s

सीमापारिको धार्चुलाका ‘शिविर’ मा के गर्दैछन् साढे सात सय नेपाली

 

दार्चुलाको नौगाड गाउँपालिका- ६ का जनक टमाटा घरका जेठा छोरा हुन्। जेठो भएपछि भाइबहिनीको जिम्मा उनको काँधमा आउने भइहाल्यो। १४ जनाको उनको संयुक्त परिवारमा खानलाउनको धौ-धौ थियो। 

त्यही धौ-धौ टार्न हरेक वर्ष उनी काम खोज्दै भारत जान्थे। जसरी कर्णाली र सुदूरपश्चिमका पहाडका धैरै युवा जान्छन्। 

यसपालि गत मंसिरमा जनक मजदुरी गर्न भारतको पिथौरागढ गए। पिथौरागढमा एक ठेकेदारसँग काम गर्दै थिए। कोरोना भाइरसको हल्ला आयो। पहिला कतै टाढाको त्यो हल्ला गत बुधबारदेखि उनकै सामुन्ने सत्य बनेर उभियो। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमण फैलिन नदिने २१ दिन लामो लक डाउन घोषणा गर्दा जनक पिथौरागढमै थिए। भारतमा लक डाउन भएको अघिल्लो दिन नै नेपालमा लक डाउन भइसकेको थियो। सीमा नाका बन्द गरिएका थिए। 

भारतमा अलपत्र पर्नुभन्दा बरू नेपालमै जानु बेस ठानेर उनी धार्चुला आइपुगे। त्योबीचमा सरकारले भारतीय सीमा अलपत्र परेका आफ्ना नागरिकलाई उद्धार गर्ने निर्णय गरेको थियो। 

गत शुक्रबार साँझ नेपालको नाका खुलेपछि करिब २७० नेपालीहरू नेपाल आएका थिए। 

आफ्नै देश त हो कसो जान नपाइला भनेर जनकजस्तै सात सय बढी नेपाली दार्चुला सदरमुकामपारिको धार्चुलामा आएका थिए। 

'म चार महिनाअघि मजदुरी गर्न आएको थिएँ,'धार्चुलामा रहेका टमाटाले सेतोपाटीसँग टेलिफोनमा भने,'हाम्रो लागि ३१ मार्चमा नाका खोलिदिन्छ भनेर यता आयौं। यताबाट नाका खोलिदियो तर नेपाल प्रहरीले छिर्न दिएन।' 

महाकालीको पुलवारि उनीहरू नेपाल देख्थे तर आउन सक्दैनथे। त्यहीबीच केही  युवाहरूले आफ्ना जनता फिर्ता ले भन्दै नारा लगाए। 

सोमबार त तीन जना युवा ज्यानको बाजी लगाएर महाकालीमा हाम फाले। 

उनीहरूले नाराबाजी गरेको भिडिओ र महाकालीमा पौडिएको तस्बिरले सामाजिक  सञ्जालमा चर्चा पाए। 

सोमबार दिउँसो दुबै देशका अधिकारीहरूबीच सीमामा रहेकाहरूको व्यवस्थापन कसरी गर्ने भन्नेबारे छलफल भयो। दुबैले आफ्नो भूमिमा रहेका एकअर्काका नागरिकको व्यवस्था गर्ने समझदारी भयो। 

सोही समझदारीअनुसार अहिले टमटासहित सात सय बढी नेपालीलाई धार्चुलाका विभिन्न ठाउँमा ‘शिविर’  बनाएर राखिएको छ।  

'हामी थुप्रै छौं। भारत सरकारले नै सबै खान बस्न दिइरहेको छ। छुट्टाछुट्टै टोली बनाएर राखिदिनुभएको छ,'टमाटाले भने। 

भारतका शिविरमा कति दिन बस्नुपर्ने हो थाहा छैन। त्योभन्दा बरू नेपालमै फर्किन पाए हुन्थ्यो भन्ने टमाटालाई लागेको छ।  

'यहाँ बस्न पनि हामीलाई समस्या छ। हामी गरिब छौं, लगाउन खानलाई पनि नपुगेर भारत आएका हौं। आफ्नो देश फर्काउन प्रधानमन्त्रीले छिटो पहल गरिदिनु पर्‍यो,'उनले भने। 

नेपाल आएपछि पनि उनीहरू जाँच गरेरमात्र घर जान चाहन्छन्। 

'नेपाल आएपछि पनि हामीलाई सरकारले चेक गरेर मात्रै घर पठाओस्,' टमाटाले भने 'बिरामी छौं भने उपचारका लागि पहल गरिदिनु पर्यो तर छैनौं भने घर पठाइदिनुस्।' 

धार्चुलाका स्थानीय रविश पटियालका अनुसार ७ सय  ५० बढी नेपालीलाई अहिले धार्चुलामा राखिएको छ। 

'धार्चुला स्टेडियममा तीन सय, काजी हाउसमा २८०, दमकल कार्यालयमा ३५ र बालुकोट सरकारी कलेजमा १५० जना छन्,' उनले फेसबुक मेसेन्जरमा कुराकानी गर्दै भने,'केहीलाई हामीले जोल्जीवी शहरमा पनि राखेका छौ तर त्यहाँ कति छन् भन्ने खुल्न सकेको छैन।' 

यसरी शिविरमा बसेकाहरूमध्ये  लगभग सबै पिठौरागढ र अल्मोडामा काम गर्ने मजदुर छन्। 

'२७ तारिखका दिन नाका खोलेकाले करिब २सय ७० नेपालीहरू नेपाल गए,' पटियालले भने,'त्यस दिनदेखि नेपालीहरूको आउने क्रम बढेको हो तर नाका बन्द छ।'

Published on: 31 March 2020 | Setopati

Link

Back to list

;