s

सीमामा अलपत्र मजदुर भारतीय क्वारेन्टाइनमा

भगीरथ अवस्थी 

बैतडी : सीमामा अलपत्र परेका नेपाली मजदुरलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाटमा अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा राखिएको हो । लकडाउनका कारण सीमा नाका बन्द भएपछि सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा राखिएको भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए । 

तालेश्वरमा रहेको धर्मशालामा ५७ जना र खरक्युडा, जामीरपानी र रज्यौडामा रहेका आधारभूत विद्यालयमा १७० जना गरेर २२७ जना मजदुरलाई क्वारेन्टाइनमा राखिएको भट्टले बताए  । ती सबै मजदुरको स्वास्थ्य परीक्षण गरिएको र उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ । 

क्वारेन्टाइनमा राखिएका नेपाली मजदुरको डा.सचीनप्रकाश देवल र डा. कल्पीत रौतेलाको टोलीले स्वास्थ्य परीक्षण गरिएको हो । क्वारेन्टाइनमा राखिएका नेपाली मजदुरका लागि निशुल्क खानाको व्यवस्था समेत गरिएको छ।जिल्ला प्रशासन कार्यालय पिथौरागढको पहलमा नेपाली मजदुरलाई क्वारेन्टाइनमा राखिएको हो। 

नयाँ वर्ष मनाउन घर फर्किन लागेका नेपाली लकडाउनका कारण सीमामा अलपत्र परेका छन् । कतिपय नेपाली महाकाली नदीमा ट्युबका माध्यमबाट तरेर नेपाल भित्रिरहेका छन् ।भने कोही पौडी खेलेर भएपनि सीमा कटाएका छन्। 

यता प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले अर्को आदेश नभएसम्म सीमा नाका खोल्न नसकिने बताए।उनले भने, 'कोरोनो उच्च जोखिम रहेकाले अहिले देश नै लकडाउन छ । हामी जहाँ छौं । त्यहीँ सुरक्षित रुपमा बस्नुपर्नेहुन्छ ।'

Published on: 1 April 2020 | Annapurna Post

Link

Back to list

;