s

सीमामा रोकिएका नेपाली भन्छन्,- सरकार, निकै दु:ख पायौं, स्वदेशकै क्वारेन्टाइनमा बस्न चाहन्छौं

भगीरथ अवस्थी

 

बैतडी : भारतको झुलाघाट र धार्चुलाका विभिन्न क्वारेन्टाइनमा बसेका नेपाली नागरिकले स्वदेश फर्कन पाउनुपर्ने माग गरेका छन् । आफूहरुलाई क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भइसकेको र आफूहरुलाई कुनै स्वास्थ्य समस्या समेत नभएकाले स्वदेश फर्काउन उनीहरुले माग गरेका हुन् । 

भारतीय क्वारेन्टाइनमा बसेको दुई हप्ता बढी भइसकेको र खान-बस्न समेत समस्या भएको बैतडीको दोगडाकेदार गाउँपालिकाका कृष्णानन्द भट्टले जानकारी दिए । 'हामी एउटै विद्यालयमा ८० जनाभन्दा बढी एकै ठाउँमा बसेका छौं । खानपीनको समस्या छ । सुत्नका लागि धेरै अप्ठ्यारो भएको छ, उनले अन्नपूर्णसँग भने, 'हामीलाई क्वारेन्टाइनमा बसेको १६ दिन भइसकेको छ । आधा किलोमिटर टाढाबाट पानी ल्याएर खाना बनाउनुपर्ने बाध्यता छ । हामी स्वदेशकै क्वारेन्टाइनमा बस्न चहान्छौं।' 

'क्वारेन्टाइनमा बसेको १६ दिन भइसक्यो । ३÷४ सय जना एकै ठाउँमा छौं । भारत सरकारले खानाको व्यवस्था गरेको भएपनि बसोबासको निकै समस्या भएको छ , बैतडीको पुर्चौंडीका उत्तम बोहराले धार्चुलाबाट अन्नपूर्णसँग फोनमा भने, 'क्वारेन्टाइनको बसाई निकै असहज छ । नुहाउन नपाएको दुई साता भयो। हामी आफ्नै देशको क्वारेन्टाइनमा बस्न तयार छौं ।' 

क्वारेन्टाइनमा एकै कोठामा धेरैजना मिलेर बस्नुपर्ने, ओछ्याउने र ओढ्ने व्यवस्था समेत नहुँदा आफूलाई निकै समस्या भएको पुर्चौंडी ८ का दीर्घराज जोशीले बताए । उनले सरकारसँग स्वदेश फिर्ता गरिदिन माग गरेका छन्। 

शौचालयको समेत समस्या रहेको मजदुरले बताएका छन् । पुर्चौंडीका केशव पाठकले भने, 'पैसा कमाउन भारत आएका हाम्रो यस्तो बिजोग भयो।' भारतको झुलाघाटमा अढाई सय बढी र धारचुलामा एक हजार बढी नेपाली मजदुर क्वारेन्टाइनमा छन् । 

मजदुर ल्याउने तयारीमा स्थानीय प्रशासन 

भारतीय क्वारेन्टाइनमा बसेको नेपाली मजदुरलाई स्थानीय प्रशासनको स्वदेश फर्काउने तयारी छ । भारतीय क्वारेन्टाइनमा बसेका मजदुरलाई स्वदेश फर्काउन भारतीय पक्षले पनि ताकेता गरिरहेकाले स्थानीय प्रशासनले फर्काउने तयारी गरिरहेको हो । 

सीमा क्षेत्रमा रहेका मजदुरको लगत संकलन गरेर सबै जिल्लाको समन्वयमा केही दिनमा मजदुरलाई फर्काउने तयारी रहेक सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। उनले दुवै ठाउँमा बैतडीका मात्रै ९ सय जना छन् । तिनीहरुलाई ल्याएर क्वारेन्टाइनमा राख्नका लागि सम्बन्धित पालिकालाई क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिइसकेको बताए। 

मजदुरलाई स्वदेश फर्काउनु अघि उनीहरुको स्वास्थ्य चेकजाँच गरेर मात्रै ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । उनले भने, 'नेपालीलाई दुई हप्ता क्वारेन्टाइनमा राख्ने तयारी गरेर फर्काउने तयारी गरेको छौं । जुनजुन जिल्लाका मजदुर त्यहाँ फसेका छन् । ति जिल्लासँग समन्वय भइरहेको छ ।'

Published on: 15 April 2020 | Annapurna Post

Link

Back to list

;