s

सीप नभई बिदेसिनुका दुःख

अमृता अनमोल

‘१ ८–१८ वर्षसम्म विदेश बसें । न सीप थियो न राम्रो पढाइ । राम्रो कमाउन पनि सकिनँ । हाडछाला घोटीघोटी काम गरें । थोरैथोरै कमाएर भए पनि पुर्ख्यौली ऋण तिरें । विकट पहाडी गाउँको परिवार बजारमा झारें । सानोतिनो घर बनाएँ । छोराछोरी पढाएँ । तर परिवारलाई खोजेजति सम्पत्ति र खुसी दिन सकिनँ । अहिले न आफूसित उमेर छ, न पैसा न त परिवारको माया छ । धिक्कार छ, मलाई !’

मंसिर १३ मा रूपन्देहीको कञ्चन गाउँपालिकाका एक व्यक्तिले लेखेको सुसाइड नोट हो यो । ४५ वर्षीय उनले विष खाई आत्महत्या गरेका थिए । धेरैपछि मात्रै परिवारजनले यो नोट भेटे, जसले वैदेशिक रोजगारीमा जाने अदक्ष मजदुरको दुःख चित्रित गरेको छ ।

वैदेशिक रोजगारी सहज छैन । तर, पछिल्लो समय हरेकजसो घरबाट युवाहरू वैदेशिक रोजगारीमा गएका छन् । सीपबिना वैदेशिक रोजगारीमा गएका अधिकांशको अवस्था राम्रो छैन । न त्यहाँ उनीहरूले राम्रो सुविधा पाउँछन्, न त कमाएको रकमले यहाँ उनीहरूको आर्थिक अवस्था सुध्रिएको छ । धेरैजसोको कमाइ अनुत्पादक क्षेत्रमै खर्च भएको छ । त्यही कारण केही समयका लागि भनेर वैदेशिक रोजगारीमा गएका युवा उर्वर समयभर उतै अल्झिरहेका छन् । काम गर्न नसक्ने भएपछि घर फर्के पनि परिवारमा समायोजन हुन सकस परिरहेको छ । पारिवारिक समायोजन नभएकै कारण कलह, किचलो हुँदै सम्बन्धविच्छेद र आत्महत्यासम्मका घटना भएका छन् । यस्तो समस्या सीपविहीन भई वैदेशिक रोजगारीमा जानेहरूकै घरमा धेरै छ ।

हुन त वैदेशिक रोजगारीमा जानेलाई दक्ष बनाउन सरकारी र गैरसरकारी सीपमूलक संस्थाहरू सञ्चालनमा छन्, कामदारलाई अनावश्यक झमेलामा पर्न नदिन अभिमुखीकरण तालिम दिने संघसंस्था र बिमा कम्पनी पनि छन् तर विपन्न घरका युवाहरूले तिनबाट अवसर लिन पाएका छैनन् । गाउँमा विदेशमा काम लाग्ने खालको सीप सिक्ने व्यवस्था छैन । सहरमा बसेर सीप सिक्न उनीहरूको आर्थिक स्रोतले भ्याउँदैन । अनि वैदेशिक रोजगारीमा काम अनुसारको दाम पाउनबाट सधैं वञ्चित हुन्छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार, विदेश जाने दक्ष कामदार ३ प्रतिशत मात्रै छन् । २६ प्रतिशत अर्धदक्ष र ७१ प्रतिशत अदक्ष कामदार छन् । सीप नभएकै कारण अदक्ष कामदारले वैदेशिक रोजगारीमा सम्झौता अनुसार काम, दाम र अन्य सेवा पाउँदैनन् । उनीहरू शोषित र पीडित हुने क्रम पनि बढी छ । चर्को ब्याजमा ऋण खोजेर गएका उनीहरू सम्झौता अनुसार तलब नपाउँदा ऋण र कामको बोझले मानसिक तनावमा पर्छन् । कडा परिश्रम गर्दा ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । अहिले दैनिक करिब तीनवटा शव स्वदेश भित्रिने गरेका छन् । वैदेशिक रोजगारीमा अंगभंग हुने, मानसिक अवस्था बिग्रने, जेल पर्ने, यातना पाउने र घरपरिवारमा विग्रह हुनेको त लेखाजोखा नै छैन । त्यस्तामा अधिकांश अदक्ष कामदार नै छन् । सीपविहीन युवा वैदेशिक रोजगारीको प्रक्रियादेखि नै ठगिएका हुन्छन् । यसै त वैदेशिक रोजगारीका लागि बढी जाने देशहरूमा श्रमिकको अधिकार कम छ, त्यसमाथि सीपविहीनले पाइलापाइलामा दुर्व्यवहार भोग्नुपर्छ ।

वैदेशिक रोजगारीमा जस्तोसुकै समस्या भए पनि युवाहरू जाने क्रम बढ्दो छ किनकि त्यो अब आवश्यकता मात्रै होइन, सामाजिक दृष्टिकोणबाट समेत निर्देशित हुन थालेको छ । समाजमा छोरालाई पढाउनुभन्दा समयमै वैदेशिक रोजगारीमा पठाउन पाए टन्टै साफ भन्ने मान्यता बढ्दो छ । कतिपय गाउँ युवाविहीन बनेका छन् । खेतीयोग्य जमिन बाँझै रहने गरेका छन् । घरको एक जना विदेश गएपछि परिवारका बाँकी सदस्य आफ्ना परम्परागत पेसा छाडेर उसैप्रति निर्भर भएका छन् । स्वदेशमा कामका लागि मजदुरको अभाव छ । नेपालमा कृषि मजदुरीदेखि उद्योगधन्दासम्ममा विदेशी श्रमिक छन् । 

तथ्यांक विभागका अनुसार, वार्षिक ७ अर्बदेखि ८ अर्ब रुपैयाँसम्म रेमिट्यान्स भित्रिने गरेको छ । तर वैदेशिक रोजगारीबाट फर्केको रेमिट्यान्स कसरी उत्पादक क्षेत्रमा लगाउने भन्नेबारे सरकारी नीति छैन । सरकारी योजना नहुँदा पनि रेमिट्यान्स फजुल खर्चमै सकिने गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको तथ्यांक संकलन र सीप विकासको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । विदेशमा सिकेको सीप तथा पुँजी परिचालनमा पनि स्थानीय सरकारलाई नै जिम्मेवारी दिइएको छ । तर धेरै स्थानीय तह यसबारे बेखबरजस्तै छन् । अब स्थानीय तहले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूका परिवारलाई रेमिट्यान्स सदुपयोग, बचत र उत्पादनशील क्षेत्रमा लगानी गर्नेबारे सिकाउन आवश्यक छ । अदक्ष युवालाई सीप सिकाएर मात्रै विदेश पठाउनुपर्छ । विदेशबाट फर्केका व्यक्तिलाई यथोचित रोजगारी दिने र सहुलियतमा ऋण दिनेसम्मका कार्यक्रम ल्याउनुपर्छ । पारिवारिक–सामाजिक पुनर्मिलन र अन्तर्घुलनमा पनि सघाउनुपर्छ ।

Published on: 3 January 2022 | Kantipur

Link

Back to list

;