s

सीमाबाट २० बालकको उद्धार

भारत जान लागेका २० बालकलाई नेपाल–भारत सीमानाका जमुनाहबाट उद्धार गरिएको छ । अभिभावकविना बालबालिकालाई भारत लैजान नपाइने भएकाले प्रहरीको सहयोगमा सिविन बाल हेल्पलाइनले २० बालकलाई फर्काएको हो ।

उद्धार गरिएका बालक अधिकांशले खानका लागि समस्या भएपछि काम गर्न र जाडो छल्न भारत जान लागेको बताएका छन् । साथीहरूसँगै भारत जान हिँडेका भैरव मावि, नराकोट, जुम्लामा अध्ययनरत १२ वर्षीय लक्ष्मण सार्कीले पेट भर्नका लागि भारत जान लागेको बताए । उनले जौँको रोटीले पेट भर्न मुस्किल परेपछि चामलको भात खानकै लागि भारत जान लागेको बताए ।

भारत जान लागेका नौ वर्षीय दलसिंह सार्कीले चिसोले जुम्लामा बस्न र खानेकुरा पाउन मुस्किल परेकाले भारत जान लागेको बताए । उनले आफ्नो बुबा भारतमा रहेको र उहाँसँगै काम गर्ने र मिठो–मसिनो खान पाइने भएकाले भारत जान हिँडेको बताए । जुम्लाबाट नेपालगन्ज हुँदै भारत जान लागेका २० जना बालकलाई प्रहरीले नाकामा रोकेपछि उनीहरूलाई लिन अभिभावकहरू भारतबाट आएका छन् ।

छोरा, भाइ र भतिजालाई प्रहरीले रोकेर सिविन बाल हेल्पलाइनमा राखेको भन्ने खबर पाएपछि लिन भारत उत्तर प्रदेशको अजम्बरबाट आएका दलजित सार्कीले बताए । उनले छोरा र भतिजोलाई जाडोबाट जोगाउन भारत बोलाएको बताए । उनी स्वेटर, न्यानो कोट र राडीपाखी बिक्री गर्न भारत गएका छन् ।

एक वर्षमा २५४ बालबालिकाको उद्धार

सिविन बाल हेल्पलाइनले एक वर्षको अवधिमा दुई सय ५४ बालबालिकाको उद्धार गरेको छ । भारत जान लागेका, हराएका र विभिन्न होटेल तथा जोखिमपूर्ण काममा लागेका बालबालिकाको उद्धार गरिएको सिविन बाल हेल्पलाइनका प्रमुख सिद्धराज पनेरूले जानकारी दिए ।

Published on: 16 December 2019 | Naya Patrika

Link

Back to list

;