s

सीमामै अड्‍‍किए २,३१८ नेपाली

जनकराज सापकोटा

काठमाडौँ — कोराना (कोभिड–१९) संक्रमणका कारण नेपाल–भारत सिमाना बन्द भएपछि नेपालका सीमावर्ती १८ जिल्लाको सीमापारि भारतीय क्षेत्रको क्वारेन्टाइनमा २ हजार ३ सय १८ नेपाली अड्किएका छन् । त्यस्तै नेपालका सीमावर्ती १९ जिल्लामा ११ सय ९४ भारतीय अड्किएका छन् ।

गृह मन्त्रालय स्रोतले उपलब्ध गराएको नेपाल प्रहरीको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले तयार पारेको उक्त विवरणमा दुवैतर्फको सीमावर्ती क्षेत्रमा रहेका नेपाली र भारतीयको संख्या प्रत्येक दिन घटबढ हुने गरेको देखिन्छ । 

सीमा क्षेत्रमा क्वारेन्टाइनमा भएका नेपालीलाई ल्याउने प्रक्रिया सुरु भइसकेको छ । उक्त विवरणअनुसार सीमापारि अड्किएका कुल नेपालीमध्ये सुदूरपश्चिम प्रदेशको कैलाली, बैतडी, दार्चुला र कञ्चनपुर जिल्लाका सीमापारि मात्रै झन्डै ७२ प्रतिशत अर्थात् १६ सय ६० नेपाली अड्किएका छन् । जबकि यी चार जिल्लाको नेपालतर्फको सिमानामा २२ भारतीय मात्रै अड्किएका छन् । प्रदेश ५ का ६ सीमावर्ती जिल्ला बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीका भारतीय नाकामा ४ सय २७ नेपाली अड्किएका छन् । यी जिल्लाको नेपालतर्फको नाकामा ४ सय २५ भारतीय अड्किएका छन् ।

प्रदेश २ का आठ जिल्ला सप्तरी, सिरहा, धनषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको सीमापारि भारतीय क्षेत्रमा एक सय २० नेपाली अड्किएका छन् । जबकि यिनै जिल्लाको नेपाली सिमानामा ४ सय ४९ भारतीय छन् । स्रोतबाट प्राप्त विवरणअनुसार प्रदेश २ मा सबैभन्दा धेरै नेपाली अर्थात् ९३ जना सर्लाहीपारिको भारतीय सीमामा अड्किएका हुन् । त्यस्तै पर्साको सीमामा सबैभन्दा धेरै अर्थात् १ सय ७६ भारतीय अड्किएका छन् ।

भारतसँग सिमानामा जोडिएका प्रदेश १ का चार जिल्ला इलाम, झापा, मोरङ र सुनसरीको पारिपट्टि भारतीय नाकामा ४१ नेपाली अड्किएका छन् । त्यस्तै यी जिल्लाको नेपालतर्फका नाकामा २ सय १७ भारतीय अड्किएका छन् ।

नेपालतर्फको सिमानामा गत ११ र १२ गते मात्र ८३ जना भारतीयको संख्या बढेको देखिन्छ । त्यस्तै भारततर्फका नाकामा सोही मितिमा ३३ जना नेपालीको संख्या बढेको देखिन्छ । यो तथ्यांले लकडाउनको मिति बढ्दै जादा नाकाका दुवैतर्फ नेपाली र भारतीयको संख्या बढ्दो रहेको देखाउँछ । भारतका विभिन्न सहरमा कार्यरत नेपाली सीमावर्ती भारतीय नाकाबाट लुकिछिपी नेपाल छिर्ने प्रयास पछिल्ला दिनमा पनि जारी देखिन्छ ।

गत शुक्रबार मात्रै सप्तरीको सीमावर्ती गाउँपालिका राजगढ–२ को बनैनिया नाकाबाट भारतबाट फर्किएका ९ नेपाली प्रवेश गर्न खोजेका थिए । सिमानामा खटिएका सशस्त्र प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर भारतीय प्रहरीलाई बुझाइदिएको थियो । गृह स्रोतका अनुसार उनीहरूलाई भारतको मधुवनी जिल्लाको लौकही हाईस्कुलको क्वारेन्टाइनमा राखिएको छ । बिहीबार मात्रै रूपन्देहीको सिद्धार्थनगर–१ स्थित बेलहिया नाकाबाट ८ नेपाली नेपाल प्रवेश गर्न खोजेका थिए । उनीहरूलाई पनि नेपाल प्रहरीले नियन्त्रणमा लिई भारतीय प्रहरीको जिम्मा लगाइदिएको छ ।

गृह स्रोतका अनुसार ती आठै नेपालीलाई भारतको सुनौलीस्थित सुवासचन्द्र जुनियर हाईस्कुलको क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै सोही दिन इलामको सूर्योदय नगरपालिका–१ रानीबन सीमा इलाकाबाट ४ जना नेपाली नेपाल छिर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर भारतीय प्रहरीलाई बुझाएको छ । त्यसो त नेपालतर्फको सीमावर्ती जिल्लाका क्वारेन्टाइनमा राखिएका भारतीयहरू भागेका घटना पनि सार्वजनिक भएका छन् । गत बिहीबार रूपन्देहीको सिद्धार्थ नगरपालिका–३ स्थित क्वारेन्टाइनबाट भारतीय नागरिक ४३ वर्षीय कोदई मल्लाह र ३५ वर्षीया दिनदयाल चमार भागेका थिए । प्रहरीले भागेकाको खोजी सुरु गरिसकेको छ । नेपाल–भारतको सीमावर्ती क्षेत्रका १२ सय १३ स्थानमा सशस्त्र प्रहरी खटिए पनि सीमा आवतजावत लुकीछिपी जारी देखिन्छ । यी दृष्टान्तले सीमावर्ती नाकामा अड्किएका नेपालीको उकुसमुकम त बुझ्न सकिन्छ नै, लकडाउनका बेला सीमावर्ती चहलपहललाई पूर्ण रूपमा रोक्न कति जटिल छ भन्ने पनि बुझाउँछ ।

महाकाली तरेर आए २५५

भारतबाट नेपालीहरू जोखिम मोलेर महाकाली नदि तर्दै धमाधम घर आइरहेका छन् । पौडिएर, ट्युब र जंघार तरेर आउने क्रम जारी छ । एक महिनायता शनिबार बिहानसम्ममा २ सय ५५ जना महाकाली तरेर आएको प्रहरीले जनाएको छ ।

मजदुरीका लागि भारत गएका ३४ जना शनिबार बिहान व्यास गाउँपालिका–२ को घाटीबगडबाट स्वदेश प्रवेश गरे । व्यासमा सुरक्षाकर्मीको उपस्थिति नहुने ठाउँमा पुगेर ठूलो संख्यामा शनिबार बिहानै महाकाली नदीको जंघार तरेर घाटीबगड हुँदै नेपाल प्रवेश गरेको दार्चुला प्रहरीले जनाएको छ । यसअघि सदरमुकामसमेत रहेको महाकाली नगरपालिका क्षेत्रमै शुक्रबार दुई जना ट्युब र एक जना पौडेर भित्रिएका थिए । 

प्रहरी कार्यालयका अनुसार बझाङका २९, जाजरकोटका ३ र दार्चुलाकै नौगाड गाउँपालिकाका २ जना आएका हुन् । घाटीबगडबाट उनीहरू हिँडेरै व्यासको दुम्लिङ हुँदै सुन्सेरा गएका हुन् । अहिलेसम्म व्यासको सुन्सेराभन्दा माथि सुरक्षा उपस्थिति दुम्लिङमा मात्र छ । सुरक्षाकर्मी खटिएको ठाउँबाट करिब ४ घण्टाको पैदल दूरीमा रहेको स्थानबाट उनीहरूले महाकाली तरेका हुन् ।

सुनौलीबाट वारिपारि

भारतको क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याउन पहल गरेलगत्तै भारतीय पक्षले पनि नेपालका क्वारेन्टाइनमा रहेका आफ्ना नागरिकलाई लगेको छ ।

लकडाउनपछि एकअर्काका देशमा फसेका ३ सय ४८ जना भारतीय र नेपालीलाई शनिवार सुनौली नाकाबाट वारिपारि प्रवेश गराइएको छ । यसअघि शुक्रवार साँझ भारततर्फ रहेका एक सय जना नेपालीलाई स्वदेश प्रवेश दिइएको थियो । 

नौतनवाको क्वारेन्टाइनमा रहेका २ सय ९६ जना नेपालीलाई स्वदेश ल्याइएको छ । भैरहवाको क्वारेन्टाइनमा रहेका १ सय ५२ जना भारतीयलाई शनिवार पारि जान दिइएको रुपन्देहीका डीएसपी खड्कबहादुर खत्रीले बताए । भारतबाट नेपाल आएका सबैलाई स्वास्थ्य परीक्षणपछि मात्रै प्रवेश दिइएको थियो । सुनौली नाकाबाट भित्रिनेमा धेरै अर्घाखाँची जिल्लाका बासिन्दा छन् । यसैबीच भैरहवाको निमा प्रतिमान स्मृति अध्ययन प्रतिष्ठानस्थित क्वारेन्टाइनमा रहेका दुई जना भारतीय शुक्रवार बिहान भागेका छन् ।

Published on: 26 April 2020 | Kantipur

Link

Back to list

;