s

शून्य लागतमा मलेसिया

होम कार्की

काठमाडौँ — शून्य लागतमै नेपाली कामदार लैजान मलेसियाको एक रोजगारदाता कम्पनी तयार भएको छ । गाउँदेखि काठमाडौंसम्म आउने–जाने, काठमाडौंका होटलमा बस्ने र खाने, राहदानी बनाउन लागेको खर्च, मेडिकल, भिसा, हवाई टिकटलगायत सम्पूर्ण खर्चसमेत उक्त कम्पनीले व्यहोर्ने छ ।

मलेसियास्थित कम्पनी विस्ट्रोन टेक्नोलोजीले त्यहाँ पुग्दासम्म लाग्ने सबै खर्च आफैंले व्यहोर्ने सर्तमा नेपालमा रहेका आकर्षण इन्टरनेसनल र लालधनुष इन्टरनेसनल म्यानपावर कम्पनीसँग मंगलबार सम्झौता गरेको हो । यो रोजगारदाता कम्पनीले अन्तर्राष्ट्रिय ब्रान्ड माइक्रोसफ्ट, एचपी, सोनी, लेनोभो, एचटीसी, तोसिबा, इन्टेल लगायतका इलेक्ट्रोनिक सामान उत्पादन गर्छ ।

विस्ट्रोन कम्पनीका तर्फबाट उपमहाप्रबन्धक डेभिड तावोन चोङले आकर्षणका प्रमुख कार्यकारी निर्देशक विष्णु केसी र लालधनुषका प्रमुख आङ नेवाङ शेर्पासँग शून्य लागतमा श्रमिक पठाउन सम्झौता गरेका हुन् ।

यसअघि मलेसियाका कम्पनीले शून्य लागतमा श्रमिक लैजाने दाबी गरे पनि नेपालमै आएर सार्वजनिक रूपमा म्यानपावर कम्पनीसँग सम्झौता गरेका थिएनन् । विस्ट्रोनले पहिलो चरणमा ४ सय ५० जना लैजाने भएको छ, जसमा ३ सय २५ जना महिलाको कोटा छ ।

विश्वका १० भन्दा बढी देशमा आफ्नो उत्पादनका लागि उद्योग स्थापना गरेको यो बहुराष्ट्रिय कम्पनीले २०१९ देखि मात्रै मलेसियाको पोर्टकिआङ र पेटालिङमा उद्योग स्थापना गरेको छ । ‘मलेसियामा उद्योग स्थापना गरेदेखि नै नेपाली लैजान थालेका हौं,’ पत्रकार सम्मेलनमा विस्ट्रोनका उपमहाप्रबन्धक चोङले भने, ‘उद्योगलाई चाहिने जनशक्ति नेपालबाटै लैजानेछौं ।’

सम्झौताअनुसार पहिलो चरणमा आकर्षणले १ सय ५० जना महिला र ६० पुरुष तथा लालधनुषले १ सय ७५ महिला र ७५ पुरुष पठाउने सम्झौता भएको छ । यी श्रमिकको छनोट गर्न विस्ट्रोनले बुधबार र बिहीबार काठमाडौंमा अन्तर्वार्ता गर्दै छ । यो कम्पनीमा कार्यरत श्रमिकले १५ सय न्यूनतम तलबसहित २४ सय २१ रिंगेट (करिब ७० हजार रुपैयाँ) पाउनेछन् । काम सिकेपछि भने मासिक रूपमा सेवासुविधासहित ३ हजार दुई सय २३ रिंगेट (करिब ९० हजार रुपैयाँ) पाउनेछन् । ‘हामीले कुनै श्रमिकमाथि भेदभाव गर्दैनौं । सीप सिकेपछि तलब, सेवासुविधा बढ्दै जान्छ,’ चोङले भने ।

२०७५ कात्तिक ११ गते शून्य लागतमा मलेसियाले नेपालबाट श्रमिक लैजाने भन्दै श्रम सम्झौता गरेको थियो । कोभिडपछि मलेसियाको रोजगारदाता कम्पनीसँग भिसा नै किन्ने प्रतिस्पर्धा भइरहेका बेला विस्ट्रोनले शतप्रतिशत शून्य लागतमा श्रमिक लैजाने भएको हो । ‘मलेसिया जान घरबाट निस्केदेखि जे जति खर्च हुन्छ, सबै श्रमिकको बैंक खातामा नै रकम सोधभर्ना गरिदिन्छौं,’ आकर्षणका प्रमुख कार्यकारी निर्देशक केसीले भने, ‘कुनै पनि बिचौलियामार्फत श्रमिक लिइनेछैन । सिधै म्यानपावर कम्पनीमा आएका श्रमिकलाई अन्तर्वार्ता लिनेछौं । अन्तर्वार्ता पारदर्शी हुनेछ ।’

चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायत देशमा विस्ट्रोन कम्पनीको उद्योग छ, जहाँ ८० हजार कर्मचारी काम गर्छन् । कम्पनीको आफ्नै ब्रान्ड उत्पादन नभए पनि ब्रान्ड कम्पनीका इलोक्ट्रोनिक्स सामान उत्पादन गर्छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को निष्पक्ष भर्नासम्बन्धी सामान्य सिद्धान्त तथा कार्यविधिमा श्रमिकसँग भर्ना शुल्क तथा यससँग सम्बन्धित अन्य कुनै पनि खर्च असुल्न नपाइने सुनिश्चित गरिएको छ । तर, यस नीतिलाई रोजगारदाता कम्पनीले पालना नगर्दा वैदेशिक रोजगारीमा जान श्रमिकले म्यानपावर कम्पनीलाई लाखौं रुपैयाँ तिरिरहेका छन् । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को हालैको अध्ययनअनुसार जम्मा १.४ प्रतिशत श्रमिक मात्रै शून्य लागतमा वैदेशिक रोजगारीमा गइरहेका छन् ।

श्रम प्रशासन विज्ञसमेत रहेका पूर्वसचिव पूर्णचन्द्र भट्टराईले विस्ट्रोनको अभ्यासले शून्य लागत कार्यान्वयन गर्न सबैको मनोबल बढ्ने बताए । ‘नेपाल सरकारले मलेसियामा शून्य लागतमै श्रमिक पठाउने नीति छ । यसको व्यावहारिक कार्यान्वयन हुन सकिरहेको छैन । विस्ट्रोन नेपालमै आएर म्यानपावरसँग सम्झौता गर्नुले शून्य लागतको नीतिलाई कार्यान्वयन गर्न ठूलो मनोबल पुग्छ, मागपत्रको बेचबिखन हुने कार्य रोक्छ,’ उनले भने, ‘अन्य रोजगारदातालाई पनि पारदर्शीपूर्ण काम गर्न दबाब पुग्छ ।’

Published on: 6 July 2022 | Kantipur

Link

Back to list

;