दा उनीहरू समस्यामा पर्ने गरेको पाइन्छ।
 
केन्द्रीय तथ्यांक विभागका अनुसार वैदेशिक रोजगारीमा जानेमध्ये करिब ७५ प्रतिशत अदक्ष हुने गरेका छन् । हाल श्रम स्वीकृति लिएर बर्सेनि सरदर चार–पाँच लाख युवायुवती वैदेशिक रोजगारीमा जाने गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष नयाँ श्रम स्वीकृति लिएर चार लाख १८ हजार र पुनः श्रम स्वीकृतिसहित साढे ६ लाख युवायुवती वैदेशिक रोजगारीमा गएका थिए।
 
वैदेशिक रोजगारीमा गएकामध्ये कतिपय एसी चलाउन नजानेर, कतिपय ट्राफिक नियम थाहा नपाएर जस्ता सामान्य जानकारीको अभावमा ज्यान गुमाउन बाध्य हुने गरेको पाइन्छ।
 
Published on: 20 February 2018 | Nagarik

Back to list

;