s

सीप सिकेर स्वरोजगार बन्ने सपना

नेत्र शाही

जुम्ला, फागुन ९ गते । तातोपानी गाउँपालिका–४ ले छ महिने होजियारी तालिम आयोजना गरेपछि अहिले बेरोजगार महिला सीप सिक्नमा व्यस्त छन् । उहाँहरू अहिले स्वेटर, टोपी, मफलर, मोजा बनाउन थाल्नुभएको छ । अहिले यहाँका महिला बिहान ६ देखि १० बजेसम्म र बेलुकी ६ देखि १० बजेसम्म होजियारी सीप लिइरहेका छन् । बिजुलीको व्यवस्था हुन नसकेकाले उहाँहरू दिउँसो घरायसी काम गर्नुहुन्छ । “हामी गाउँले बेरोजगार छौँ । यो कामले निकै राम्रो गरेको छ । अब गाउँमा एक उद्योग दर्ता गरेर व्यावसायिक रूपमा अगाडि बढ्ने लक्ष्य रहेको छ,” जुम्लाको तातोपानी गाउँपालिका–३ की तिलनदेवी कामीले भन्नुभयो ।

वडाध्यक्ष विशाल खड्काले अन्य रोजगारीको अवसर नभएपछि होजियारी उद्योग सञ्चालन गरेर यहाँका महिलाको आयआर्जनमा सहयोग पुग्ने ठहर गरेर तालिम आयोजना गरेको बताउनुभयो । अहिलेसम्म यहाँ बासिन्दा सरकारी कर्मचारी हुन नसकेको जानकारी दिँदै खड्काले भन्नुभयो, “यो वडाको सबैभन्दा दुर्गम गाउँ भनेको हियाखोला हो । अब यो गाउँलाई रोजगारी सिर्जना गर्ने गाउँका रूपमा स्थापित गर्ने लक्ष्य राखेका छौँ । होजियारी उद्योगका माध्यमबाट मात्र यो सम्भव छ।”

वडा कार्यालयले यहाँका बेरोजगारलाई रोजगारीको अवसर दिन विभिन्न उपाय अवलम्बन गरेको छ । वडाध्यक्ष खड्काले भन्नुभयो, “पहिलो चरणमा यहाँका महिलाले होजियारी सिक्दै छन् । सीप सिकेर कपडा तयार गर्ने अवस्था भएको खण्डमा बजारीकरणको व्यवस्थापनका लागि लाग्नेछौँ । यहाँ उत्पादित कपडा देश विदेशमा जाने वातावरण सिर्जना हुनेछ।”

होजियारी तालिमका लागि गाउँपालिकाले १५ लाख रुपियाँ विनियोजन गरेकोे छ तर यसले खर्च नपुग्ने खड्काले बताउनुभयो । सीप सिकेपछि होजियारी उद्योग स्थापनाका लागि पनि सहयोग आवश्यक रहेको उहाँको धारणा छ । “प्याकेजिङ र सिलाइ गर्ने ठाउँ फरक चाहिने रहेछ । अब उद्योगको भौतिक संरचना निर्माणमा जोड दिनेछौँ, यसका लागि थप सहयोग आवश्यक पर्ने देखिएको छ,” उहाँले भन्नुभयो।

Published on: 21 February 2022 | Gorkhapatra

Link

Back to list

;