s

सीमामा फसेका नेपाली भन्छन्- सरकार, हामीमाथि किन विभेद?

शिवराज भट्ट

धनगढी : बैतडीको पञ्चेश्वर गाउँपालिकाका विरेन्द्र भट्ट घर फर्किनका लागि चैत १५ गते कैलालीसँग सीमाना जोडिएको पलिया पुगे । तर लकडाउनका कारण उनलाई पलियाकै एक स्कुलमा भारतले बनाएको क्वारेन्टाइनमा राखियो ।

शनिबार उनलाई भारतको क्वारेन्टाइन बसेको ३६ दिन भयो । विरेन्द्रसँगै चैत १५ गते नै पलिया पुगेका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ का गोरख बहादुर महर पनि क्वारेन्टाइन बसेको ३६ दिन भयो । भारतमा पनि लकडाउन भएकाले उनले काम गर्ने पञ्जाबमा रहेको कम्पनी बन्द भयो र उनलाई घर पठाइ दियो ।

'मालिकले, कम्पनी बन्द गरेर ताला लगाएपछि, घर त आउनु पर्‍यो, तर ३६ दिनसम्म घर जान पाउने नपाउने कुनै जानकारी छैन, पलियाको इन्टर कलेजमा क्वारेन्टइन बसिरहेका महरले भने, 'खेतीपातीको बेला पनि थियो, घर जान पाइने आसैआसमा ३६ दिन बित्यो ।'

कैलालीसँग सीमाना जोडिएको भारतको पलियामा कैलाली, कञ्चनपुर, बैतडीसहितका जिल्लाका १६५ जना क्वारेन्टाइन बसिरहेका छन् । उनीहरुले ३६ दिनपछि नेपालमै थप क्वारेन्टाइन राखे पनि बस्ने भन्दै नेपाल लगिदिन आग्रह गरेका छन्।

पलियामात्रै होइन, कञ्चनपुर पारी भारतको वनबासामा पनि २०३ जना चैत १२ गते देखि नै बसिरहेका छन । कञ्चनपुरको पुर्नवास पारी पनि १८ जना नेपाली क्वारेन्टाइन बसेका छन्। 'दार्चला र बैतडी पारिको क्वारेन्टाइनमा बसेका मात्रै नेपाली हुन र ? हामी के अनागरिक हौं,' वनबासाको क्वारेन्टाइनमा चैत १२ गते देखि बसिरहेका कैलालीको गोदावरी नगरपालिकाको ओलानीका गणेश विकले भने।

उनले, राज्यले नागरिक माथि यस्तो गरी विभेद गर्न नपाउने बताए । 'बैतडी र दार्चुलाका नेपाली घर जाने तयारीको समाचार हामीले पनि हेरिरहेका थियौं, आशा थियो हामीहरु पनि घर जान पाउँछौं भनेर तर हाम्रा बारेमा कसैले केही पहल गरेन, उनले भने, 'के हामी सौतेला नागरिक हौं ?'

वनबासाको एक स्कुलमा बसिरहेका २०३ जना नेपालीले, भारतीय सुरक्षाकर्मीले पनि दुब्र्यवहार गर्ने गरेको बताएका छन । 'तिमीहरुको सरकार कस्तो रहेछ ? तिमीहरुको वास्ता नै गर्दैन, आधालाई लग्यो, तिमीहरुका बारेका केही पनि गर्दैन भनेर भारतीय अधिकारी समेत हामीहरुलाई होच्याउँछन,' उनले भने ।

बैतडी र दार्चुलाको स्थानीय प्रशासनले भारतसँगको समुन्वयमा बिहीबार भारततिर रहेका ढाई हजार जना नेपालीलाई नेपाल आउन दिएको थियो । 'उनीहरुका लागि बिहीबार जन्मभुमीको ढोका खुल्यो, तर हामी के नागरिक होइनौं, सरकारले छिटो हामीलाई पनि नेपाल जान दिनुपर्छ,' पलियाको क्वारेन्टाइनमा रहेका दानी महरले भने ।

बैतडी र दार्चुला पारि भारतीय क्वारेन्टाइनमा रहेका उनीहरुका लागि बिहीबार बिहानैदेखि बेलुकीसम्म नाका खुला रहेको थियो । तर सुदूरपश्चिमकै कैलाली र कञ्चनपुर पारी ३६ दिन देखि क्वारेन्टाइन बसेकाका बारेमा कुनै पहल नभएपछि सामाजिक सञ्जालमा पनि सरकारको आलोचना भएको छ । 'कसैका लागि जन्मभूमीको ढोका खुल्दैन तर अढाइ हजारले देश दर्शन पाए, आफूहरु माथि विभेद किन,' दानी महरले भने ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा भने गृहमन्त्रालयको आदेश बीना उनीहरुलाई नेपाल ल्याउन नसकिने बताए । 'बैतडी दार्चुलाका लागि मौखिक सहमति आएको भन्ने सुनेको छु, हामीलाई पनि त्यस्तै गरी ल्याउन दिन भनेर गृह मन्त्रालयमा अनुरोध गरेका छौं, तर केही आएको छैन,' उनले भने ।

प्रमुख जिल्ला अधिकारीले आफूलाई धेरैजनाले फोन पनि गर्ने गरेकाले शुक्रबार उनीहरुसँग भीडियो कल गरेर, सीमा नाका खुलाउने कुरा जिल्ला र प्रदेशको हातमा नरहेको भन्दै सम्झाएको बताए ।

भारतले, बैतडी र दार्चुलाका नेपालीलाई छोडने बेला एकजना पनि भारतीय नागरिक भारत प्रवेश नगर्ने सर्तमा सीमा खोलेको बताइएको छ । तर कैलाली र कञ्चनपुरको नाका खोलेमा उसका आठ हजार भन्दा बढी नागरिकहरु भारत जाने प्रयास गर्ने बताइएको छ । स्थानीय प्रशासनले लिएको तथ्यांकमा क्वारेन्टाइन नै नभएपछि, कैलालीमा ३५ सय, कञ्चनपुरका ४ हजारको संख्यामा भारतीय मजदुर इँटा भट्टामा काम गरिरहेका छन्।

उनीहरु नाका खुल्ने वित्तिकै भारत जान खोज्ने तर भारतले लिन नमानेको सुरक्षा स्रोतले बतायो । 'अब उनीहरु अहिले भट्टा मालिककै रहोबरमा बसिरहेका छन्, उनीहरुले भट्टा छोडेर बाहिर आएपछि सरकारी क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ, त्यसैले पनि गृहमन्त्रालय नाका नखोलिरहेको होला,' सुरक्षा स्रोतले बतायो ।

सुदूरपश्चिमका मृख्यमन्त्री त्रिलोचन भट्टले पनि सबैभन्दा बढी टाउको दुखाई भारतीय क्वारेन्टाइनमा रहेकाबाट भइरहेको बताए । 'कि त कसैलाई नेपाल आउन दिनु थिएन, ढाई हजारलाई आउन दिइयो, अब झन समस्या परेको छ, अरुलाई पनि लैजानु भनेर हरेक दिन भारतीय क्वारेन्टाइनबाट नेपालीका फोनका फोन आइरहेका छन्,' मुख्यमन्त्री भट्टले भने ।

उनले प्रदेश सरकारले उनीहरुलाई नेपाल ल्याउन चाहिरहेको बताए। 'मैले शनिबार गृहमन्त्री ज्युसँग कुरा गरेको छु, अहिले क्वारेन्टाइनमा मात्रै भएकालाई नेपाल आउन दिऔं, उनीहरुलाई नेपालमा क्वारेन्टाइन गरौं भनेर मैले अनुरोध गरेको छु, गृहले पनि त्यस बारेमा छलफल गरिरहेको छ,' मुख्यमन्त्री भट्टले भने ।उनले एक/दुई दिनमा निकास आउनेमा आफू आसावादी रहेको बताए ।

Published on: 3 May 2020 | Annapurna Post

Link

Back to list

;