s

सीप र तालिमको बजेट फिर्ता

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ८ गते । कोरोनाका कारण स्वदेश वा विदेशमा रोजगारी गुमाएकालाई लक्षित गरी सरकारले गर्न लागेका सबै सीप र तालिमका कार्यक्रम कोरोनाकै कारण प्रभावित भएका छन् । कोरोनाका कारण रोजगारी गुमाएका विपन्न परिवारलाई चालू आर्थिक वर्ष २०७७/७८ मा प्राथमिकतामा पारेर व्यवसायी सीप तालिम दिने भनिएका सबै कार्यक्रम कोरोनाका कारण प्रभावित भएका हुन् ।

सरकारले चालू आवमा कम्तीमा पनि ५० हजार जनालाई व्यवसायी तालिम दिएर रोजगार बनाउने उद्देश्यसाथ छुट्याइएको चार अर्ब ३४ करोड रुपियाँ बजेट फिर्ता भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आवको बजेटमार्फत नै प्राथमिकता दिएर रोजगारी गुमाएका श्रमिकलाई सीप रूपान्तरण गरी उत्पादन, सेवा, हस्तकला, प्लम्बिङ, सिलाइ–कटाइलगायतका तालिम दिएर रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको थियो ।

श्रम मन्त्रालयका सहसचिव दीपक काफ्लेले व्यवसायी सीप र तालिमका कार्यक्रम सञ्चालनका कार्ययोजना तय गरी तालिमको तयारी हुँदासमेत कोरोनाका कारण गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले सबै सीप र तालिम भौतिक उपस्थितिमा वा कतिपय आवासीय सुविधासहितका तालिम भएकाले यो वर्ष यस कार्यक्रममा १० प्रतिशत पनि उपलब्धि प्राप्त गर्न नसकेको बताउनुभयो ।

सरकारले सञ्चालन गर्ने भनेका सीप र तालिम मन्त्रालयको आफ्ना कारणले भन्दा पनि कोरोना भाइरसबाट हुने स्वास्थ्य जोखिमका कारण सञ्चालन गर्न नसकिएको भन्दै सहसचिव काफ्लेले ‘यस कार्यक्रमका लागि छुट्याइएको सबै बजेट फ्रिज भयो ।

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा पनि एक लाख व्यक्तिलाई छोटो अवधिका सीप तथा तालिम प्रदान गर्न ४० करोड बजेट विनियोजन गरेको छ । विदेशबाट फर्किएका र देशभित्रै रोजगारी गुमाएकालाई हस्तकला, बिजुली मर्मत, ब्युटिसियन, सिलाइकटाइलगायत विभिन्न सीपमूलक तालिम प्रदान गर्न उक्त बजेट विनियोजन गरिएको हो ।

राष्ट्रिय योजना आयोगको अध्ययनअनुसार आठ लाखले स्वदेशको श्रमबजारबाट रोजगारी गुमाएका छन् भने झन्डै साढे चार लाखले विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका छन् ।

आयोगका अनुसार कोरोनाका कारण स्वदेश वा विदेशमा रोजगारी गुमाउने झन्डै १३ लाख, मौजुदा बेरोजगारको सङ्ख्या नौ लाख र प्रत्येक वर्ष श्रमबजारमा थपिने नयाँ पाँच लाख गरी कुल २७ लाख बेरोजगार छन् ।

Published on: 22 June 2021 | Gorkhapatra

Link

Back to list

;