s

सीमामा अलपत्र परेका ९२६ जनालाई नेपाल ल्याइयो

प्रकाशविक्रम शाह/गोकर्ण दयाल/हिक्मत सिंह/शिवराज ढुंगाना/भवानी ऐर

धनगढी, चैत ११ गते । झण्डै २४ घण्टादेखि भारतको विभिन्न स्थानबाट आएर धनगढीको त्रिनगर सीमामा अलपत्र परेका मंगलबार साँझ नेपाल आउन दिइएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार विभिन्न १९ जिल्लाका ९२६ जना नेपालीलाई बसमार्फत् आ–आफ्नो गन्तव्य पठाउने गरेर नेपाल ल्याइएको छ । सोमबार राति ८ बजे सीमामा आएका नेपालीहरुले मंगलबार दिनभर नेपाल प्रवेश पाउनुपर्ने माग राख्दै सामान्य प्रदर्शन गरेका थिए । उनीहरु जबर्जस्ती नेपाल प्रवेश गर्ने प्रयास गर्दे सुरक्षाकर्मीमाथि ढुंगामुढा समेत प्रहार गर्न खोजेपछि मंगलबार विहान केही समय सामान्य झडप पनि भएको थियो ।

उद्योग, धन्दा, होटल, व्यवसाय बन्द भएपछि नेपालीहरु हामी घर फर्किएका हौं, कैलालीको अत्तरियाका भक्तराज भट्टले भन्नुभयो, ‘म सहितका धेरै नेपालीहरु पाँच दिनसम्मको यात्रा गरेर भारतको मुम्वई, पुना, केरलालगायतका ठाउँबाट आएका हौ ।’

यसैगरी, सेती अञ्चल अस्पतालले हालसम्म आठ जनाको नमूना (घाँटीको स्वाव) संकलन गरेकोमा सातजनाको रिपोर्ट नेगेटिभ आएको छ भने एकजनाको रिपोर्ट अझंै प्राप्त हुन सकेको छैन । मंगलबार पनि थप चार जनाको नमूना संकलन गरेको छ, मंगलबार साँझ पनि दुई जनाको नमूना लिइने भएको छ । तर हवाई सेवा बन्द भएकाले ती नमूना काठमाडौं पठाउन नसकिएको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले बताउनुभयो ।

यसैगरी, नेपाल सरकारले कोरोना भाइरस नियन्त्रणमा राख्नका लागि आव्हान गरेको ‘लक डाउन’ सुदूरपश्चिमभर पालना भएको छ । यद्यपी ‘लक डाउन’ उल्लंघन गर्नेका मोटरसाइकललगायतका दर्जनौं साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

बैतडीमा पनि ‘लक डाउन’ कडाईका साथ लागू गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले बैतडी जिल्लालाई लक डाउन गर्न सहयोग गर्न जिल्लाबासीलाई आग्रह गरेको थियो ।

अत्यावश्यक तरकारी, दूध र खाद्यान्नका पसल बाहेक सबै बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

यसैबीच, भारतीय सीमा नाकाबाट पञ्चेश्वर गाउँपालिकाले आइतबार उद्धार गरेका ३३ मध्ये तीन जनामा सामान्य ज्वरो देखिएको छ ।

स्वास्थ्य परीक्षण गर्दा तीन जनामा ज्वरो देखिएपछि उनीहरुलाइै स्वास्थ्यकर्मीको निगरानीमा पञ्चेश्वर –४ चौडालीस्थित कैलपाल आधारभूत विद्यालयको क्वारेन्टाईनमा राखिएको छ ।

यसैबीच, कोरोना चेकजाँच गर्न स्वास्थ्य कार्यालय बैतडीले पञ्चेश्वर गाउँपालिकालाई ज्वरो नाप्न थर्मल मिटर र स्वास्थ्यकर्मीको पूरै जिउ ढाकिने अत्याधुनिक ड्रेस उपलब्ध गराएको छ ।

Published on: 24 March 2020 | Gorkhapatra

 

 

Link

Back to list

;