s

श्रीमतीसहित छोरा बेच्नेलाई साढे ३८ वर्ष कैद, ३ लाख जरिवाना

विष्णु शर्मा 

भारतको बैंगलोरमा श्रीमती र छोरा बेच्ने भैरवी गाउँपालिका–४ का २१ वर्षीय टेकराज पुरीलाई साढे ३८ वर्ष कैद र तीन लाख जरिवाना फैसला गरेको छ ।

उनलाई जिल्ला अदालत दैलेखले आइतबार सो सजाय सुनाएको हो । विस २०७४ माघमा पुरीले श्रीमती र छोरालाई २ लाख २० हजार भारतीय रुयैयाँमा बेचेको भन्दै ०७५ वैशाख २४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको थियो । सोही आधारमा मानव बेचबिखन सम्बन्धी जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट उक्त फैसला सुनाएको हो । फैसलाअनुसार मानव बेचबिखन ओसार पसार नियन्त्रण ऐन २०६४ को दफा १५ (१) (क) बमोजिम २० वर्ष कैद र २ लाख जरिवाना, सोही ऐनको १५ (ङ) (१) बमोजिम १५ वर्ष कैद एक लाख जरिवाना, सोही ऐनको दफा १५ (४) बमोजिम ३ वर्ष ६ महिना कैद र २० हजार जरिवाना र सोही ऐनको दफा १७ (१) बमोजिम पीडितलाई १ लाख ६५ हजार क्षतिपूर्तिको फैसला भएको जिल्ला अदालत दैलेखका प्रवक्ता विनोद आचार्यले जानकारी दिए ।

प्रेमविवाह गरी भारत पु-याएर २०७४ माघमा उनले श्रमती र छोरालाई बेचेका थिए । माइती नेपालको पहलमा परेको जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयले भदौ ३ गते जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर भएको थियो । घटनाको प्राप्त सूचनाका आधारमा माइती नेपाल र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको पहलमा बैंगलोरबाट उद्धार गरी ल्याएको थियो । संस्थाले उनीहरुलाई आश्रयसँगै कानूनी उपचार प्रक्रियाअगाडि बढाएको थियो ।

Published on: 2 June 2019 | Nayapatrika

Back to list

;