s

सीप र रोजगारी वृद्धि गर्न तालिम केन्द्र विस्तार गरिने

गोरखापत्र समाचारदाता 

काठमाडौँ, मङ्सिर २८ गते । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र सातवटै प्रदेशमा विस्तार गर्ने तयारी भएको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भैँसेपाटी, ललितपुरमा पुनर्निर्मित भवन सोमबार उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सो जानकारी दिनुभएको हो । 

मन्त्री श्रेष्ठले स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्न तथा नयाँ श्रमशक्तिका लागि पर्याप्त रोजगारी सिर्जना गर्न सीप तथा उद्यमशीलता अभिवृद्धिका लागि तालिम केन्द्र सबै प्रदेशमा विस्तार गर्न लागेको बताउनुुभयो । उहाँले उत्पादनशील रोजगारीका अवसर अभिवृद्धि गरी नागरिकको जीवनस्तरमा सुधार, उच्च र दिगो आर्थिक विकासका लागि व्यावसायिक तथा सीप विकास तालिम केन्द्र तत्कालै प्रदेशस्तरमा लगिने र क्रमशः आवश्यकताका आधारमा स्थानीय तहसम्म विस्तार गर्ने तयारी गरेको पनि जानकारी दिनुभयो । उहाँले वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रणका लागि छट्टै संयन्त्र निर्माण गर्न लागिएको पनि जानकारी दिनुभयो । वैदेशिक रोजगारीबाट आर्जन भएको सीप, प्रविधि र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा प्रोत्साहन गर्ने सरकारको नीति रहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले नयाँ भवन निर्माण भएपछि तालिम तथा विभिन्न किसिमका परीक्षा सञ्चालन गर्न सहज हुने बताउनुभयो । २०७२ सालमा गएको भूकम्पका कारण भत्केको व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भैँसेपाटी, ललितपुरको भवन नौ करोड २४ लाख रुपियाँ लागतमा निर्माण भएको हो ।

Published on: 14 December 2021 | Gorkhapatra

Link

Back to list

;