s

सिगात्सेमा रोकिए नेपाली कामदार

अनिश तिवारी
  
अध्यागमन प्रक्रिया नमिल्दा भूकम्प र भोटेकोसी बाढीबाट प्रभावित सयौं नेपाली कामदार तिब्बतको सिगात्सेबाट घर फर्कन पाएका छैनन् । कतिपय कामदार नेपालका आफन्तको सम्पर्कमा पनि छैनन् । चिनियाँ प्रहरीले भूकम्पअगावै कामको खोजीमा खासा गएकाहरूलाई सुरक्षा दिने भन्दै सिगात्से लगेको सीमाका बासिन्दा बताउँछन् । भूकम्पअघि नै काममा गएकाहरू पनि फर्केका छैनन् । 
 
तातोपानीका वीरबहादुर तामाङका अनुसार सिगात्सेमा कामको खोजीमा गएकाहरू फर्केका छैनन् । ‘भूकम्पअगावै गएको छोरा अमरसँग सम्पर्क छैन,’ वीरबहादुरले भने, ‘सिगात्सेको एक व्यापारिक केन्द्रको भवन बनाउने काममा रहेको हल्ला मात्र सुनेको छु ।’ महिनाअघि अध्यागमन प्रकिया पूरा गरेर फर्केका सम्बरे शाक्यका अनुसार सिगात्सेमा नेपालीहरू जबर्जस्ती कडा प्रकृतिका काम गरेर बसेका छन् । उनीहरू ब्लक बनाउने, गारो लगाउने र भारी बोक्ने काममा छन् । 
 
तिब्बतको स्थानीय निकायले उनीहरूलाई जबर्जस्ती काममा लगाएको उनले बताए । ‘घर फर्कन नपाएपछि काम नगरी भएन,’ शाक्यले भने, ‘सयौं नेपालीले कस्ट भोगिरहेका छन् ।’ नेपालको अध्यागमनले प्रयास गरेर उनीहरूलाई घर फर्कने वातावरण मिलाउनुपर्ने उनको सुझाव छ । कामको तनावले कतिपय नेपालीले भाग्ने प्रयास गरेको अनुभव उनको छ । 
 
‘त्यस्तो प्रयास गरे पनि अध्यागमन प्रक्रिया नमिलाई उम्कने सम्भावना छैन,’ फर्कनेहरू बताउँछन् । भूकम्पपछि खासाको पुनर्निर्माणका लागि गएका केही नेपाली कामदारलाई भोटेकोसी बाढीपछि सिगात्से लगिएको फर्केकाहरूको भनाइ छ । भूकम्पलगत्तै खासाबाट फर्केकी विष्णुमाया थामीले भनिन्, ‘हामी त हारगुहार गरेर फर्कियौं ।’ उनका अनुसार एकै पटक ६७ नेपाली कामदार फर्केका थिए । 
उनीहरूलाई भूकम्पलगत्तै चिनियाँ प्रहरीले सुरक्षित स्थानमा लगेको थियो । ‘तर बालबच्चासमेत कराउन थालेपछि हामी त्यतिबेला फर्कन सफल भयौं,’ विष्णुमायाले भनिन् । उनी चार वर्षदेखि खासामा काम गर्दै आएकी थिइन् । उनीसँगै फर्केका लिस्तीका साङ्मु तामाङले सिगात्सेमा धेरै नेपाली मजदुरीमा रहेको बताए । ‘कति छन्, यकिन गर्न सकिँदैन,’ साङ्मुले भने, ‘नेपालीहरू त्यहाँ दु:खमा फसेका छन् ।’
गत असोज अन्तिम साता दुवै मुलुकका सीमाका सरकारी अधिकारीबीच ल्हासामा भएको बैठकमा सिगात्सेस्थित व्यापारिक भवनहरू बनाउन ६ हजार मजदुर रहेको जानकारी दिइएको थियो । बैठकमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालका अनुसार चिनियाँ अधिकारीले भने नेपाली कामदार कति संख्यामा छन् यकिन नभएको जानकारी दिएका थिए । 
 
भूकम्पपछि सीमा क्षेत्र खासा र आसपासका बासिन्दालाई ल्हासा प्रशासनले सिगात्से लगेर राखेको छ । उनीहरूका लागि सिगात्सेमा ठूला व्यापारिक भवन र आवास क्षेत्र निर्माण भइरहेको छ । त्यसका लागि ल्हासा प्रशासनले ठूलो संख्यामा रोजगारी दिएको छ । सीमा मात्र होइन, सिगात्सेमा सोलु, दोलखा, धादिङ, काभ्रेलगायत जिल्लाका कामदार छन् । ल्हासास्थित महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले भने अध्यागमन समस्याले घर फर्कन नपाएको जानकारी आफूलाई नभएको बताए । खासा र सिगात्सेमा रहेका कति नेपाली फर्के, सीमाका प्रहरी र अध्यागमनलाई पत्तो छैन । भूकम्पपछि चीनले नेपालीको आउजाउमा रोक लगाएको थियो । हालसम्म नाका सञ्चालन भएको छैन । भूकम्पसँगै गएको पहिरोका कारण तातोपानीस्थित अध्यागमन कार्यालयमा कर्मचारी बस्दैनन् । 
 
Published on: 7 November 2016 | Kantipur 

Back to list

;