s

सीमा रक्षकको दादागिरी

दीपेश केसी

छिमेकी भारतमा रोजगारी या अध्ययनका लागि गएका नेपालीले आवागमनका क्रममा सीमामा समस्या भोग्नुपरेको छ। यस पटकको दशैंमा पनि यसले निरन्तरता पायो। उनीहरूले भारततर्फ सीमा सुरक्षा बल (एसएसबी) बाट दुर्व्यवहारको शिकार हुनुपरिरहेछ। नेपालतर्फ रहेका प्रहरी पनि सीमा कटेर आउनेलाई तारो बनाएर असुलउपरमा सक्रिय छन्। दैनिक हजारांै नेपाली र भारतीयको ओहोरदोहोर हुने खुला सीमाको सुरक्षा र व्यवस्थापनका लागि भारतले सीमा सुरक्षा बल (एसएसबी) र नेपालले सशस्त्र प्रहरी बल परिचालन गरेको छ। तर दुवै सुरक्षा बल नागरिकलाई सास्ती दिन उद्दत छन्। विशेषगरी रोजगारीका लागि भारत पुगेर फर्कने नेपाली नागरिक प्रताडित छन्। उनीहरूका लागि बोलिदिने र सुनिदिने सायदै कोही छ। हरेक वर्ष अन्यायमा पर्छन्, न्याय कहीँ मिल्दैन।

नेपाल-भारत स्थलमार्ग भएर ओहोरदोहोर गर्दा पंक्तिकारको सबैभन्दा बढी ध्यान सीमा सुरक्षा पोष्टमा जान्छ। पोष्ट वरपरको वातावरणबाटै अव्यवस्था र अराजकता ठम्याउन कठिन छैन। पहिलोपटक सीमा वारपार गर्ने व्यक्ति अत्तालिन सक्छ। सीमा पोष्टमा तैनाथहरूको गतिविधि नै सामान्य नागरिकलाई भयभित बनाउन पर्याप्त छ। सीमा जस्तो संवेदनशील क्षेत्रमा आधुनिक प्रविधिको पर्याप्त प्रयोग छैन। हचुवाकै भरमा आवत्जावत् गर्ने व्यक्तिको चेकजाँच र तद्नुरुपको रकम असुलीमै खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई व्यवस्थित र सुरक्षित सीमा वारपारको के मतलब?

पंक्तिकारको शोधको विषय नेपाल-भारत सीमा अपराध भएकाले आवत्जावत्मा स्थलमार्ग प्राथमिकतामा पर्दै आएको छ। त्यस क्रममा गत वर्ष तिहारका लागि घर आउँदा गोरखपुरबाट सुनौली यात्राका क्रममा चार किशोर भेटिए। कामका लागि पन्जाब पुगेका उनीहरू चाड मान्न घर फर्केका रहेछन्। साना झोला बोकेका उनीहरूलाई सीमामा आइपुगेपछि एसएसबीले झांगलझुंगल गर्दै सडक छेवैको सानो कोठामा लग्यो। उनीहरूले पैसा कमाएर आएका छन् भन्दै प्रतिव्यक्ति पाँच सयका दरले उठाउन खोज्यो। उनीहरू केही कम गर्न अनुरोध गर्दै थिए तर अन्तमा भने जति दिएर चंगुलबाट फुत्किए। मेरो पालो आयो। विद्यार्थी भनेर परिचयपत्र देखाउँदा-देखाउँदै पैसा असुलेर बसिरहेको एसएसबीले दुई सय दिएर मात्र जान भन्यो। मैले कमाउन गएको होइन, दिन सक्दिन भनेर अड्डी कसेपछि 'दिमाग मत खावो' भन्दै छाड्यो। सीमा कटेपछि किशोरहरूसँगै बसमा आउँदा उनीहरू नेपालतर्फ बसेका सशस्त्र प्रहरीबाट समेत प्रताडित भएको थाहा भयो।

२०६७ सालमा भारतको लद्दाकमा भएको प्रकोपका कारण स-सानोे व्यापार गरेर बसिरहेका नेपालीहरू झिटिगुन्टा बोकेर नेपाल फर्कदै थिएँ। सुनौली कटेलगत्तै पाइने माइक्रोबसमा सँगै परियो। सीमाभन्दा एक किलोमिटर जति पर रहेको सीमा सुरक्षा पोष्ट बनाएर बसेको सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी आएर चेकजाँचका नाममा उनीहरूसँग पैसा असुलेरै छाडे। पैसा नदिउञ्जेल झोलाहरू खोतल्न नछाडेपछि प्रकोपपीडितहरू पाँच सयमा हिसाब मिलान गर्न बाध्य भए। बस गुड्नेबित्तिकै लद्दाकबाट फर्किएकामध्येका दुई महिलाले प्रहरीलाई सत्तोसराप गरे। सीमा र नागरिकको सुरक्षा गर्न बसेको प्रहरीले पीडित नागरिकबाट उल्टै असुल्यो। यसरी रोजीरोटीका लागि भारतमा पुगेर फर्कने धेरै नेपाली दुवैतर्फको सीमा सुरक्षा बलको दुहुनो गाई जस्तै बनेका छन्। सीमामा अपराधी जस्तै व्यवहारबाट सर्वसाधारण आक्रान्त बन्ने गरेका छन्। भारतमा काम गरेर स्थलमार्ग भएर फर्कनेमध्येका अधिकांश निम्न वर्गका नेपाली हुन्छन्। सस्तो चप्पल लतार्दै देश छिर्नेहरू अमानवीय व्यवहारबाट प्रताडित हुने गर्छन्।

सीमामा खुलेआम सामान तस्करी र रकम असुली देख्न पाइन्छ। यसमा भन्सारका कर्मचारी नै सक्रिय भएको पाइन्छ। तस्करीलाई प्रोत्साहित गर्नमै सक्रिय त्यस्ता भ्रष्ट व्यक्तिहरूले सीमालाई खुलेआम तस्करको अखडा बनाइरहेछन्। तस्करसँग मिलेमतो गर्ने अनि सर्वसाधारणलाई प्रताडित बनाउनेले गर्दा सीमामा जिम्मेवारी लिएर बस्ने प्रहरीदेखि कर्मचारीसम्म बदनाम भइसकेका छन्। सीमामा खटिने भनेकै तस्करीलाई प्रश्रय दिन र सामान्यलाई दुःख दिन हो भन्ने नकारात्मक सन्देश गइरहेको छ। नेपाल भारतको यिनै नाकाबाट ठूलो परिमाणमा रक्तचन्दन नेपालतिर तस्करी गरिन्छ। पछिल्लो समय 'सी हर्स' तस्करी सार्वजनिक भएको छ। नक्कली नोट, सुनको तस्करीदेखि लागुऔषध सीमा वारपारका घटना खुल्ने गरेको छ। यसलाई निरुत्साहित गर्न खासै सक्रिय नहुने तर सीमा सुरक्षाका नाममा सर्वसाधाणलाई दुःख दिन लागेकाहरूबाट सीमा क्षेत्र झनै बदनाम हुँदैछ। सीमाका सुरक्षाकर्मीको गलत व्यवहारको विरोध गर्नेहरू मरणासन्न हुनेगरी कुटिएका धेरै घटना छन्। त्यसैले सीमामा अन्याय र अत्याचारविरुद्ध बोल्ने हिम्मत जोकसैमा हुँदैन। निश्चय पनि सीमा सुरक्षाका लागि सुरक्षाकर्मी चाहिन्छ। खुला सीमा भएर आपराधिक घटनामा वृद्धि भएपछि नेपाल र भारत दुवैले सीमा क्षेत्रमा अर्धसैनिक बल तैनाथ गरेका हुन्। तिनले काम र कर्तव्यअनुसारको गतिविधि गरेका छन् कि छैनन् भन्ने महŒवपूर्ण सवाल हो। एसएसबी होस् या सशस्त्र प्रहरी नै, दुवैले आपराधिक घटना कम गर्न खेलेको भूमिकाबारे खबर आइरहन्छ। सँगै तिनले सीमामा आवत्जावत् गर्ने नागरिकलाई गरेका दुर्व्यवहार गम्भीर प्रकृतिको छ।

नागरिकको सुरक्षाका लागि राज्य मतलबी छ। भारतमा काम गर्न जानेहरूको हित र अधिकार सबैभन्दा कम प्राथमिकतामा पर्छ। न सरकारसँग भारतीय भूमिमा रोजगारीका लाग जानेको एकिन आँकडा छ, न त सुरक्षाका लागि संवेदनशीलता नै देखिन्छ। नेपाली नागरिक सम्बद्ध संघ/संस्थाहरू २० लाखभन्दा बढी नेपाली भारतमा काम गरिरहेको दाबी गर्छन्। यो संख्या सही हो भने वैदेशिक रोजगारीमा जानेमध्ये भारतमा जानेहरूको संख्या उच्च हुन आउँछ। सायद बढी रेमिट्यान्स भित्राउने पनि भारतमै काम गर्ने नेपाली हुन्। बिदा मिलाएर खुसी मनाउन स्वदेश आउने नेपालीहरू अधिकांश पीडा बोकेरै फर्कन बाध्य हुन्छन्। हाड घोटेर कमाएको पैसामा सीमा सुरक्षाको जिम्मेवारी बोकेकाहरूको आँखा लाग्छ। सीमा छिरेपछि हालत उही हो। सुरक्षा पनि दिन नसक्ने र उल्टै असुल्नेहरूबाट नागरिकले के आशा गर्ने? सीमा सुरक्षा गर्न बसेकाले राजनीतिक भूगोलको रेखा सम्हाल्ने र तस्करीलाई रोक्ने जिम्मेवारीमात्र बोकेको हुँदैन। असल नियतले ओहोरदोहोर गर्नेको स-सम्मान आवत्जावत् र सुरक्षाको जिम्मेवारी पनि लिनुपर्छ।

Published on: 30 October 2012 | Nagarik

Back to list

;